ad ad

समाज


डोटी जिप दुर्घटना : अधुरै रह्यो मञ्जुको अधिकृत बन्ने सपना

डोटी  जिप  दुर्घटना : अधुरै रह्यो मञ्जुको अधिकृत बन्ने सपना

गोकुल जोशी
मंसिर २१, २०७७ आइतबार ११:१८,

बैतडीको सुर्नया गाउँपालिका– ६ मूलखटालीकी २८ वर्षीया मञ्जु त्रिपाठी (अवस्थी) डोटीको बोगटान फुड्सिल गाउँपालिकामा नायब सुब्बा पदमा कार्यरत थिइन्।

बिदामा घर आएकी उनी शनिबार बिहानै कार्य क्षेत्र जानका लागि घरबाट हिँडिन्। २ वर्षीय छोरा मिलन र उनको हेरचाहका लागि ६० वर्षीया सासू डम्मरी पनि उनीसँगै थिइन्।

गतवर्ष सरकारी जागिरमा प्रवेश गरेकी मञ्जुले बोगटान फुड्सिल गाउँपालिकाको वडा नम्बर ७ को सचिवको जिम्मेवारी सम्हालिरहेकी थिइन्। त्यहीँ जिम्मेवारी पूरा गर्न कार्य क्षेत्रसम्मको यात्रा तय गरेर छोरा र सासूसँगै हिँडेकी मञ्जु कार्यक्षेत्र पुग्न पाइनन्। उनीहरु सवार जिप गएराति १ बजेतिर बोगटान फुड्सिल गाउँपालिका–७ को बउखेल्ले भन्ने ठाउँमा दुर्घटनामा प¥यो।

डोटी सदरमुकाम दीपायलबाट खत्याडी जाँदै गरेको शैलेश्वरी यातायातको म१च ५५० नम्बरको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त दुर्घटनामा मञ्जु, उनका छोरा र सासूले ज्यान गुमाए।

त्यसैगरी सोही जिपमा सवार ग्रामीण जलस्रोत परियोजनामा कार्यरत केआई सिंह गाउँपालिका–४ का ४० हरिनारायण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका एसपी जनक राज पाण्डेयले जानकारी दिए।

‘तीन जनाको घटनास्थलमै ज्यान गएको थियो। २ वर्षीय बालकको उपचारका लागि दीपालय लैजाने क्रममा बाटोमा ज्यान गएको हो’, एसपी पाण्डेले नेपालखबरसँग भने, ‘दुर्घटना के कति कारणले भएको भन्ने बारे केही खुल्न सकेको छैन।’

manjusonदुर्घटनामा निधन भएका मञ्जुका २ वर्षीय छोरा

दुर्घटनामा अन्य चार जना घाइते भएका छन्। घाइते हुनेमा बोगटान फुड्सिल गाउँपालिका–६ का ३० वर्षीय जिप चालक कैलाश बम, सोही गाउँपालिका ७ बस्ने ४० वर्षीया खेमादेवी गिरी र २६ वर्षीय टीकाराम गिरी र कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बस्ने २८ वर्षीय हेमन्त भट्ट रहेका छन्।

जिप सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

घरै रित्तियो, अधिकृत बन्ने सपना अधुरै
दुर्घटनामा एकै परिवारका ३ जनाको ज्यान गएपछि यतिबेला पुरै गाउँ नै शोकमा डुबेको छ। दुर्घटनाले घर रित्तो बनाएको मृतक मञ्जुका श्रीमान् मदनराज अवस्थीले बताए।

उनको सुर्नया गाउँपालिका–६ स्थित घरमा पाँच जना सदस्य थिए। दुर्घटनाले तीन जनाको ज्यान लिएपछि घर रित्तो भएको हो। ‘घरमा आमा, भाई, मञ्जु, म र छोरा थियौँ। पापी कालले हाम्रो खुसी देख्न सकेन’, भावुक हुँदै अवस्थीले नेपालखबरसँग भने, ‘आमा, श्रीमती र छोरालाई हामीबाट चुडेर लग्यो। परिवारमा ठूलो बज्रपात परेको छ।’

No description available.दुर्घटना स्थल

श्रीमतीले दीपायलबाट गाडी चढ्यौँ है भनेको सम्झँदै उनी भन्छन्, ‘हिजो दीपायलबाट गाडी चढ्ने बेलामा फोनमा श्रीमतीले हामी गयौँ हैँ ! भनेर भनेकी थिइन्। त्यसको केही घण्टापछि एक्कासी दुर्घटनाको खबर पाएँ। कहिल्यै नआउने गरी संसार त्यागेर गएछन्।’ मृतक मञ्जुका श्रीमान् रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड बैतडी शाखाको प्रमुख पदमा कार्यरत छन्।

उनले दुर्घटनाका कारण उनले श्रीमती मञ्जुको अधिकृत बन्ने सपना अधुरै रहेको बताए। ‘उनको अधिकृत बन्ने सपना थियो, पापी दुर्घटनाले त्यो पनि पूरा हुन दिएन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .