ad ad

समाज


नारायणगढ-मुग्लिन सडक : ४ पुल बने, १५ वटा धमाधम बन्दै

नारायणगढ-मुग्लिन सडक : ४ पुल बने, १५ वटा धमाधम बन्दै

नेपालखबर
बैशाख ८, २०७८ बुधबार ०:१५,

राजधानी काठमाडौँलाई तराईसँग जोड्ने प्रमुख मार्ग नारायणगढ–मुग्लिन सडकखण्डमा केही पुलको निर्माण पूरा भएको छ भने केही धमाधम निर्माण भइरहेका छन्।

सडक विस्तारको काम सम्पन्न भएपछि नारायणगढ–मुग्लिन सडकखण्डका साँघुरा र जीर्ण अवस्थामा रहेका सबै पुल नयाँ बनाउन थालिएको हो।

नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख अमृतमणि रिमालका अनुसार चार वटा पुलको निर्माण कार्य पूरा भएको छ भने १५ वटा पुल निर्माणको चरणमा छन्। निर्माणको क्रममा रहेका १५ मध्ये आठ वटा पुलको फाउण्डेशनको काम सकिएको रिमालले जानकारी दिए। तीन वटाको माथिल्लो काम भइरहेको छ । बाँकी सात वटा पुलको नक्शाङ्कन र प्रमाणितको काम हुँदैछ।

हाल सञ्चालनमा रहेका पुराना पुललाई छलेर त्यसको आसपासमा नयाँ पुल निर्माण अघि बढाइएको हो । अबको दुई वर्षमा १५ वटै पुल निर्माण सकिने रिमालले बताए।

केही दिनअघि मात्रै जलवीरेमा पुल निर्माण पूरा भएको हो। उक्त पुल बनेपछि सडकसमेत २६५ मिटर छोटो भएको छ । गत वर्ष कोरोना सङ्क्रमणबाट काम प्रभावित बनेको पुलको काम हालै मात्रै सकिएको हो। रिमालका अनुसार एक÷दुई दिन भित्रै पुल सञ्चालन गर्ने तयारी गरिएको छ।

पुल निर्माणको म्याद गत वर्ष असारमा नै सकिएपछि थप गरिएको थियो । रौताहा कन्स्ट्रक्सनले ८० मिटर लामो पुल १३ करोड ९४ लाखको लागतमा बनाएको हो । यो पुलसँगै दासढुङ्गा, खानी र मौरीमा पनि पुल निर्माण गरिएका छन्। ती पुल दुई वर्षअघि नै सम्पन्न भएर सञ्चालनमा आएका छन् । जलवीरे पुल निर्माण पूरा हुन तीन वर्ष ६ महिना लागेको हो।

हाल निर्माण भइरहेका १५ वटा पुलको नक्शाङ्कन र निर्माण दुवै गर्ने गरी अनक कन्स्ट्रक्सनले ठेक्का पाएको छ। एक अर्ब २८ करोड लागतमा ३३ महिनामा सम्पन्न गर्ने गरी अनकलाई ठेक्का दिइएको हो।

ती पुलमध्ये तीन वटा नौ मिटर फराकिला छन् भने बाँकी ११ मिटर फराकिला छन्। आयोजनाका सूचना अधिकारी सविना रानाभाटका अनुसार साँघुरा पुलमा पनि सवारी गुड्ने भाग भने ७.५ मिटर नै हुनेछन् । तर फुटपाथ भने साँघुरो हुने उनले जानकारी दिए।

ती पुल नेपाल सरकारले आफ्नै लगानीमा सम्पन्न गरेपछि विश्व बैंकले ऋण प्रवाह गर्ने गरी काम अघि बढाइएको हो । सडक विस्तार गरी कम्तीमा नौ मिटर बनाईएको भए पनि पुल छ मिटर फरकिला भएपछि सबै पुल नयाँ बनाउन लागिएको हो।

यो सडकमा दैनिक १० हजार भन्दा बढी सवारीसाधन गुड्ने गरेका छन्। सडक विस्तार गरिसक्दा सवारीसाधन गतिमा चल्न सक्ने र जामको समस्या नहुने अपेक्षा गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .