ad ad

समाज


अनुसन्धान भन्छ : संक्रमणको पहिलो हप्ता यस्ता लक्षण देखिए दीर्घ कोभिड हुने खतरा!

अनुसन्धान भन्छ : संक्रमणको पहिलो हप्ता यस्ता लक्षण देखिए दीर्घ कोभिड हुने खतरा!

नेपालखबर
कात्तिक १४, २०७७ शुक्रबार २:१३,

दीर्घ कोभिड अर्थात् लामो समय कोरोना संक्रमणको असर रहिरहने अवस्था। यस विषयमा वैज्ञानिकले विभिन्न अनुसन्धान गरिरहेका छन्।

किङ्स कलेज लन्डनले गरेको अनुसन्धानअनुसार कोरोना संक्रमण भएको पहिलो हप्तामा पाँचभन्दा बढी लक्षण देखिनु दीर्घ कोभिडका संकेत हुन सक्छन्।

अनुसन्धानअनुसार संक्रमणको पहिलो हप्ता थकान, टाउको दुख्ने, सास लिन गाह्रो हुने, आवाज पनि भारी हुने, मांसपेशी र शरीर दुख्नेजस्ता लक्षण देखिए भने लङ कोभिड अर्थात् दीर्घ कोभिड हुने खतरा हुन्छ।

अनुसन्धानकर्ताका अनुसार कोरोना संक्रमण भएको ४ देखि ८ हप्तासम्म पनि सञ्चो भएन भने बिरामीलाई दीर्घ कोभिड हुने खतरा हुन्छ। यस्ता बिरामीमा कोरोना नेगेटिभ भइसकेर पनि रुघा, खोकी, सास लिन गाह्रो हुने, मांसपेशी दुख्ने र धेरै थकाइ लाग्नेजस्ता समस्या भइरहन्छ।

४० हजार संक्रमितमा गरिएको थियो अनुसन्धान
बेलायतका वैज्ञानिकले कोरोनाबाट संक्रमित ४० हजार मानिसमा अनुसन्धान गरेका थिए। जसमा बेलायत र स्विडेनका बिरामी सहभागी थिए। तीमध्ये २० प्रतिशत संक्रमितले एक महिनासम्म पनि राम्रोसँग निको हुन नसकेको बताएका थिए।

यस्तै १ सय ९० बिरामीमा भने ८ देखि १० हप्तासम्म लगातार कोरोनाका लक्षण देखिएको पाइयो। यसैगरी सय जना बिरामीले संक्रमणको १० हप्तासम्म पीडा भएको बताए।

अनुसन्धानकर्ताको दाबी छ– यी घटना नै लामो समयसम्म कोभिडको असर हुन्छ भन्ने कुराका प्रमाण हुन्।

‘संक्रमणमुक्त हुनेबित्तिकै काममा सक्रिय भइहाल्नु हुँदैन’
अनुसन्धानका अनुसार कोरोनाबाट मुक्त भएको केही हप्तासम्म पहिलेजस्तै आफ्ना काममा सक्रिय भइहाल्नु हुँदैन। यसो गर्दा थकानको समस्या उत्पन्न हुन सक्छ र आउने दिनमा यो अझ जटिल बन्न सक्छ। साथै यस अवधिमा स्वस्थ र पोषिलो खानेकुरा खाने, योगासन गर्ने गर्नुपर्छ। साथै कुनै औषधि खाने गरिएको छ भने त्यो नियमित गर्न भुल्न हुँदैन।

६४ प्रतिशत बिरामीमा महिनौं असर देखियो
कोरोना संक्रमणबाट मुक्त भइसकेका ६४ प्रतिशत मानिसमा महिनौंसम्म भाइरसका असर देखिएको पाइयो। उपचारपछि पनि उनीहरूमा सास लिन कठिन, थकान, बेचैनी र डिप्रेसनका समस्या देखिए।

यो अनुसन्धान गर्ने अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ता भन्छन्, ‘कोरोना संक्रमण भएको २ देखि ३ महिनासम्म असर देखिइरहेको पाइयो। ६४ प्रतिशत कोरोनाका बिरामी सास लिन गाह्रो हुने समस्याबाट पीडत भएको पाइयो। त्यस्तै कोरोनाबाट मुक्त ५५ प्रतिशत मानिसमा थकानको समस्या देखियो।’

दीर्घ कोभिड के हो? यसरी बुझौं
–दीर्घ कोभिडको वैज्ञानिक परिभाषा छैन। जुन बिरामीलाई कोरोना नेगेटिभ भइसकेर पनि महिनौं लक्षण र असर देखिइरहन्छन्, त्यही नै दीर्घ कोभिड हो।

–दीर्घ कोभिड भएका मानिसमा पनि लक्षण अलग अलग देखिन सक्छन्। तर साझा समस्या हो– थकान। यसबाहेक यस्ता बिरामीमा सास लिन गाह्रो हुने, खोकी, जोर्नी तथा मांसपेशीको दुखाइ, सुन्न/देख्नमा समस्या तथा टाउको दुख्ने हुन्छ।

–यस्ता बिरामीमा आन्द्रा, मिर्गाैला, फोक्सो र मुटुमा क्षति पुग्न सक्छ। संक्रमण मुक्त भइसकेर पनि डिप्रेसन, बेचैनीजस्ता समस्या देखिन्छन्।

–लङ कोभिड (दीर्घ कोभिड) शब्दको प्रयोग सबैभन्दा पहिला एलिसा पेरेगो (युनिभर्सिटी लन्डनका अनुसन्धान सहयोगी) ले गत मे मा आफ्नो कोभिड–१९ अनुभव सेयर गर्ने क्रममा गरेका थिए। त्यसपछि धेरै जनाले यस्तै अनुभव गर्न थाले।

स्राेत : दैनिक भास्कर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .