समाज


बागलुङका बाढीपीडितलाई मगर संघ हङकङको सहयोग

बागलुङका बाढीपीडितलाई मगर संघ हङकङको सहयोग

वाशुदेव मिश्र
भदौ २८, २०७७ आइतबार ११:४१,

बागलुङ ढोरपाटन–९ का निमप्रकाश विकको संसार अँध्यारो भएको छ। २२ दिनको शिशु छोरा, धर्मपत्नी चनी, छोराहरु रोशन, रवि र राजलाई भुजिखोला बाढीले लगिहाल्यो। ढोरपाटन लेकमा गएकाले उनी चाहीँ बाँचे तर बाँचेकोमा पो उनलाई पछुतो छ।

‘बाढीले मेरा सबै परिवार लग्यो, परिवारमा म मात्र बाँचेको छु’, उनले सुस्केरा हाल्दै भने,‘म मात्र बाँचेर के भयो। सबै परिवार गुमाउन पर्‍यो।’ बाढीले परिवार मात्र लगेन घरसहित भएको एक टुक्रा जग्गा पनि बगायो। बस्ने ठाउँ केही पनि छैन।

उनी जस्तै यहाँको २२ घर परिवारका कसैले बाबुआमा त कसैले सन्तान र आफन्त गुमाएका छन्। बाढी पीडित सबैको उठीबास भएको छ। बाढीले घर बगाएपछि बाँचेकाहरु आफन्तको घरमा आश्रय लिन पुगेका छन्। नगरपालिका र संघसंस्थाले दिएको चाउचाउ, भुजालगायतका खाद्यान्न खाएर बसेको पीडित सुनीमाया पुनले बताइन्।

‘हप्तौँदेखि राम्रोसँग निन्द्रा परेको छैन’, उनले भनिन, ‘परिवार गुमाएको पीडा छ।’

पीडितसँग बस्ने ओत छैन। नेताहरु आएर भाषण गरे पनि वास्तविक पीडितसम्म उनीहरु नपुगेको गुनासो सुनिँदै आएको छ। तैपनि उनीहरुले सरकारले केही गर्देला कि भन्ने आशा छाडेका छैनन्। सहयोगी हातहरुले पनि सक्दो सहयोग गरिरहेका छन्।

यही उपक्रममा शनिबार मगर संघ हङकङले ढोरपाटनका बाढी पीडितलाई २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपालीलाई परेका पीडालाई सहन नसकेर हङकङमा रहेका मगर समुदाय र नेपालीहरुले राहत रकम संकलन गरेर नेपालमा राहत वितरण गरिएको मगर संघ हङकङका उपाध्यक्ष सुमन थापा मगरले बताए। संकलन गरेको राहत रकम पारदर्शी तरिकाले खर्च होस् भनेर आफूहरु पीडितकहाँ पुगेको उनले बताए।

dhorpatan-sahayog.jpg

नेपालीका दुःखमा साथ दिनका लागि मगर संघ हङकङको नेतृत्वमा राहत रकम संकलन गरेकी अध्यक्ष युकमाया रानाले बताइन्।

‘देशका विभिन्न ठाउँमा बाढीपहिरोले ठूलो धनजनको क्षती पुर्‍याएको छ,’ उनले भनिन्, ‘ यो पीडा हामीलाई सह्य भएन। हङकङ मगर संघ पनि प्रतिष्ठित सामाजिक संस्था भएकाले हामीले हङकङमा बसोबास गर्ने मगर समुदायलगायत नेपालीहरुमा सहयोगको अपिल गर्‍यौँ। उहाँहरुको सहयोगले नै आज देशको पीडामा केही सहयोग गर्न सकेका छौँ।’

मगर संघ हङकङले ढोरपाटनसँगै, म्याग्दी, कैलाली, तनहुँलगायतका देशका विभिन्न जिल्लामा बाढीपहिरो पीडितलाई राहत स्वरुप आर्थिक सहयोग गर्ने महासचिव नन्दबहादुर राना मगरले जानकारी दिए।

मगर संघ युकेका निर्वतमान उपाध्यक्ष एवम् स्वीडेन शाखाका सल्लाहकार अनिता रानामगरका अनुसार मगर संघ हङकङले जस्तै बागलुङ सेवा समाज क्यानडाबाट ३ लाख, मगर संघ युके स्वीडेन शाखा, नेपलिस वेलफेयरलगायतका प्रवासमा रहेका नेपालीले राहत रकम दिएका हुन्।

नेपाल मगर संघ केन्द्रीय समिति, नेपाल मगर संघ बुर्तिबाङ, मगर संघ निसीखोला समितिलगायतका विभिन्न संघसंस्थाले शनिबार एकैदिन बाढी पीडितलाई ९ लाख ३३ हजार ५ सय रुपैयाँ राहत रकम वितरण गरेका छन्। नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नविन रोका मगर र संविधानसभा सदस्य निरज पुनमगरले उक्त राहत रकम हस्तान्तरण गरेका थिए।

ढोरपाटन नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष हरिबहादुर घर्तीका अनुसार वडा नम्बर ९ मा १ सय घर पूर्ण क्षति पुगेको छ। वडा नम्बर ८ मा १० घर र वडा नम्बर ७ मा ३ घर गरि झन्डै १ सय २० घर क्षति पुग्दा सबै विस्थापित भएका छन्। बाढीमा परि ३७ जना वेपत्ता भएकोमा २२ जनाको सनाखत भइसकेको छ। १६ जना अझै वेपत्ता छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad