ad ad

समाज


यी हुन् काठमाडौंका ५ कोरोना ‘हटस्पट’

यी हुन् काठमाडौंका ५ कोरोना ‘हटस्पट’

यज्ञराज जोशी
भदौ ४, २०७७ बिहिबार ११:४६,

काठमाडौं महानगरपालिकामा कोरोनाभाइरस संक्रमण दर बढ्दै गएको छ। बिहीबारसम्म महानगरमा १ हजार १ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ६ जनाको ज्यान गइसकेको छ।

उपत्यकाको कोटेश्वर क्षेत्र सबैभन्दा बढी जोखिममा देखिएको छ। त्यसपछि बल्खु, कलंकी, बालाजु, महाराजगञ्ज तथा असन क्षेत्रमा ५० भन्दा बढी संक्रमण देखिएका छन।

बिहीबारसम्म काठमाडौंमा ५० जनाभन्दा बढी संक्रमित भेटिएका स्थान यसप्रकार छन्:

कोटेश्वर
काठमाडौंको वडा नम्बर ३२ स्थित कोटेश्वर क्षेत्र कोरोनाको हटस्पट देखिएको छ। वडाकी जनस्वास्थ्य अधिकारी मैया सैंजुका अनुसार त्यहाँ ९१ जना कोरोना संक्रमित भेटिइसकेका छन्।

वडामा बुधबारमात्रै ११ जना संक्रमित थपिएका छन्। उनीहरुको कन्ट्याक्ट ट्रेसिङ जारी छ। त्यसक्रममा संक्रमितहरु थप हुनसक्छन्। कोटेश्वर प्रहरी बिटपछाडिको असर्फी गल्लीमा मात्रै ३९ जनामा संक्रमण भेटिएको सैंजुले जानकारी दिइन्।

‘दैनिक औसत ७–८ जना संक्रमित भेटिइरहनुभएको छ,’ उनले भनिन्, ‘सुरुमा बाहिरबाट आएमा मान्छेहरुमा संक्रमण देखिएको थियो। अहिले स्थानीयहरुमा पनि संक्रमण देखिन थालेको छ।’

एसओएस क्षेत्रमा एउटै घरको चारजना परिवार संक्रमण पुष्टि भएको उनले जानकारी दिइन्। चारवर्षका दुई र एक ६ वर्षको बालकलाई पनि कोरोना पुष्टि भएको छ। यस्तै कोटेश्वरमा व्यापारी, स्वास्थ्यकर्मी, कामदार लगायतमा कोरोना पुष्टि भएको छ।

यस क्षेत्रमा ३९ जना होम आइसोलसनमा छन। उनीहरुसँग वडाले नियमित सम्पर्क राखिरहेको पनि सैँजुले बताइन्। अस्पताल लैजानुपर्ने बिरामीका लागि समयमै एम्बुलेन्स नआइदिने तथा अस्पतालमा बेड नपाउने समस्या रहेको उनको गुनासो छ।

यस्तै संक्रमितहरुले गलत नम्बर र ठेगाना दिएका कारण उनीहरुलाई समयमै अलग्याउन समस्या भएको उनको अनुभव छ। काठमाडौं उपत्यकामा बिहीबार देखि निषेधाज्ञा जारी भएपछि यस क्षेत्रमा पनि संक्रमणदर रोक्न सहयोग पुग्ने उनले बताइन्।

कुलेश्वर–बल्खु क्षेत्र
महानगरको वडानम्बर १४ स्थित बल्खु, कलंकी क्षेत्र पनि जोखिमयुक्त देखिएको छ। यस वडामा ६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ।

बल्खु, कुलेश्वर क्षेत्रमा ठूलो तरकारी तथा फलफूल बजार छ। त्यस्तै, तराईका जिल्लाबाट हालै आएका व्यापारी तथा कामदारहरुहरुसँग त्यहाँका मानिसहरुको घुलमिल हुने कारणले बढी जोखिम देखिएको वडाअध्यक्ष शोभा सापकोटाले बताइन्।

एक व्यवसायीसँगै तरकारी किन्न गएका स्थानीय, एकै घरका धेरै जना र बालबालिकामा पनि कोरोना पुष्टि भएकाले समुदायमै संक्रमण गएको हो कि भन्ने आशंका उनको छ। समुदायस्तरमै कोरोना पुगेको आशंकामा साउन २७ गतेदेखि वडा सिल गरिएको थियो।

बालाजु क्षेत्र
महानगरको वडा नम्बर १६ स्थित गोंगबु बसपार्कसँगै औद्योगिक क्षेत्र पनि रहेको बालाजु काठमाडौंमा संक्रमण बढी भएको अर्को स्थान हो। वडा सदस्य पुष्प महजर्नका अनुसार यहाँ ६४ जनामा कोरोना संक्रमण देखिइसकेको छ।

९ जना निको भइसकेका छन् भने १२ जना होम आइसोलेसनमा छन्। बालाजु चोकमा मात्रै १६ जनामा संक्रमण पुष्टि भएको छ। औद्योगिक क्षेत्रको एउटै मैदा मिलमा ८ सहित १३ जनामा संक्रमित पुष्टि भएको छ।

यस वडामा एउटै घरमा चार जना संक्रमित भएका छन्।

असन, महाबौद्ध क्षेत्र
महानगरका कोभिड फोकल पर्सन ज्ञानबहादुर ओलीका अनुसार वडानम्बर २७ को असन, महाबौद्ध क्षेत्रमा ५० जना कोरोना संक्रमित भेटिसकेका छन्।

तीमध्ये भोटाहिटीबाट वीर अस्पताल जाने गल्लीमा सबैभन्दा बढी संक्रमित भेटिएको वडा सदस्य नरेशमान महर्जनले जानकारी दिए। महाबौद्धमा सुरुमा भारतबाट आएर पसल गरी बसेका एक व्यवसायीको परिवारमा संक्रमण देखिएपछि उक्त क्षेत्र सिल गरिएको थियो।

त्यसयता स्थानीय व्यवसायीसहित एकै परिवारका पनि धेरै जनामा संक्रमित भेटिएको श्रेष्ठले जानकारी दिए।

महाराजगञ्ज
वडानम्बर ३ स्थित महाराजगञ्ज क्षेत्रमा पनि संक्रमितको संख्या उच्च देखिएको छ। वडाध्यक्ष दीपक केसीका अनुसार वडामा ७४ जना संक्रमित देखिएको छ। जसमध्ये ५ जना निको भइसकेका तथा १३ जना होम आइसोलेसनमा छन्।

अधिकांश संक्रमित यस वडामा त्रिवि शिक्षण अस्पताल, गंगालाल अस्पताल, प्रहरी अस्पताल जस्ता ठूला अस्पतालमा भर्ना भएका व्यक्ति हुन्। अस्पतालमा भएका संक्रमितलाई छाड्ने हो भने वडा अहिलेसम्म सुरक्षित देखिएको केसीले बताए।

याे पनि: 

यस्तो छ काठमाडौँ महानगरका बत्तीसै वडामा कोरोना संक्रमणको अवस्था

काठमाडौं महानगरलाई घेरेका १० नगरपालिकामा यस्तो छ कोरोना संक्रमणको अवस्था

‘म्यासिभ आउटब्रेक’ हुने खतरा बढ्यो, धेरै मानिस हताहत हुन सक्छन्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .