ad ad

समाज


‘चोरहरु’ को गाउँ पुनर्वासले यसरी बदल्दै छ आफ्नो पहिचान

‘चोरहरु’ को गाउँ पुनर्वासले यसरी बदल्दै छ आफ्नो पहिचान

नेपालखबर
असोज २९, २०७७ बिहिबार ०:३३,

केही वर्ष अघिसम्म चोरहरुको गाउँ भनेर चिनिने सर्लाहीको पुनर्वास बस्ती हिजोआज आर्थिक समृद्धितर्फ लम्किँदै गएको छ।

पूर्वी धनुषाको झिँझा गाउँका बासिन्दाले चोरी डकैतीजस्ता क्रियाकलाप गर्न थालेपछि तत्कालीन सरकारले २०३५ सालतिर २६० परिवारलाई सर्लाही जिल्लाको नेत्रगञ्जमा बसोबासको व्यवस्था मिलाएको थियो।

मुलुकमा आएको सामाजिक, राजनीतिक र आर्थिक परिवर्तनसँगै उनीहरुले पनि अहिले आफ्नो पेशा परिवर्तन गरेका छन्। पुख्र्यौली पेशा चोरी डकैती त्यागेर विभिन्न व्यवसाय गर्न थालेपछि अहिले उनीहरुको जीवनमा सकारात्मक आर्थिक परिवर्तन हुन थालेको छ।

‘त्रेतायुगमा कुख्यात डाका रहेको रत्नाकर चेतनाका कारण वाल्मिकी (साधु) हुनसक्छ भने अहिले कलियुगमा हामी किन साधु हुन सक्दैनौँ?’, लालबन्दी नगरपालिका–२ पुनर्वास बस्तीका दानालाल पासवानले भने, ‘देशमा लामो सङ्घर्षपछि आएको सङ्घीयताले हाम्रो गाउँमासमेत आर्थिक परिवर्तन हुन थालेपछि हामीले पुख्र्यौली पेशालाई त्यागेका छौं।’

पूर्व–पश्चिम राजमार्गको लालबन्दी बजारबाट करिब पाँच किलोमिटर पश्चिम दक्षिणस्थित सो बस्तीका ‘चोरहरु’ अहिले राज्यको मूलधारमा आएर विभिन्न व्यवसायमा रमाउन थालेका छन्। लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काले उनीहरुको जीवनस्तरमा सुधार ल्याउनका लागि कृषि पेशामा आधारित कार्यक्रम, खेतखेतमा सिँचाइको लागि बिजुली र प्रत्येक प्लटमा कृषि सडक पु¥याइएको जानकारी दिए।

‘तरकारी खेतीबाट वार्षिक करोडौं रुपैयाँ आम्दानी हुन थालेपछि उनीहरुले अहिले आफ्नो पुख्र्यौली पेशा त्यागेका छन्,’ मेयर खड्काले भने।

हिजोको कष्टपूर्ण जीवनशैलीमा आधारित पुख्र्यौली पेशा त्यागेर तरकारी खेतीबाट उनीहरुको फेरिएको जीवनशैलीसँगै अहिले पुनर्वास बस्तीको परिचय समेत फेरिएको लालबन्दी नगरपालिका–२ का वडाध्यक्ष किरण पासवानले बताए। ‘यो बस्तीमा कृषि र सिँचाई क्षेत्रमा बढी बजेट छुट्याइएकाले स्थानीयको आर्थिक रुपान्तरणमा ठूलो सहयोग पुगेको छ,’ वडाध्यक्ष पासवानले भने।

बस्तीको चारैतिर अहिले पक्की सडक निर्माण भएको छ। कृषि र पशुपालन व्यवसाय तथा वैदेशिक रोजगारका कारण गाउँमा अहिले प्रायःजसोको आर्थिक अवस्थामा सुधार आएको छ।

पुनर्वास बस्तीका देवानन्द पासवानले राजतन्त्रका अन्त्यसँगै देशमा आएको सङ्घीय लोकतान्त्रिक राजनीतिक व्यवस्थाका कारण अहिले बस्तीमा बिजुली, सडक, सिँचाइ विद्यालयको पहुँच पुगेको बताए।

धनुषा जिल्लाको झिँझा गाउँबाट लालबन्दीको नेत्रगञ्जमा तत्कालीन सरकारले शुरुमा २६० घरपरिवारलाई बसोबास गराए पनि हाल सो गाउँमा ५ सय परिवारको बसोबास छ। गाउँमा करिब ३ हजार पाँच सय जनसंख्या छ।

लालबन्दी नगरपालिका–२ मा पर्ने सो बस्तीमा ७० प्रतिशत दलितको बाहुल्यता छ। एबिसिडी गरी चार वटा ब्लक रहेको सो पुनर्वास बस्तीलाई अहिले पासवान बस्ती समेत भनेर सम्बोधन गर्ने गरिन्छ । दलित बस्ती भएपनि समृद्धिको यात्रातर्फ लम्किँदै जानुका प्रमुख कारण लालबन्दी नगरपालिकाले त्यहाँको कृषि क्षेत्रमा गरेको अत्याधिक लगानी नै हो।

‘युवाहरु वैदेशिक रोजगारमा तेस्रो मुलुक जानु र महिला तथा वृद्धवृद्धाले तरकारी खेतीगरी मनग्य आर्थिक लाभ लिन थालेपछि यो गाउँको अहिले मुहार फेरिएको वडा नम्बर १ का अध्यक्ष पञ्चालाल स्याङयोले बताए। ‘लालबन्दी बजारको आर्थिक समृद्धिमा यहाँका किसानले उत्पादन गर्ने कृषि उपज, दूध व्यवसायले ठूलो सहयोग गरेको छ ,’ उनले भने।

पुनर्वास गाउँमा प्राथमिक र माध्यमिक विद्यालय सञ्चालनमा छन्। स्थानीयका छोराछोरीले गाउँकै विद्यालयमा अध्ययन गरी शिक्षा हासिल गर्दै आएका छन्।

चोरी डाका जस्ता आपाराधिक क्रियाकलाप गर्नेहरुको लागि पुनर्वास बस्तीका मानिस उदाहरण बनेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .