ad ad

समाज


वर्षेनि सयौंले किन त्याग्छन् नेपाली नागरिकता?

वर्षेनि सयौंले किन त्याग्छन् नेपाली नागरिकता?

प्रकाश न्यौपाने
साउन १८, २०७७ आइतबार ९:०,

६ भदौ २०७५ मा रुपन्देहीका ५ जनाले एकैदिन नेपाली नागरिकता त्यागे। पाँचमध्ये बुटवल उपमहानगरपालिका १० का तुल्सीप्रसाद थापा र क्रान्ति थापाले हङकङको नागरिकता लिन नेपाली नागरिकता त्यागेको प्रशासनको तथ्यांकमा उल्लेख छ। उनीहरु एकै परिवारका हुन्।

यस्तै तिलोत्तमाका रिजन गुरुङ र नाबालक रेवती गुरुङले कोरियाको नागरिकता लिन भन्दै नेपाली नागरिकता त्यागे। उनीहरु पनि एकै परिवारका सदस्य हुन्। यस्तै सेमलारका नुरे सुनारले बेलयातको नागरिकता लिन भन्दै सोही दिन नै नेपाली नागरिकता त्यागे।

पछिल्लो समय जिल्लामा नेपाली नागरिकता त्याग्नेको संख्या बढ्दो छ। जिल्ला प्रशासन नागरिकता शाखाको तथ्यांकअनुसार अहिलेसम्म १ सय ९८ जनाले नेपाली नागरिकता त्यागेका छन्।

आर्थिक वर्ष ०७६।०७७ मा ६ जना र अघिल्लो आव ०७५।०७६ मा १६ जनाले नेपाली नागरिकता त्यागेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत ध्रुवप्रसाद नेपालले बताए। यो तथ्यांकले पनि प्रष्टै हुन्छ वर्सेनि नेपाली नागरिकता त्याग्ने बढीरहेका छन्।

कानुनतः एक व्यक्तिले दुई देशको नागरिकता लिन पाइँदैन। त्यसैले पनि बाह्य मुलुकमा नागरिकता लिएका तथा लिन चाहनेले नेपाली नागरिकता त्याग्ने गरेको नेपालले जनाए।

‘बाह्य मुलुकहरुमा नेपाली नागरिकता त्यागेको आधिकारिक प्रमाण पेस गर्नु पर्ने हुन्छ, बल्ल मात्रै त्यहाँको नागरिकता दिइन्छ’, नेपालले भने, ‘डीभी परेर बाह्य मुलुक पुगेका, व्रिटिस आर्मी, ग्रिनकार्ड होल्डरहरुले बढी मात्रामा नेपाली नागरिकता त्याग्ने गरेका छन्।’

विदेशमा नागरिकता लिन कागजात पेस गर्नेले यताको छाड्न पाउने कानूनी प्रावधान भएकाले पनि त्याग गर्नु सामान्य प्रक्रिया भएको प्रशासनले जनाएको छ।

‘विदेश पढ्न गएकाहरु पनि लामो समय बसेपछि उतैको नागरिकता मिल्ने देखिए यताको छाड्छन्’, उनले भने, ‘लामो समय विदेश बसेपछि उतै बिहेबारी गरेकाहरु, यताबाट परिवार पनि लगेकाहरुले नागरिकता त्याग्ने गरेका छन्।’

कानूनअनुसार नागरिकता त्याग गर्न आउनेलाई प्रशासनले त्याग गरेको प्रमाण दिने गरेको छ।

नागरिकता ऐन २०६३ ले नागरिकता त्याग सम्बन्धी व्यवस्था गरेको छ। नागरिकता त्यागको अन्तिम स्वीकृति दिने अधिकार भने प्रमुख जिल्ला अधिकारीलाई छ। नेपाली नागरिकता त्याग गर्न चाहेमा नागरिकता ऐन २०६३ को दफा १० बमोजिम र सोही ऐनको अनुसूचि ९ अनुसार विदेशस्थित नेपाली दुतावास, गृह मन्त्रालय र जिल्ला प्रशासनमा निवेदन दिनसक्ने व्यवस्था गरिएको छ। जिल्लाबाट नेपाली नागरिकता त्यागेर सबैभन्दा बढी हङकङ र बेलायतको नागरिकता लिने बढी छन्।

यस्तै, सिंगापुर, अष्ट्रेलिया, कोरिया, क्यानडा, अमेरिकाको नागरिकता लिने पनि बढी मात्रामा छन्। भारतको नागरिकता लिने भने न्यून छन्। समाजशास्त्री उमेशचन्द्र रिजालले नेपाली नागरिकता त्याग्नुको मुख्य कारण नेपालमा स्थिरता नहुनु भएको बताउँछन्।

‘मुलुकमा स्थिरता छैन, श्रमको कुनै मूल्य छैन। तर, बाह्य मुलुकमा पर्याप्त सम्भावना र अवसरहरु छन्’, उनले भने, ‘जहाँ भविष्य सुरक्षित हुन्छ, शिक्षा, स्वास्थ्यको राम्रो प्रबन्ध छ, पारिवारिक खुःख छ, त्यहाँ बसोबास गर्न चाहनु स्वभाविक हो।’

विदेशमा सरकारी जागिर भएका, परिवार उतै भएका नेपाली थुप्रै छन्। त्यस्ता नागरिकले ति मुलुकहरुको नागरिकता प्रमाण पत्र लिन नेपाली नागरिकता त्यागेका हुन्।

समाजशास्त्री रिजाल भन्छन्, ‘हामीकहाँ लामो समय फोहोरी राजनीतिक खेल भयो, युवापुस्ता रोक्न कुनै योजना ल्याइएन। स्थिर भनिएको सरकारले पनि केही गर्न सकेन। सरकार ढाल्ने खेलमात्रै बढी भइरहेको छ। यसैले गर्दा युवाहरुमा वितृष्णा पलाएको छ।’

उनले रोजगारीको ग्यारेन्टी गरी उचित श्रमको मूल्य दिएमा त्यस्ता नागरिकलाई स्वदेशमै रोक्ने सकिने जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .