ad ad

समाज


सुधार हुँदै माैसम, यस्तो छ आज वर्षाको सम्भावना

सुधार हुँदै माैसम, यस्तो छ आज वर्षाको सम्भावना

नेपालखबर
असोज १०, २०७७ शनिबार १:५७,

मौसम क्रमिक रूपमा सुधार हुँदै गएको मौसमविद्ले बताएका छन्।

आज (शनिबार) पनि काठमाडौंमा बिहानैदेखि घाम देखिएको छ। आज काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना एकदमै कम रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीले बताइन्।

‘मौसम क्रमिक रूपमा सुधार भइरहेको छ,’ शनिबार बिहान नेपालखबरसँग उनले भनिन्, ‘हिजैबाट देशका विभिन्न स्थानमा घाम लाग्न थालेको हो।’

मौसमविद् बासीका अनुसार हिजो काठमाडौं उपत्यकासहित सुदूरपश्चिम, कर्णाली र प्रदेश नम्बर ५ को पश्चिमी क्षेत्रमा घाम लागेको थियो।

‘तर पूर्वी क्षेत्रमा न्यून चापीय क्षेत्रको थोरै प्रभाव बाँकी नै छ,’ उनले भनिन्, ‘त्यही भएर प्रदेश नम्बर १ र २ का एक दुई स्थानमा आज भारी वर्षा हुने सम्भावना छ।’

मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।

यस्तै प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पनि एक दुई स्थानमा आज दिउँसो मेघगर्जन/ चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको छ। प्रदेश नं १ र प्रदेश नं २ का एक दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना देखिएको बुलेटिनमा उल्लेख छ।

बुलेटिनअनुसार राति पनि प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान तथा प्रदेश नम्बर ५ , कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। प्रदेश नं १ र गण्डकी प्रदेशका एकर दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टा (आइतबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि दिएको छ : प्रदेश नं १, प्रदेश नं २ र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

सामान्यतया नेपालबाट मनसुन बाहिरिने मिति यही सेप्टेम्बर २७ भए पनि अन्तिम समयमा गत चार/पाँच दिन देशभर व्यापक वर्षा भएको थियो। माैसमविद्का अनुसार भनेकै दिन मनसुन बाहिरिँदैन। केही दिन अघि पछि हुन्छ। केही वर्षयता नेपालमा मनसुन लम्बिइरहेकाे छ। अक्टाेबरसम्म पनि रहने गरेकाे छ। 

मनसुन अझै केही दिन रहने देखिए पनि दिनप्रतिदिन वर्षा कम हुँदै जाने मौसमविद् मञ्जु बासीले बताइन्। ‘वर्षा भए पनि हिजो अस्तिको जस्तो बाढी पहिरो जाने खालको हुने सम्भावना छैन,’ मौसमविद् बासीले भनिन्।

मौसम पूर्वानुमान महाशाखाको अनुमानअनुसार आगामी २ दिन यस्तो छ वर्षाको सम्भावना : 

असोज ११ गते आइतबार
दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थान तथा प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।

राति : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थान तथा बाँकी प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज १२ गते सोमबार
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थान हल्का वर्षा तथा बाँकी प्रदेशमा आंशिक बदलीको सम्भावना छ।

राति : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थान हल्का वर्षा तथा बाँकी प्रदेशमा आंशिक बदलीको सम्भावना छ।

महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने गर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .