ad ad

समाज


फेरि उघ्रिँदैछ राजदरबार सिनेमा घरको पर्दा (भिडिओ)

फेरि उघ्रिँदैछ राजदरबार सिनेमा घरको पर्दा (भिडिओ)

यज्ञराज जोशी
चैत १, २०७७ आइतबार १२:१३,

ल्होत्से द्वारबाट नारायणहिटी दरबार संग्रहालयभित्र प्रवेश गर्ने बित्तिकै देखिन्छ– प्युठान कक्ष। २०२३ सालमा राजा महेन्द्रले राजपरिवारको मनोरञ्जनका लागि यो कक्षलाई सिनेमा हलमा रुपान्तरण गर्ने निर्णय गरेका थिए।

संग्रहालयका कार्यकारी निर्देशक तथा पुरातत्वविद् भेषनारायण दाहालका अनुसार २०२६ सालमा सिनेमा हल तयार भयो। त्यसपछि यहाँ राजपरिवारका सदस्यहरुले सिनेमा हेर्न थाले।

ल्होत्से प्रवेशद्वारबाट भित्र छिर्दा दायाँतर्फ एउटा सानो कोठा छ। आइतबार मध्यान्ह नेपालखबरकर्मी पुग्दा चलचित्र प्राविधिक भरत नेपाल दुईवटा चक्राकार मेसिनमा फिल्म प्रोसेसिङ गरिरहेका थिए।

narayanhiti-cinema_46_1.jpg
चलचित्र प्राविधिक भरत नेपाल

‘हामी पुनः हल सञ्चालनको प्रयास गरिरहेको छौँ। पहिले थाहा पाएको भए यो भन्दा राम्रो हुन्थ्यो होला,’ नेपालले भने, ‘निगेटिभलाई सफा गर्नुपर्ने छ। त्यसलाई प्रोसिसिङ गर्ने र डेभलप गरेर सिनेमा देखाउन लायक बनाउनुपर्ने काममा म खटिएको छु।’

२०५८ सालपछि यो सिनेमा हल बन्द थियो। नारायणहिटी दरबार संग्रहालय विकास समितिले यसलाई सञ्चालन गर्ने तयारी गरिरहेको छ।

नेपाल २०३६ सालदेखि चलचित्र प्राविधिकका रुपमा काम गर्दै आएका छन्। त्यसैले उनलाई यो सिनेमा हलको नालिबेली थाहा छ।

narayanhiti-cinema_396.jpg

सो कोठाको र्‍याकमा सयभन्दा बढी फिल्मका बाक्साहरु छन्। हरेक फिल्ममा राजपरिवारसँग सम्बन्धित श्रव्यदृश्य कैद छन्।

राजपरिवारका स्वदेश तथा विदेश भ्रमण, जन्मोत्सव, विवाहलगायत धार्मिक, सांस्कृतिक कार्यक्रम, विदेशी पाहुनाहरु आउँदाका क्षण, राजा तथा परिवारका सदस्य सहभागी भएका कार्यक्रमहरु ती फिल्ममा समेटिएका छन्।

सोही कोठामा दुई वटा प्रोजेक्टर छन्। नेपालका अनुसार यी प्रोजेक्टर जापानबाट ल्याइएको हो। त्यसबेला काठमाडौंमा विश्वज्योति, रञ्जना, नवदुर्गा, अशोक, जय नेपाल हल थिए। आधा दशक विश्वज्योति हलमा काम गरेका उनी दरबारको सिनेमा हलजस्तो प्रविधि त्यसबेला अन्य कुनै हलमा नभएको सुनाउँछन्।

narayanhiti-cinema_14.jpg

‘यी जापानबाट ल्याइएका प्रोजेक्टर हुन्। हत्तपत्त बिग्रिँदैन। अरु हलमा यस्तो राम्रो चिज हुँदैनथ्यो,’ उनले भने, ‘यसको एउटामा रिल सकियो भने अर्कोबाट अटोमेटिक सुरु हुन्छ।’

२०३६ सालमा उनी विश्वज्योति हलमा प्राविधिकको काम गर्थे। त्यसबेला राजपरिवारको आग्रहमा ‘सम्पूर्ण रामायण’ नामक फिल्मको क्यासेट दरबार पुर्‍याएको उनलाई सम्झना छ। त्यो फिल्म दरबारकै हलमा चलेको थियो।

बुद्धि गुरुङ २०४४ सालदेखि दरबारभित्र काम गर्छन्। थुप्रैपटक उनले राजपरिवारका सदस्यसँग बसेर फिल्म हेरेका थिए। संग्रहालयका शाखा अधिकृत गुरुङ हल पुनः सञ्चालनमा खटिनेमध्येका एक हुन्।

‘बन्द अवस्थामा रहेकाले हल खोल्न गाह्रो थियो। यसलाई चलाउने जान्ने प्राविधिक, प्रयोग भएका सामानहरु पाउन गाह्रो रहेछ,’ उनले भने, ‘रिल सफा भयो र प्रोजेक्टर चल्यो भने तुरुन्त देखाउन सकिन्छ।’

narayanhiti-cinema_567.jpg

फेरि उघारिँदैछ पर्दा
सुरुमा राजपरिवारका सदस्यले नेपाली, हलिउड, बलिउड सिनेमाहरु यसै हलमा बसेर हेर्थे। सिनेमा हेरेपछि त्रिभुवन सदनमा गई राजाहरुले डिनर गर्ने गरेको गुरुङ सम्झन्छन्। उनका अनुसार राजा वीरेन्द्र प्रत्येक शुक्रबार यसै हलमा फिल्म हेरेर गुड फ्राइडे मनाउने गर्थे।

संग्रहालयको रेकर्ड अनुसार २०२६ सालमा यस सिनेमा हलमा हेरिएको पहिलो भिडियो राजा महेन्द्रकी जेठी छोरी शान्ति शाहको विवाहको थियो। त्यसपछि पनि केही समय परिवारसँग सम्बन्धित भिडियोहरु नै हलमा लगाइएको थियो। २०२९ सालमा उक्त हलमा राजा हरिश्चन्द्र फिल्म हेरिएको थियो।

614A3961.jpg

कोठाकोठामा टेलिभिजन हुन थालेपछि भने यो हललाई राजपरिवारका सदस्यहरुले कम प्रयोग गर्न थाले।

हलमा अन्तिम पटक तत्कालीन युवराज पारस शाह छिरेका थिए। २०६२ असोजमा पारसले भिडियो चल्ने नचल्नेबारे परीक्षण मात्रै गरेको संग्रहालयको रेकर्डमा उल्लेख छ। सोही वर्ष माघमा उक्त हलको सफाइ गरिएको थियो। त्यसपछि सुनसान बनेको यस हलको पर्दा फेरि कहिल्यै उघ्रिएन।

buddhi_gurung.jpg
संग्रहालयका शाखा अधिकृत बुद्धि गुरुङ

हलभित्रको दृश्यले पनि वर्षौँदेखि हल नचलेको देखाउँथ्यो। पर्दा धुलाम्मे थियो। पर्दाका अघिल्तिर राखिएका कुर्सी तथा सोफा, टेबुलभरि धुलो जमेको थियो। गुरुङका अनुसार पर्दा भने बिग्रिएको छैन। केही मेच र प्रोजेक्टरको मर्मत गरे हल चलाउन सकिने अवस्था छ।

हलमा एक सय सोह्र जना बसेर फिल्म हेर्न मिल्छ। अघिल्तिरका ६ लहरका कुर्सीमा दरबारमा काम गर्ने नानी, सुसारेहरु बस्थे।

614A3969_1.jpg

त्यसपछि राखिएको सोफामा राजारानीसहित राजपरिवारका सदस्यहरु हुन्थे। राजारानी बस्नेभन्दा पछाडि तीन लहर कुर्सीहरु राखिएका छन्। जुन कुर्सीमा राजपरिवारका सदस्यको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु बस्ने गर्थे।

संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले आगामी वैशाखसम्म हल सर्वसाधारणका लागि खोल्ने तयारी गरिरहेको बताए।

vesh narayan dahalकार्यकारी निर्देशक भेषनारायण दाहाल

‘वैशाखसम्ममा संग्रहालय घुम्न चाहने दर्शकलाई हलमा डकुमेन्ट्रीहरु देखाउने प्रयासमा छौं,’ उनले भने, ‘अहिले रिलहरु प्रोसेसिङ गर्दैछौँ। त्यसको फंगस हटाएपछि चल्ने अवस्थामा ल्याउन ट्रिटमेन्ट गर्छौँ। विज्ञहरु ल्याएर साउन्ड र नेगेटिभ चेक गरेपछि हल सञ्चालमा आउँछ।

हलमा राजपरिवारसँग सम्बन्धित डकुमेन्ट्री र भिडियोहरुमात्रै देखाइनेछ। यहाँ अन्य चलचित्र चलाउने संग्रहालयको योजना छैन। पर्यटकले हलमा डकुमेन्ट्री हेर्न थप शुल्क तिर्नु पर्छ कि पर्दैन, अहिले नै निर्णय भइसकेको छैन।

भिडिओ: 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .