ad ad

समाज


स्वास्थ्य मन्त्रालयको प्रक्षेपण: एक हप्तामा संक्रमण पिकमा, असोज ५ सम्ममा थप २ सयको ज्यान जान्छ

स्वास्थ्य मन्त्रालयको प्रक्षेपण: एक हप्तामा संक्रमण पिकमा, असोज ५ सम्ममा थप २ सयको ज्यान जान्छ

सागर न्यौपाने
भदौ २२, २०७७ सोमबार १६:६,

स्वास्थ्य मन्त्रालयले अबको एक हप्तामा नेपालमा कोेरोना संक्रमण पिकमा पुग्ने र लकडाउन नगरे मंसिरसम्ममा कुल संक्रमितको संख्या ३ लाख नाघ्ने आकलन गरेको छ।

स्वास्थ्य मन्त्रालयले विश्व स्वास्थ्य संगठनको विधिका आधारमा गरेको अध्ययनमा संक्रमणको गति तीव्र भए भदौ २९ गते नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार पुग्ने देखिएको हो। संक्रमणको गति मध्यम रहे असोज ५ गते सक्रिय संक्रमितको संख्या ३९ हजार पुग्नेछ।

अहिले नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ५९ छ।

अध्ययनले भदौ २९ गतेसम्म एक सय जना र त्यसपछिको एक साता अर्थात असोज ५ सम्म अर्को एक सयको मृत्यु हुनसक्ने आकलन पनि गरेको छ।

हाल आईसीयू र भेन्टिलेटरमा रहेका गम्भीर बिरामीको आधारमा सो प्रक्षेपण गरिएको अध्ययनमा संलग्न मन्त्रालयका एक अधिकारीले बताए।

‘हाम्रोमा कोरोना संक्रमितको केस घटेपनि मृत्यु संख्या बढिरहेको छ,’ उनले भने, ‘भदौ २९ मा सबैभन्दा बढी केस देखिँदा सय बढीको मृत्यु हुनसक्छ भने असोज ५ सम्ममा थप एक सयको ज्यान जाने देखिन्छ। तर, देशभर रहेका आईसीयू र भेन्टिलेटरमा कति संक्रमित पुग्छन् त्यो आधारमा संख्यामा घटबढ पनि हुनसक्छ।’

मन्त्रालयले यसअघि साउन २५ गते र भदौ २ भित्रमा संक्रमण पिकमा पुग्ने अनुमान गरेको थियो। तर, लामो लकडाउनका कारण भाइरस समुदायमा फैलिन नपाएकोले पिकमा पुग्न रोकिएको ती विज्ञले नेपालखबरसँग बताए।

लकडाउन खुलेलगत्तै केस समुदायमा फैलिएको, काठमाडौं उपत्यका, पर्सा, विराटनगर, चितवन, बुटवल लगायतका ठूला सहरमा समुदायमा संक्रमण फैलिसकेको कारण भदौ २९ गते सबैभन्दा बढी संक्रमित थपिएर ३९ हजार पुग्ने सम्भावना रहेको उनले जनाए।

सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन साउन ७ गते खोलेको थियो। साउनको ४ गतेदेखि घट्न थालेको केस साउन १२ देखि पुनः बढ्न थालेको थियो।

‘पहिले साउनको २५ मा पिकमा पुग्छ भनिएको थियो, निरन्तरको लकडाउनले त्यो संख्या पुग्न दिएन र ब्रेक ग¥यो। अब त्यसको ३४ दिनपछि अर्थात् भदौको २९ गते पिकमा पुग्ने देखिन्छ,’ मन्त्रालयका ती विज्ञले भने, ‘त्यसदिन अहिलेसम्मकै बढी संक्रमित थपिने अध्ययनले देखाएको छ।’

अहिले दैनिक एक हजारको हाराहारीमा संक्रमित थपिइरहेका छन्।

‘समुदायमा संक्रमण फैलिसकेको छ, कतिपयले क्लस्टर मात्र भनिरहेका छन्, त्यो भनेको पनि समुदाय नै हो, यस्तो अवस्थामा केसहरु स्थानीयकरण हुन्छन्, त्यही नै संक्रमण पिकमा लग्ने प्रमुख कारक हुन्छ,’ उनले भने।

हाल राजधानीसहित देशका ४४ जिल्लामा निषेधाज्ञा छ। सरकारले २४ गतेसम्म तोकेको निषेधाज्ञालाई खोल्न उद्योगी, व्यवसायीहरुले आग्रह गरिरहेका छन्। तर, निषेधाज्ञा खुल्नेबित्तिकै पुनः संक्रमण बढ्ने ती अधिकारीले बताए।

पछिल्ला दिनमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने क्रम बढेको छ। अहिले झण्डै ७० प्रतिशतले मास्क प्रयोग गरिरहेको र भीड नियन्त्रण हुन सके संक्रमण दर घटाउन सकिने देखिएको उनले जनाए।

काठमाडौं हटस्पट
पछिल्लो दिन काठमाडौं नयाँ हटस्पट बनेकोले संक्रमण र मृत्यु संख्या पनि यहीँ बढी देखिने अध्ययनले देखाएको छ।

‘काठमाडौंमा लकडाउन खुलेयता र निषेधाज्ञाकै अवधिमा पनि केस बढेको छ, मृत्युसंख्या पनि बढिरहेकाले काठमाडौं उपत्यकामा त्यही ट्रेण्ड रहनेछ, संख्या बरु बढ्ला स्वाट्टै घट्ने सम्भावना न्युन छ,’ ती डाक्टरले भने।

लकडाउन गरे १ लाख नत्र मंसिरसम्म ३ लाख संक्रमित
कात्तिक महिनामा महत्वपूर्ण चाडपर्वहरु भएकाले मंसिर महिनाभरमा संक्रमण सबैतिर बढ्ने अध्ययनको निष्कर्ष छ। त्यसैले संक्रमितको कुल संख्या ३ लाख पुग्ने अनुमान गरिएको हो।

हालसम्म करिब ४७ हजार संक्रमित बनेका छन्। अबको तीन महिनामा थप २ लाख ५० हजार संक्रमित थपिने अध्ययनले देखाएको छ।

‘संक्रमण बढाउन अरु थुप्रै फ्याक्टरले काम गर्छ, लकडाउन निरन्तरता दिँदा सो संख्या बढ्दै बढ्दैन झन्डै लाखको हाराहारीमा सिमित हुन्छ,’ मन्त्रालयका ती विज्ञले भने, ‘तर, त्यसो नभएर दैनिक जनजीवन सामान्य अवस्थामा छोडिए कुल संक्रमित ३ लाख पुग्ने अध्ययनले देखाएको छ।’

मंसिरपछि नियन्त्रणमा
मंसिर लागेपछि भने नेपालमा कोरोना संक्रमण नियन्त्रण हुँदै जाने मन्त्रालयको प्रक्षेपण छ। मंसिर ९ गते सक्रिय संक्रमितको संख्या ५ हजारबाट ओरालो लाग्ने निष्कर्ष मन्त्रालयको अध्ययनले निकालेको छ।

नेपालमा माघ ९ गते पहिलो संक्रमित फेला परेका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .