ad ad

समाज


स्वास्थ्य मन्त्रालयको गुनासो: सरकारका अरु निकायले साथ नदिँदा महामारी नियन्त्रणबाहिर गयो

स्वास्थ्य मन्त्रालयको गुनासो: सरकारका अरु निकायले साथ नदिँदा महामारी नियन्त्रणबाहिर गयो

यज्ञराज जोशी
बैशाख २९, २०७८ बुधबार १४:५२,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारी नियन्त्रणमा सरकारका अन्य निकायले साथ नदिएको गुनासो गरेको छ।

महामारी नियन्त्रणमा सबै निकायको भूमिका देखिनुपर्नेमा त्यो अभाव भएको मन्त्रालयका अधिकारीहरुले बताएका छन्। सचिव लक्ष्मण अर्यालले मन्त्रालयको मुख्य जिम्मेवारी संक्रमण रोकथाम, सर्भिलेन्स र उपचारमा हुनुपर्ने र त्यसबाहेकका काम अन्य निकायले गर्नुपर्नेमा त्यसो हुन नसकेको बताए।

‘समयमा रोकथाम, नियन्त्रण गर्नमा जोड पुगेको भए यसरी संक्रमण फैलिने थिएन,’ उनले भने, ‘महामारी नियन्त्रण मल्टिसेक्टर इस्यु हो। प्रिभेन्सन, सर्भिलेन्स र ट्रिटमेन्ट स्वास्थ्य मन्त्रालयको मुख्य जिम्मेवारी भएपनि त्यसबाहेक पब्लिक रेस्ट्रिक्सन लगायत काम बाँकी निकायले हेर्नुपर्ने हो। यस कुराको अभाव देखिन्छ।’

अर्याल मन्त्रालयले कोभिडविरुद्धको प्रतिकार्यका लागि बनाएको इन्सिडेन्ट कमान्ड सिस्टमका संयोजक समेत हुन्। जसको निर्णयअनुसार मन्त्रालयले कोरोना नियन्त्रण सम्बन्धमा काम गर्दै आएको छ।

अर्यालले भारतमा देखिएको बढी संक्रामक यूके भेरियन्टको असर नेपालमा पनि बढी देखिनेतर्फ गत असोज–कात्तिकमै सीसीएमसी लगायत निकायलाई सचेत गराए पनि त्यसमा सबैको ध्यान नपुगेको बताए। त्यसबेला नै रोकथाममा सबैको भूमिका हुनुपर्ने नत्र दैनिक ११ हजारसम्म संक्रमित हुनसक्नेतर्फ आफूले सबैलाई सचेत गराएको उनले बताए।

निषेधाज्ञा तथा शैक्षिक संस्था बन्दको निर्णय पनि केहीअघि नै लिन आफूहरुले दिएको सुझावलाई सरकारले कार्यान्वयन गर्न ढिलाइ गरेको गुनासो मन्त्रालयको छ। आफूहरुको सुझावअनुसार निषेधाज्ञा र शैक्षिक संस्था बन्द भएको भए यसरी महामारी नफैलिने दाबी दाबी सचिव अर्यालको छ।

‘वैशाख ६ गते सरकारले के गर्ने नगर्ने भनेर मापदण्ड जारी गर्‍यो। त्यो १५ दिन ढिलोगरी जारी गरेको झैँ लाग्छ,’ उनले भने, ‘विद्यालय पनि १० दिन अघि बन्द गर्न पाएको भए संक्रमणलाई यो ढंगबाट फैलिनबाट रोक्न सक्थ्यौँ।’

विद्यालयमा संक्रमण बढ्दै गएपछि मन्त्रालयले सरकारलाई भौतिक रुपमा विद्यालय बन्द गर्दै भर्चुअल माध्यमबाट सञ्चालन गर्न सुझाव दिएको थियो। तर शिक्षा मन्त्रालयले निजी विद्यालयका दबाबमा स्वास्थ्यको निर्णयलाई बेवास्ता गर्‍यो।

पछि स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै अभिभावकलाई जोखिम अत्याधिक रहेकाले आफ्ना बालबालिकालाई विद्यालय नपठाउन भनेको थियो।

‘क्रिटि–केयरले धान्नेभन्दा ५० प्रतिशत बढी बिरामी अस्पताल आउँदा पुरै लकडाउन गर्नुपर्ने स्वास्थ्य मन्त्रालयको धारणा हो। हामीले हाम्रो सुझाव राखेकै हो,’ अर्यालले भने, ‘लकडाउन, निषेधाज्ञा देशको अर्थतन्त्र र सरकारसँग जोडिएका विषय हुन्। हामीले सुझाव दिएपनि निर्णय सरकारले गर्ने हो।’

अक्सिजनको व्यवस्थापन तथा उत्पादन क्षमता बढाउनेबारे उद्योग मन्त्रालयलाई कात्तिकमै जानकारी गराइसकेपनि त्यसमा कुनै प्रगति नभएको गुनासो स्वास्थ्य मन्त्रालयको छ।

‘अक्सिजनका लागि कात्तिक महिनामै उद्योग मन्त्रालयसँग बसेका थियौं। अहिलेको उत्पादनलाई दोब्बर पार्नुपर्ने, सिलिन्डर संख्या बढाउनुपर्ने धारणा राखेका थियौँ,’ अर्यालले भने ‘तर हामीले भनेको जस्तो काम भएन र अहिले अक्सिजनको उत्पादनमा समस्या देखिएको छ।’

अक्सिजन अभाव पूर्तिका लागि दुई सय बेड क्षमतामाथिका अस्पतालले लिक्विड अक्सिजन प्लान्ट निर्माण गर्न चाहे तत्काल मन्त्रालयले बजेट उपलब्ध गराउने उनले बताए।

त्यसबाहेक अक्सिजनको माग पुरा गर्न चीन सरकारलाई २० हजार सिलिन्डर अक्सिजन अनुरोध गरेकोमध्ये पहिले खेपमा चार सय सिलिन्डर प्राप्त भएको छ। त्यसबाहेक २ हजार सिलिन्डर अक्सिजन एयरलिफ्ट गरेर ल्याउने तयारी रहेको अर्यालको भनाइ छ।

यस्तै सीमा नाकाहरुमा सेमी–अस्पतालसहितका होल्डिङ सेन्टर निर्माणका लागि वैशाख पहिलो साता नै निर्णय भएपनि त्यो हालसम्म नबनेकोमा स्वास्थ्य मन्त्रालयले गुनासो पोखेको छ। सीसीएमसीले नेपाली सेनालाई सबै प्रदेशमा कम्तीमा एक हजार बेड क्षमताका होल्डिङ सेन्टर निर्माणको जिम्मेवारी दिएको थियो।

‘वैशाख ६ गते नै सबै प्रदेशमा एक हजार सेमी–अस्पताल सुविधा भएको होल्डिङ सेन्टर चाहिन्छ भनेका थियौँ,’ स्वास्थ्य सचिव अर्यालले भने, ‘जुन निर्माणको जिम्मा सेनाले पाएको छ। तर, अहिलेसम्म पनि त्यो बनेको छैन। त्यो चाँडै निर्माण भयो उपचार व्यवस्थापनमा सहयोग गर्छ।’

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले पनि सरकारका सबै निकायको समन्वयको अभावमा प्रभावकारी ढंगबाट काम हुन नसकेको स्वीकारेका छन्। उनले अहिलेको कदम महामारी नियन्त्रणमा पर्याप्त नभएकाले सरकारले सामूहिक रुपमा नयाँ कदम उठाउनुपर्नेमा जोड दिए।

‘सकेसम्म लकडाउनसम्म जान नपाओस् भनेर केही निर्णय भएका थिए तर दुर्भाग्यवश प्रभावकारी कार्यान्वयन हुन सकेन,’ मन्त्री त्रिपाठीले भने, ‘अहिलेको कदम पर्याप्त छैन। जुन गतिले महामारीले स्वरुप ग्रहण गर्दैछ, त्यसका लागि नयाँ कदम उठाउनुपर्छ।’

जनस्वास्थ्यविद् प्रा.डा. शरद वन्तले महामारी नियन्त्रणको जिम्मा स्वास्थ्य मन्त्रालयको मात्रै नभएको बताए। उनले महामारी नियन्त्रण सामूहिक प्रयासबाट मात्रै सम्भव हुने भएकाले सबै निकायबीच प्रभावकारी ढंगबाट तालमेल हुनुपर्नेमा जोड दिए।

‘संक्रमित व्यवस्थापन गर्नमा स्वास्थ्य मन्त्रालयको भूमिका होला तर विस्तार रोक्नमा अरुको पनि भूमिका हुन्छ,’ वन्तले भने, ‘कोभिडले सिर्जना गरेका सामाजिक, आर्थिक, मनोवैज्ञानिक समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालयबाहेक अरु मन्त्रालयको बढी भूमिका हुन्छ। सबैबीच एकदमै प्रभावशाली तालमेल आवश्यक छ।’

उनले निकायहरुबीच समन्वय, सूचना आदानप्रदान, चुस्त निर्णय र त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न नसके स्थिति नियन्त्रणबाहिर जाने देखिएको बताए।

‘संक्रमणको विस्तार रोक्ने, संक्रमितको व्यवस्थापन गर्ने र कोभिडले सिर्जना गरेको अन्य समस्यालाई समाधानमा अबको मुख्य ध्यान दिनुपर्छ,’ उनले भने, ‘त्यसका लागि स्वास्थ्य मन्त्रालयले गरेर मात्रै पुग्दैन त्यबाहेकका अन्य निकायपनि महामारी नियन्त्रणमा सँगसँगै हुनुपर्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .