मोरङको हरियाली सामुदायिक वन उपभोक्ता समूहले देशकै उत्कृष्ट गणेशमान सिंह राष्ट्रिय प्रथम पुरस्कार प्राप्त गरेको छ।
पथरी शनिश्चरे नगरपालिका-३ मा रहेको उक्त वन समूह देशभरिकै २२ सय सामुदायिक वन समूहमध्ये उत्कृष्ट हुन सफल भएको हो।
डिभिजन वन कार्यालय (विराटनगर)का प्रमुख विशाल घिमिरेका अनुसारपुरस्कारको राशि १ लाख रुपैयाँ छ।
यस्तै, उत्कृष्ट निजी वन धनीतर्फ सुनवर्सी नगरपालिका–६ (गोविन्दपुर टुकियाखाडी)का नीलबहादुर चौहान (सालबाजे) ले राष्ट्रियस्तरको द्वितीय पुरस्कार प्राप्त गरेका छन्। उक्त पुरस्कारको राशि ७५ हजार रुपैयाँ छ। उनले २३ वर्षदेखि साल प्रजातिका बीउ रोपेर निजी वन हुर्काएका छन्।
गणेशबहादुर शाही राष्ट्रिय संरक्षण पुरस्कारतर्फ मंगलबारे सबडिभिजन कार्यालय (मोरङ) मा कार्यरत कर्मचारी टंकबहादुर विकले द्वितीय पुरस्कार प्राप्त गरेका छन्। उक्त पुरस्कारको राशि ७५ हजार रुपैयाँ छ।
यसैगरी, अतिरिक्त कार्यालयको सम्पूर्ण क्रियाकलापको समग्र मूल्यांकन गर्दै डिभिजन वन कार्यालय (मोरङ)का प्रमुख विशाल घिमिरेलाई पनि सम्मान गरिएको छ।
राष्ट्रिय सामुदायिक वन प्रथम पुरस्कार प्राप्त गर्ने हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष काबुल मगरले आफूले नेतृत्व गरेको २४५.९४ हेक्टरमा फैलिएको वन विसं २०७१ पुसमा हस्तान्तरण भएर लगातार हेरचाह र प्रवद्र्धनमा लागिरहेको जानकारी दिए।
पुरस्कार पाएकामा निकै खुसी लागेको प्रतिक्रिया उनले दिए। मोरङमा हाल हस्तान्तरित १३५ सामुदायिक वन छन्। रासस
प्रतिक्रिया