समाज


बाँकेमा संक्रमण भयावह, पोजिटिभिटी दर ७५ प्रतिशत

बाँकेमा संक्रमण भयावह, पोजिटिभिटी दर ७५ प्रतिशत

यज्ञराज जोशी
बैशाख १३, २०७८ सोमबार ११:५०,

बाँके जिल्लामा कोरोना संक्रमणले भयावह रुप लिएको छ। संक्रमितको ठूलो हिस्सा सिकिस्त हुँदा अस्पतालका बेड भरिभराउ भएका छन्।

जिल्लामा हाल २ हजार ४०८ सक्रिय संक्रमित छन्। शनिबारमात्रै ४५४ जनाको परीक्षण हुँदा ३४३ जनामा संक्रमण पुष्टि भएको थियो।

भेरी अस्पताल नेपालगञ्जमा रहेका २०३ संक्रमितमध्ये ६८ जना सिकिस्त रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको तथ्यांकमा उल्लेख छ।

यस्तै कोहलपुर मेडिकल कलेजमा रहेका ५७ जना संक्रमितमध्ये २६ जना सिकिस्त छन्। कोहलपुर नगरपालिका कोभिड अस्पतालमा १२, ह्वाइट हाउस होटल मनिकापुरमा ३९ र होम आइसोलेसनमा २ हजार २७८ जना छन्।

शनिबार बाँकेमा ८ जना संक्रमितको निधन भएको थियो। यससहित जिल्लामा कोरोनाबाट १९० जनाको ज्यान गइसकेको छ। जसमध्ये ८६ जना बाँकेकै हुन् भने जिल्लाबाहिरका १०४ जनाले ज्यान गुमाएका छन्।

दोस्रो लहरअघि भेरी अस्पतालले कोभिडका बिरामीका लागि २ सय बेड छुट्टाएको थियो। जसमा १३० सामान्य, ६० आईसीयू र १० भेन्टिलेटर बेड थिए। संक्रमण बढेपछि अस्पतालमा सबै बेड भरिसकेका छन्।

‘संक्रमित ह्वात्तै बढेकाले अस्पतालमा भएका सबै बेड भरिसकेका छन्। बिरामीको बिजोग छ,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. प्रकाश थापाले भने, ‘कोभिड वार्ड भरिएपछि अन्य वार्डमा पनि कोरोना संक्रमितलाई भर्ना गर्नुपरेको छ। स्वास्थ्य जनशक्तिले पनि नधान्ने अवस्था पुगेको छ।’

जनशक्ति–अक्सिजन अभाव
अघिल्लो लकडाउनमा बाँकेको मुख्य आइसोलेसन केन्द्र थियो– सुशील कोइराला प्रखर क्यान्सर अस्पताल। तर, अहिले ९० प्रतिशत डाक्टर, नर्स र कर्मचारीमा संक्रमण देखिएपछि आइतबारदेखि नै बन्द भएको छ। अस्पतालले सूचना निकालेर आइतबारदेखि वैशाख १८ गतेसम्म इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गर्ने जानकारी दिएको छ।

स्वास्थ्य जनशक्ति अभाव भएपछि भेरी अस्पतालले करारमा १० जना मेडिकल अधिकृतसहित ८० जना स्वास्थ्य कर्मचारीहरु राख्ने निर्णय गरि सुचना जारी गरिसकेको छ।

जटिल प्रकृतिका बिरामीहरु बढ्दै जाँदा अस्पतालमा अक्सिजनको समेत अभाव देखिन थालेको छ। पहिले दैनिक औसत १० देखि १५ वटा ठूला अक्सिजन सिलिन्डर चाहिने भएपनि अहिले २ सयभन्दा बढी सिलिन्डर अक्सिजन खपत भइरहेको मेडिकल सुपरिटेन्डेन्ट डा. थापाले बताए।

‘हामीसँग अक्सिजन प्लान्ट नभएकोले अरुको भर पर्नु परेको छ। समयमै अक्सिजन नपाएर सिकिस्त बिरामीहरुको मृत्यु हुने खतरा बढ्दो छ,’ थापाले भने, ‘अस्पतालसँग २०–३० सिलिन्डर स्टक राख्ने क्षमता छ। त्यो खाली भएर फेरि भर्न झन्झटिलो र समय लाग्ने हुनाले अक्सिजन आपूर्तिमा असहज भएको छ। सप्लायर्सले पनि चाहिनेजति अक्सिजन दिन नसक्ने अवस्था सिर्जना हुन थालेको छ।’

बाँकेमा प्रमुख जिल्ला अधिकारी शिवराज गेलालले पनि संक्रमणले जिल्लालाई आक्रान्त पारेको बताए।

‘कोभिडले बाँके जिल्लालाई आक्रान्त बनाउँदै लगेको छ। संक्रमित संख्या बढ्दै गएको छ,’ गेलालले भने, ‘स्वास्थ्य संस्थाले उपचार गर्दागर्दै पनि मृत्युवरण गर्नुपर्ने अवस्था देखिएको छ।’

पोजिटिभिटी दर ७५ प्रतिशत
भेरी अस्पतालमा गरिएको कोरोना परीक्षणमा पोजिटिभिटी दर ७५ प्रतिशत देखिएको छ। वैशाख १ देखि वैशाख ११ सम्म उपलब्ध तथ्यांकका आधारमा ब्रिस्टोल युनिभर्सिटीका अनुसन्धानकर्ता ऋषिराम पराजुलीले विश्लेषण गरेका थिए।

वैशाख ४, वैशाख ६, वैशाख ७ र वैशाख १० गते परीक्षण गराएकामध्ये ९० प्रतिशतभन्दा बढीमा संक्रमण देखिएको छ। यस्तै वैशाख १ गते ६१, वैशाख २ गते ६९, वैशाख ३ गते ५६, वैशाख ५ गते ५८ र वैशाख ११ गते परीक्षण गरिएकामध्ये ७१ प्रतिशतलाई संक्रमण देखिएको छ।

यसले समुदायमा धेरै संक्रमण फैलिसकेको देखाउने पराजुली बताउँछन्।

उनी लेख्छन्, ‘पहिलो लकडाउन अवधि सकिँदासम्म ३ लाखभन्दा धेरैको टेस्ट हुँदा नेपालमा पोजिटिभिटी रेट ५.५% को हाराहारी मात्रै थियो। बाँकेमा अहिले औसतमा पोजेटीभिटी रेट ७५% छ। अहिले लक्षण देखिइसकेपछि मात्रै टेस्ट गराउनेको संख्या धेरै छ। त्यसैले समाजमा धेरैमा संक्रमण फैलिइसकेको हुन्छ।’

भेरी अस्पतालमा परीक्षण गरेकामध्ये बाँकेसहित विभिन्न २८ जिल्ला र नेपालगन्जसहित एक सय पालिकाका मानिसहरुमा संक्रमण देखिएको छ।

विभिन्न स्थानका मानिसहरुको सही कन्ट्याक्ट ट्रेसिङ र स्वअनुशासन नभएमा ती मानिसहरुले अन्य धेरै स्थानमा पुगेर संक्रमण फैलाउने सम्भावना रहेको पराजुलीले बताएका छन्।

‘समग्रमा देशभरिको तथा भेरी अस्पतालको यो पछिल्लो तथ्यांकले समुदायमा संक्रमण तीव्र रुपमा फैलिन लागेको, पहिलेको भन्दा यसपटक धेरैमानिसलाई अस्पताल जानुपर्ने हुनसक्ने तथा मृतकसंख्या समेत बढ्न सक्ने देखिन्छ। यसर्थ, सही योजनासहितको व्यवस्थापन र संक्रमण रोक्न सबै जिम्मेवार बन्नुपर्ने देखिन्छ,’ पराजुली थप्छन्।

जिल्लामा निषेधाज्ञा
यसबीच सोमबारदेखि एकहप्ताका लागि बाँकेमा निषेधाज्ञा लगाइएको छ। प्रमुख जिल्ला अधिकारी गेलालले संक्रमणको चेन ब्रेक गर्न निषेधाज्ञा गर्नुपर्ने बाध्यता रहेको बताए।

उनले निषेधाज्ञाका समयमा सुरक्षा निकायको गस्ती हुने र अनावश्यक घरबाट निस्कने, जनस्वास्थ्यका मापदण्ड उल्लंघन गर्नेलाई जरिवाना गरिने जनाए।

प्रमुख जिल्ला अधिकारी गेलालले अस्पतालमा बेड थप्ने र आइसोलेसन कक्ष निर्माण गर्ने निर्णय भइसकेको जनाए।

‘बिरामीको चाप बढ्दै गएकाले कोहलपुर मेडिकल कलेज र भेरी अस्पतालमा २–२ सय बेड थप्ने निर्णय भएको छ। त्यही अनुसारको व्यवस्थापन हुँदैछ,’ उनले भने, ‘नेपालगञ्ज उपमहानगरपालिकाले सय बेड र खजुरामा ५० बेडको आइसोलेसन निर्माण गरी सञ्चालनमा ल्याउने तयारीमा भएको छ। ती आइसोलेसनहरुमा अक्सिजनको व्यवस्थापन पनि गर्ने तयारी गरेका छौँ।’

उनले जमुनाह नाकाबाट भित्रिनेहरुलाई व्यवस्थित गर्ने प्रयास गर्दागर्दै पनि संक्रमण बढिरहेको बताए। नाकाबाट आउनेलाई होल्डिङ सेन्टरमा राख्ने, उनीहरुको ज्वरो नाप्ने, ज्वरो देखिएकाको एन्टिजेन परीक्षण गरी पोजिटिभ देखिएकालाई आइसोलेसनमा पठाउने गरिएको गेलालले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .