ad ad

समाज


रहस्यमय दाङ घटना : लक गरेको गाडीभित्र कसरी फसे तीन बालक?

रहस्यमय दाङ घटना : लक गरेको गाडीभित्र कसरी फसे तीन बालक?

नेपालखबर
बैशाख १९, २०७८ आइतबार १७:२३,

दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजार सडक छेउमा रोकेको गाडीमा शनिबार साँझ तीन वटा शव भेटिए।

गाडी लक थियो। गाडीभित्र भेटिएका मृतक बालकका शरीरमा चोटपटक थिएन।

यो घटना रहस्यमय रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिवबहादुर सिंहले बताए।

आरजे ०१ सिसि ०८८५ नम्बरको भारतीय कारभित्र सडे–गलेको अवस्थामा ३ जना बालक मृत फेला परेका हुन्।

मृत फेला पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका ६ बरुवागाउँ बस्ने भीम बहादुर परियारका छोरा ९ वर्षीय सन्देश परियार, कर्ण परियारका छोरा ८ वर्षीय करण परियार र सन्तोष परियारका छोरा ७ वर्षीय सुबर्ण परियार छन्।

तीनै जना बालक वैशाख १६ गतेदेखि हराइरहेका थिए। शवको अवस्था हेर्दा सोही दिन उनहरुको मृत्यु वा हत्या भएको प्रहरीको अनुमान छ।

बालक हराएको निवेदन इलाका प्रहरी कार्यालयमा परे पनि प्रहरीले फेला पार्न सकेको थिएन।

उनीहरुको शव अझै पोष्टमार्टम हुनसकेको छैन। पोष्टमार्टमका लागि फरेन्सिक एक्सपर्ट आवश्यक पर्ने भएकाले बुटवलबाट मगाइएको डीएसपी सिंहले नेपालखबरलाई बताए।

घटनाको अनुसन्धानका लागि प्रहरीले गाडी मालिक र चालकलाई पक्राउ गरेर अनुसन्धानका लागि म्याद थप गरी थप छानविन सुरु गरेको छ।

पक्राउ पर्नेमा गाडी मालिक यादवप्रसाद गैरे चालक पदमबहादुर बस्नेत रहेका छन्। उनीहरु पनि सोही गाउँका हुन्।

गत माघ १ गते नै गाडी नेपाल ल्याए पनि पास गर्न बाँकी रहेको गैरेले बताएका छन्। सोही कारण त्यहीँ थन्किएको र तीन महिनादेखि नखोलेको उनीहरुले सोधपुछका क्रममा बताएका छन्।

खेल्ने क्रममा गाडीको ढोका खुलेको र भित्रबाट लक गरेर बालकहरु थुनिएको र निस्सासिएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। डीएसपी सिंह भन्छन्, ‘अहिलेसम्मको अवस्था हेर्दा दोहोरो अर्थ लगाउन सकिन्छ, पोष्टमार्टम रिपोर्टपछि थप भन्न सकिएला।’

शनिबार साँझ स्थानीय अरुण बुढामगरले उक्त गाडीमा बालकहरुको शव रहेको थाहा पाएका थिए। त्यसपछ िउनले प्रहरीलाई खबर गरे। इलाका प्रहरी चौकीबाट प्रहरी पुग्यो र शव रहेको पुष्टि भयो।

प्रहरीले तत्कालै गाडी चालकलाई नियन्त्रणमा लियो। सरकारी वकिल, स्वास्थ्यकर्मी र प्रहरीले गाडीबाट ती शव निकाले।

अहिले मुख्य गरी प्रहरीको अनुसन्धान दुई विषयमा केन्द्रित छ। पहिलो अनुमान गाडी खुल्लै थियो र बालकहरु भित्र पसेर गाडी लक गरे। त्यसपछि खोल्न नजानेर निस्सासिएर ज्यान गुमाए कि। वा, कसैले हत्या गरेर गाडीभित्र शव राख्यो। यदि हत्या गरिएको हो भने गाडी साहु र चालकको के कस्तो संलग्नता छ भन्ने विषयमा अनुसन्धान भइरहेको छ।

अनुसन्धानमा अहिले जिल्ला प्रहरी कार्यालय दाङ, प्रदेश प्रहरी र इलाका प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ। आवश्यक परे थप विज्ञ बोलाउने तयारी दाङ प्रहरीको छ।

यो पनिः

दाङमा कारभित्र भेटिएका ३ शव स्थानीय एकै टोलका बालकका

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .