ad ad

समाज


कोरोना संक्रमितलाई बेडः तथ्यांकमा पर्याप्त छ, अस्पतालमा एउटै छैन

कोरोना संक्रमितलाई बेडः तथ्यांकमा पर्याप्त छ, अस्पतालमा एउटै छैन

यज्ञराज जोशी
बैशाख २३, २०७८ बिहिबार १३:३६,

सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका अनुसार प्रदेशमा अस्पतालसहित कोभिड आइसोलेसन बेडको संख्या ३ हजार ६४० छ। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार भने यो प्रदेशमा अस्पतालसहित बुधबारसम्म १ हजार ६६० जना मात्रै संस्थागत आइसोलेसनमा छन्।

अर्थात्, प्रदेशमा कोभिडका लागि छुट्टाइएकामध्ये १ हजार ९८० बेड खाली छन्।

यस्तै मन्त्रालयका अनुसार प्रदेशमा रहेका ४५३ कोभिड आईसीयू बेडमध्ये ३८३ बेडमा मात्रै बिरामी छन्। २८० भेन्टिलेटरमध्ये १२८ मा बिरामी छन्। अर्थात् तथ्यांकमा बुधबारसम्म ७० आईसीयू र १५२ भेन्टिलेटर बेड खाली छन्।

तर, अस्पतालमा एउटै बेड खाली छैन। बिरामीहरु बेड नपाएर फर्किरहेका छन्।

टेकु अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले बेड नभएर थुप्रै बिरामीहरु फर्काउनुपरेको बताए।

‘तथ्यांकमा के छ, थाहा छैन। हाम्रोमा एक जना पनि नयाँ बिरामी भर्ना गर्ने स्थिति छैन,’ उनले भने, ‘आईसीयू र भेन्टिलेटर सबै प्याक भएर सिरियस बिरामीलाई पनि फर्काउनुपरेको छ।’

लुम्बिनी प्रदेशको अवस्था पनि बागमतीजस्तै छ। लुम्बिनी प्रादेशिक अस्पतालमा बेड नपुगेर इमर्जेन्सीको भुइँमै राखेर बिरामीहरुको उपचार भइरहेको छ।

अस्पतालका आकस्मिक सेवाका निमित्त प्रमुख इन्द्रबहादु राईले भुइँमै गुन्द्री ओछ्याएर बिरामीको उपचार गर्नुपरेको बताए। आईसीयूमा राख्नुपर्ने बिरामीहरुलाई पनि भुइँमै अक्सिजन दिएर उपचार गर्नुपरेको पीडा उनले सुनाए।

‘गम्भीर प्रकृतिका बिरामीलाई पनि भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘बेड पाउन निकै सकस परिसक्यो। तत्काल थप व्यवस्थापन नगर्ने हो भने मानिसहरुले उपचारै नपाएर ज्यान जाने अवस्था आइसक्यो।’

तर, तथ्यांकमा भने अस्पतालमा प्रशस्त बेड खाली भएको देखिन्छ। सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार बुधबारसम्म लुम्बिनी अस्पतालमा ७९० सामान्य बेड छन्। जसमा ७ जनामात्रै उपचाररत छन्।

यस्तै अस्पतालमा भएका १२५ आईसीयू–एचडीयूमध्ये ६१ र ५२ भेन्टिलेटर खाली छन्।

No description available.सामाजिक विकास मन्त्रालय लुम्बिनीको बुधबारसम्म अस्पतालहरुको तथ्याङ्क

स्वास्थ्य निर्देशनालय बुटवलका प्रवक्ता रोशनलाल चौधरीले अस्पतालका सम्पूर्ण बेड संख्या तथ्यांकमा समावेश गरिएकाले धेरै बेडहरु खाली देखिएको बताए।

‘७९० सम्पूर्ण अस्पतालको बेड संख्या हो। त्यसमा कोभिडका लागि कति बेड छन् भन्ने छुट्टाइएको छैन,’ चौधरीले भने, ‘तथ्यांक अध्यावधिक गर्न बाँकी भएपनि अहिले यहाँका अस्पतालहरुमा बिरामीलाई बेड पाउन समस्या देखिएको छ।’

उनले तथ्यांकमा प्रदेशमा रहेका मेडिकल कलेजहरुको बेड संख्या पनि जोडिएको तर मेडिकल कलेजहरुसँग सम्झौता नभइसकेकाले ती कोभिडका लागि प्रयोग नभएको बताए।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले देशभर कोभिड बिरामीका लागि अस्पतालहरुमा २० हजार आइसोलेसन बेड छन्। बुधबारसम्मको तथ्यांकअनुसार ती बेडमध्ये ४ हजार ७६४ जना संक्रमित उपचाररत् छन। जसअनुसार झण्डै १५ हजार बेड खाली हुनुपर्ने हो।

यस्तै १ हजार ४२३ आईसीयू बेडमा ६ सय र ५८३ भेन्टिलेटर बेडमा १५६ जनामात्रै संक्रमित उपचाररत छन्। जसअनुसार ८ सय आईसीयू बेड र चार सय भेन्टिलेटर खाली हुनुपर्ने हो।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्ण पौडेल संक्रमितहरुको संख्या बढेसँगै बेड नपाइने समस्या देखिन थालेको स्वीकार्छन्। उनले अस्पतालहरुले सही तथ्यांक अद्यावधिक नगरिदिँदा खाली र भरिएका बेडबाट यथार्थ आउन नसकेको बताए।

‘अस्पतालहरुले उपलब्ध गराएको तथ्यांकका आधारमा मन्त्रालयले दैनिक अपडेट गर्ने गर्छ। तथ्यांकमा देखिने तर यथार्थमा नहुने समस्या देखिएको छ,’ डा. पौडेलले भने, ‘रिपोर्ट गर्दा जे हो, त्यो गरिदिए हुन्थ्यो। प्रत्येक अस्पताललाई फोन गर्नु पनि व्यवहारिक छैन।’

अस्पतालहरुले आफूसँग भएको जम्मा बेड संख्या इन्ट्री गरिदिएको तर ती संख्या कोभिडका बिरामीका लागि प्रयोग नभएको पनि हुनसक्ने उनले बताए। डा. पौडेलले जनताले रियल टाइममा खाली बेड हेर्न गरी सफ्टवेयर निर्माणमा लागि सुझाव दिएको बताए। त्यस्तो सफ्टवेयर भए धेरै हदसम्म यो समस्या समाधान हुनसक्ने उनी बताउँछन्।

मन्त्रालयले बेड चाहिएकाहरुलाई ११३३ तथा मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको उनले बताए।

‘मन्त्रालयको तथ्यांकले यथार्थ बोल्दैन’
संसदको शिक्षा तथा स्वास्थ्य समितिको कोभिड–१९ को सम्बन्धमा सरकारले गरेका कामकारबाहीको अनुगमन गर्न गठित उपसमितिका संयोजक सांसद जीवनराम श्रेष्ठले मन्त्रालयले देखाएको तथ्यांकले यथार्थ नबोल्ने बताए।

‘यथार्थ मन्त्रालयको तथ्यांकभन्दा ठिक विपरीत छ,’ उनले भने, ‘कयौँ बिरामीले बेड नपाएको अवस्था छ। मन्त्रालय कागजमा दौडिरहेको छ तर व्यवहारमा कति मेरै आफन्तले बेड नपाएर छटपटिनुपरेको अवस्था छ।’

सांसद श्रेष्ठले केही समयअघि उपत्यकाका ठूला अस्पतालका निर्देशकहरुसँग कुरा गर्दा बेड, स्वास्थ्य सामाग्रीको अभावबारे त्यसबेलै मन्त्रालयको ध्यानाकर्षण गराएपनि कुनै प्रगति नभएको बताए।

‘सरकारले कागजमा यो गर्‍यौँ र त्यो गर्‍यौँ भनेको छ, तर काम अलिकति पनि गरेको छैन,’ उनले भने।

जनस्वास्थ्यविद् प्रा.डा. शरद वन्तले चुस्त व्यवस्थापन नभए महामारीका नियन्त्रण नहुने बताए।

‘तथ्यांकमा अहिले पनि थुप्रै बेड, आईसीयू खाली देखिन्छ। तर व्यवस्थापनको कमजोरीले गर्दा यथार्थमा बिरामीलाई बेड अभाव भइसक्यो,’ उनले भने, ‘धेरै अस्पतालमा थप बिरामी लिनसक्ने अवस्था छैन। यो हेर्दा स्रोत साधनको व्यवस्थापन, परिचालनमा समस्या देखिन्छ। व्यवस्थापनमा चुक्यौँ भने जति स्रोत र साधन थपे पनि स्थिति अझै गम्भीर बन्दै जान्छ।’

 यो पनि: जो असहायका लागि अक्सिजनदेखि आईसीयूसम्म जोहो गर्दैछन्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .