समाज


कोभिड–१९ बाट मृत्युदर: सिंगापुरमा विश्वमै सबैभन्दा कम हुनुको रहस्य यस्तो छ

कोभिड–१९ बाट मृत्युदर: सिंगापुरमा विश्वमै सबैभन्दा कम हुनुको रहस्य यस्तो छ

नेपालखबर
असोज १, २०७७ बिहिबार १४:८,

विश्वमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या दैनिकरुपमा बढिरहँदा सिंगापुरमा भने यो महामारीका कारण अहिलेसम्म धेरैको ज्यान गएको छैन।

त्यहाँ ५७ हजारभन्दा बढि संक्रमित भइसक्दा पनि अहिलेसम्म २७ जनाको मृत्यु भएको छ। यो संसारमै संक्रमितको अनुपातमा मृत्युदर सबैभन्दा कम हो।

विश्वमा संक्रमितमध्ये मृत्यु हुनेको औसत दर तीन प्रतिशत छ। सिंगापुरमा भने ०.०५ प्रतिशत हुनुले त्यहाँ संक्रमितको मृत्युदर सबैभन्दा कम देखाएको हो।

रोयटर्सले एक हजारभन्दा बढि संख्यामा संक्रमित रहेका देशहरुको तथ्यांक संकलन र अध्ययन गरी यो निष्कर्ष निकालेको हो।

सिंगापुरसँग समान जनसंख्या भएका मुलुकहरुसँग तुलना गर्दा पनि व्यापक भिन्नता देखिन्छ। उस्तै जनसंख्या भएको डेनमार्कमा मृत्युदर ३ प्रतिशत छ भने फिनल्याण्डमा ४ प्रतिशत छ।

सिंगापुरको स्वास्थ्य मन्त्रालयका अनुसार गत दुई महिनाभन्दा बढि समयदेखि त्यहाँ कोभिड–१९ का कारण कसैको पनि ज्यान गएको छैन।

त्यहाँका केहि प्रमुख विज्ञहरुका अनुसार यो सफलता प्राप्त गर्नुका केहि मुख्य कारणहरु यस्ता छन्ः

संक्रमणको जनसांख्यिक बनोट
सिंगापुरमा संक्रमितमध्ये ९५ प्रतिशत व्यक्तिहरु आप्रवासी कामदार हुन्। २० देखि ३० वर्ष उमेर हाराहारीमा रहेका उनीहरु साँघुरा ठाउँमा बस्छन् भने निर्माणक्षेत्रजस्ता बढि मेहनत गर्नुपर्ने काम गर्छन्।

यो रोगबारे भएका अहिलेसम्मका अध्ययनहरुले विश्वमै युवापुस्तामा यसको असर कम परेको देखिन्छ। उनीहरुमध्ये धेरैमा कोभिड संक्रमण भएपनि लक्षण देखिँदैन।

संक्रमितको खोजि
सिंगापुरले यो भाइरसलाई फैलिनबाट रोक्ने सबैभन्दा प्रभावकारी उपाय नै आक्रामक कन्ट्याक्ट ट्रेसिङ हो। छिटोभन्दा छिटो संक्रमितलाई सम्पर्क गर्नका लागि सिंगापुरले प्राप्त गरेका सफलताको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि प्रशंसा गरेको छ।

सिंगापुरले ९ लाख मानिसको स्वाब संकलन गरेको छ। यो त्यहाँको ५७ लाख जनसंख्याको १५ प्रतिशतभन्दा बढि हो। यो संसारमै प्रतिव्यक्ति सबैभन्दा बढि कोरोना परीक्षण गर्ने मुलुकमध्येमा पर्छ।

त्यहाँ जोखिमपूर्ण अवस्थामा रहेका मानिसहरुको सूचि बनाएर व्यापकरुपमा परीक्षण गरिन्छ र त्यस्ता समुदायको सामुहिक परीक्षण गर्नुका साथै स्वासप्रश्वासमा समस्या भएका सबैको निशुल्क परीक्षण गर्ने लगायतका कामहरु गरिएको छ।

‘जति बढि परीक्षण गर्छौं, मृत्युदर उति नै बढि कम गर्न सकिन्छ,’ नेसनल युनिभर्सिटी अफ सिंगापुरको सव स्वी हक स्कूल अफ पब्लिक हेल्थका स्हु लि याङले भने।

अस्पताल भर्ना
उपचार दिनका लागि पनि उत्तिकै अग्रसरताका साथ काम गरिएको छ। ४५ वर्षभन्दा माथिका वा जोखिमपूर्ण भनी तोकिएका मापदण्डमा पर्ने व्यक्तिहरुलाई अस्पतालमा राखी उपचार गरिन्छ।

‘हाम्रो उपचार बिधि परम्परागत नै हो तर त्यसले पनि राम्रो काम गरिरहेको छ,’ सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलका वरिष्ठ कन्सल्ट्यान्ट डेल फिसरले भने।

पहिलेदेखि नै दक्षिणपूर्वी एसियाको मेडिकल पर्यटनको केन्द्रको रुपमा रहेको सिंगापुरले कोरोना उपचारका लागि पनि व्यापकरुपमा पूर्वाधारको विकास गरेको छ।

उसले सामान्य लक्षण भएका वा लक्षण नै नभएका कोरोना संक्रमितका लागि पनि छुट्टै राखेर उपचार गर्ने पूर्वाधार बनाएको छ।
यसरी छुट्टाछुट्टै राख्दा उनीहरुलाई आवश्यकता अनुसारको उपचार तथा अन्य सुविधा प्रदान गर्न संभव भएको छ।

अहिले सिंगापुरमा सघन उपचार कक्षमा कुनै बिरामी नै छैनन्। ४२ जनालाई अस्पतालमा भर्ना गरिएको छ भने अन्य ४९० जनालाई अस्थायी संरचनाहरुमा राखिएको छ।

अनिवार्य मास्क
त्यहाँको प्रशासनले गत अप्रिल महिनादेखि नै अनिवार्यरुपमा मास्क लगाउनुपर्ने नियम लागु गर्‍यो।

अहिलेसम्मका अध्ययनअनुसार मास्क लगाउनु नै कोरोना संक्रमण रोक्ने सबैभन्दा प्रभावकारी उपाय भएको पाइएको छ।

डब्लूएचओले पनि दूरी कायम गर्न र मास्क लगाउन नै सबैभन्दा बढि जोड दिएको छ।

‘हामीले सिंगापुरमा मास्क लगाउने निकै राम्रो चलन नै विकास गरेका छौं, यसले गर्दा यो रोगलाई निकै कमजोर बनाएको छ,’ माउन्ट एलिजावेथ हस्पिटलका सरुवा रोग विज्ञ ल्यंग हो नामले भने। -राेयटर्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad