ad ad

समाज


युरेनियम नेपाल ल्याउने व्यक्ति अमेरिकामा, बेचिदिनेलाई २/२ करोड कमिसनको प्रलोभन

युरेनियम नेपाल ल्याउने व्यक्ति अमेरिकामा, बेचिदिनेलाई २/२ करोड कमिसनको प्रलोभन

उजिर कार्की
फागुन २८, २०७७ शुक्रबार १३:५०,

काठमाडौँको बौद्धबाट बरामद भएको युरेनियम २० वर्ष पहिले नै भारतबाट नेपाल ल्याइएको प्रहरीले जनाएको छ।

भारतमा रहेको युरेनियम खानीमा काम गर्ने अम्बर लामाले घर फर्किंदा सो युरेनियम ल्याएको महानगरीय प्रहरी कार्यालयका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) हरि पालले बताए।

युरेनियमसहित पक्राउ परेकी अम्बर लामाकी बुहारी जानुका तामाङले २० वर्ष पहिले नै ससुराले ल्याएको र अहिले बिक्री गर्न खोजेको प्रहरीलाई बताएकी छन्। अम्बर भने ५/६ वर्ष पहिलेदेखि छोरीसँग अमेरिकामा बस्दै आएका छन्। जानुकाका श्रीमान् पनि अमेरिकामै छन्।

अम्बरले युरेनियमको कुरा सुनाएपछि जानुकाले बेचबिखन गर्ने सोच बनाइन्। उनले सुरुमा रामेछापकै नारायणसिंह तामाङलाई भनिन्। नारायणसिंहले बहुमूल्य भएको र बेच्दा निक्कै रकम आउने बताए।

जानुकासँग सल्लाह गरेर नारायणसिंहले नै युरेनियम किन्ने ग्राहक खोज्न थाले। उनले ग्राहक खोज्नकै लागि रामेछापको बागजोरका २० वर्षीय प्रकाश चौहान र सिन्धुलीको सुनकोशी गाउँपालिका ४ का २० वर्षीय मनोज न्यौपानेलाई भने। उनीहरुलाई बिक्री गरिदिएबापत दुईदुई करोड रुपैयाँ दिने बताए।

२ करोड पाउने भएपछि मनोज र प्रकाश युरेनियम किन्ने ग्राहक खोज्नतिर लागे। नेपालमा खपत नहुने र मूल्य पनि धेरै भएकाले उनीहरुले ग्राहक पाउन सकिरहेका थिएनन्। बरु यसको सूचना एआईजी पालसम्म पुग्यो।

त्यसपछि उनीहरु महानगरीय प्रहरी कार्यालयको फन्दामा परेका हुन्। बिहीबार टुसाल ६ बौद्धस्थित जानुकाको घरबाट प्रहरीले युरेनियमसहित चार जनालाई पक्राउ गरेको हो।

यो युरेनियम कच्चा पदार्थ नै भएकाले यसको मुल्य भने निश्चित नरहेको एआईजी पालले बताए।

‘कच्चा पदार्थ साढे २ किलोभन्दा बढी छ। नेपालमा पहिलो पटक बरामद भएकाले यसलाई के गर्ने भन्ने निर्णय भइसकेको छैन,’ एआईजी पालले भने, ‘युरेनियम हो भन्ने कुरा विधि विज्ञान प्रयोगशालाबाट प्रमाणित भइसकेको छ।’

पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि प्रहरी परिसर काठमाडौं पठाइएको छ।

युरेनियम के हो?
वर्ल्ड न्युक्लियर एसोसिएसनका अनुसार युरेनियम एक गह्रौँ धातु हो। आणविक उर्जा र हतियार उत्पादनमा यो प्रयोग भइरहेको छ।

जर्मन रसायनशास्त्री मार्टिन क्लाप्रोथले सन् १७८९ मा युरेनियम पत्ता लगाएका थिए। पछि यसको नाम हाम्रो सौर्य प्रणालीको सातौँ ग्रह युरेनस अर्थात् अरुणसँग जोडेर युरेनियम राखियो।

युरेनियमको पग्लिने विन्दु ११३२ डिग्री सेल्सियस हो। विज्ञानमा यसलाई ठूलो ‘यू’ संकेतले चिनिन्छ।

युरेनियम बहुउपयोगी धातु हो। आजको समयमा यसको प्रयोग आणविक भट्टीमा इन्धनको रुपमा हुने गर्छ।

प्राकृतिक रुपमा युरेनियम–२३८ र युरेनियम–२३५ तथा सानो परिमाणमा युरेनियम–२३४ गरी तीन प्रकारमा युरेनियम उपलब्ध हुन्छ। युरेनियम–२३५ त्यस्तो प्राकृतिक वस्तु हो जसले फिसन चेन रियाक्सन अर्थात् विखण्डन शृंखला प्रतिक्रिया कायम राख्न सक्छ। जसबाट प्रचुरमात्रामा ऊर्जा निस्किन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .