ad ad

समाज


निषेधाज्ञा जारी गर्न अब चार जिल्ला मात्रै बाँकी

निषेधाज्ञा जारी गर्न अब चार जिल्ला मात्रै बाँकी

नेपालखबर
बैशाख २९, २०७८ बुधबार १५:४५,

मुलुकका अधिकांश जिल्लाले निषेधाज्ञा लागू गरी कोभिड–१९ संक्रमण नियन्त्रणको प्रयास जारी राखेका छन्। मुलुकमा अब जम्मा चार जिल्लाले मात्रै निषेधको आदेश जारी गर्न बाँकी छ।

हालसम्म ७३ जिल्लाले निषेधाज्ञा जारी गरी संक्रमणको साङ्लो चुँडाल्ने प्रयास गरिरहेका छन्। त्यसमध्ये सात जिल्लामा आंशिक आदेश लागू छ।

यद्यपि संक्रमणको गति भने कम हुनाको साटो बढ्दो छ। नेपालमा यही वैशाख ७ गतेदेखि आदेश जारी गरी नियन्त्रणको प्रयास भएको थियो। वैशाख १६ गतेदेखि भने आदेश जारी गर्ने क्रम तीव्र भएको थियो। एक महिनाका अवधिमा करीबकरीब मुलुक नै ठप्प हुन पुगेको छ।

स्वास्थ्यविज्ञले यसपालिको परिवर्तित रुप गत वर्षभन्दा बढी संक्रामक रहेकाले अझै केही हप्ता घरमै बसेर संक्रमणको जालो तोड्नुपर्ने सुझाव दिएका छन्। विवरणानुसार मनाङ, मुस्ताङ, तेह्रथुम र खोटाङले निषेधाज्ञा जारी गरेका छैनन्। यद्यपि संक्रमण फैलिन नदिन प्रयास भने जारी राखिएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

मनाङले भने वैशाख १३ गतेको निर्णयानुसार आवश्यक तयारीका साथ सम्पर्कमा रहेका व्यक्तिको परीक्षणलाई तीव्रता दिँदै आएकामा आजको निर्णयले अत्यावश्यक काम नपरी बाहिर ननिस्कन, जात्रा मेलालगायत भीडभाड हुने काम नगर्न र विवाहमा १५ भन्दा बढी सहभागी नहुन निर्देशन जारी गरेको छ।

मुस्ताङले जिल्ला प्रशासन कार्यालयबाट दिने अत्यावश्यकबाहेक सेवा रोकिसकेको छ। खोटाङले आदेश जारी नगरे पनि भीडभाड हुने गतिविधिमा रोक लगाइसकेको छ।

रुकुम (पूर्व)ले पनि आज रातिदेखि लागू हुने गरी आंशिक आदेश जारी गरिसकेको छ। उसले गाडीका हकमा जिल्लाभर नै सञ्चालनमा रोक लगाएको तथा अन्य विषयमा स्थान तोकेर आदेश जारी गरेको छ। कम संक्रमित रहेको तेह्रथुमले भने अहिलेसम्म कुनै सूचना जारी गरेको छैन।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल आवश्यकतानुसार निषेधको आदेश जारी गरी रोकथाममा लाग्न जिल्लालाई निर्देशन दिइसकेको र सोहीअनुसार आदेश जारी गरी कार्यान्वयन भइरहेको बताउँछन्।

मुलुकमा पछिल्ला केही दिनदेखि नौ हजारमाथि दैनिक संक्रमित फेला पर्दै आएका छन् तथा मृतक तीन अंक देखिँदै आएको छ । मुलुकमा अक्सिजन र सिलिण्डर तथा सघन उपचार कक्ष, भेन्टिलेटर र शय्यासमेत अभाव हुँदा बिरामीको मृत्यु हुन थालेको छ।

नेपालमा पछिले साताको विष्लेषण गर्दा संक्रमितको सङ्ख्या ५१ प्रतिशतले वृद्धि भइरहेको छ। कोरोनाबाट नेपालमा ४४ भन्दा बढी जिल्ला प्रभावित भएको जनाइएको छ। भारतभन्दा नेपालमा संक्रमण र मृत्यु दर निकै बढी रहेको मन्त्रालयका सरुवा रोग विशेषज्ञ डा अर्चना श्रेष्ठले जानकारी दिए।

नेपालमा प्रति १० लाख ३०४ र भारतमा २४० मात्रै संक्रमण दर रहेको छ। नेपालमा प्रति १० लाखमा ३.३ जनाको मृत्यु भइरहेको छ। यो भारतको भन्दा बढी हो। भारतमा २.५ जनाको मृत्यु भएको तथ्याङ्क छ। पोजिटिभिटी दर भारतभन्दा नेपालमा दोब्बर छ।

प्राप्त विवरणानुसार भारतमा २२.६ प्रतिशत पोजिटिभिटी दर रहेकामा नेपालमा ४५.१ प्रतिशत छ। नेपालमा आजदेखि सक्रिय संक्रमितको संख्या एक लाख नाघिसकेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .