पर्सामा हुण्डीमा संलग्न रहेको अभियोगमा ८२ लाख ५० हजार रुपैयाँसहित ४ जना पक्राउ परेका छन्।
बुधबार दिउँसो पर्सा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका ३ आदर्शनगर पानीटंकीमा डेरा गरी बस्ने भारत विहार मोतिहारी रक्सौल १८ का २७ वर्षीय विकास कुमार, भारत विहार मोतिहारी रक्सौल ९ का २२ वर्षीय गुड्डु कुमार, भारत विहार मोतिहारीका १८ वर्षीय किशोर र बारा महागढी नगरपालिका ४ का १८ वर्षीय किशोर रहेका छन्।
विकास कुमारसमेतका व्यक्तिहरूले हुण्डी गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले बारा घर भएका १८ वर्षीय किशोरलाई आदर्शनगर चोकबाट २५ लाख रुपैयाँ सहित फेला पारी पक्राउ गरेको थियो।
अनुसन्धान गर्नेक्रममा विकासको डेरा तलासी गर्दा दुई वटा कालो ब्याग र दुई वटा हेल्मेटभित्र लुकाइ राखेको ५७ लाख ५० हजार रुपैयाँ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूबाट ना ८ प ४८९७ नम्बरको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ।
उनीहरूलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रतिक्रिया