समाज


निकुञ्जका सेनाको कुटपिटबाट चितवनमा एक युवकको मृत्यु, आफन्तले शव बुझ्न मानेनन्

निकुञ्जका सेनाको कुटपिटबाट चितवनमा एक युवकको मृत्यु, आफन्तले शव बुझ्न मानेनन्

नेपालखबर
साउन ९, २०७७ शुक्रबार ३:२६,

चितवन राष्ट्रिय निकुञ्जका सैनिकको कुटपिटबाट एक युवकको मृत्यु भएको छ ।

चितवनको राप्ती नगरपालिका २ मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको सेनाको कुटपिटबाट बुधबार मृत्यु भएको पीडित परिवारले बताएका छन्।

घटनाको विषयमा छानविन सुरु गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नारायणप्रसाद भट्टराईले जानकारी दिए। मृतक युवकका बुबा विष्णुलाल चेपाङले घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै स्थानीय प्रशासनमा उजुरी गरेका छन्।

‘पीडित पक्षले निकुञ्जका सैनिकको कुटपिटबाट युवकको मृत्यु भएको बताएका छन्,’ सिडिओ भट्टराईले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘घटनाको सत्यतथ्य हामी बुझ्दै छौँ, छानविनपछि सबै कुरा खुल्ला।’

युवकको शव हाल भरतपुरस्थित पुरानो मेडिकल कलेजमा राखिएको छ। दोषीमाथि कारबाही नभएसम्म शव नबुझ्ने अडान आफन्तले लिएका छन्।

चितवनका प्रहरी प्रमुख एसपी पानतीराज गुरुङले पनि प्रहरीले घटनाको छानविन सुरु गर्ने जानकारी दिए। ‘मृतक युवकका आफन्त हिजो साँझ हामीकहाँ आउनु भएको थियो,’ एसपी गुरुङले भने, ‘हिजो रात परेकाले थप कारबाही अघि बढ्न सकेन। आज उहाँहरु आएपछि उजुरी दर्ता गर्नेसहितका काम अघि बढ्छ।’

 राजकुमारसहितका सात जना १ साउनमा घुँगी खोज्न निकुञ्जभित्रको खोलामा गएको बेला निकुञ्ज सुरक्षामा खटिएका सैनिकले नियन्त्रणमा लिएर निर्धात कुटपिट गरेका आरोप पीडित पक्षले लगाएका छन्। कुटपिटको चोटले बिरामी परेका राजकुमारको उपचारको क्रममा मृत्यु भएको हो।

राजकुमारसँगै गिरफ्तार भएका उनका साथी सन्तलाल प्रजाले नियन्त्रणमा लिएपछि सेनाले आफूहरुलाई निर्धात कुटपिट गरेको बताएका छन्।

सेनाले भने उनीहरूलाई नियन्त्रणमा लिएको स्वीकार गरे पनि कुटपिट नगरेको दाबी गरेको छ।

पीडित परिवारले बिहीबार चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई भेटेर दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति दिन माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad