ad ad

समाज


सीमा सुरक्षा फौज बसेसँगै छाङरु र टिंकरमा खाद्यान्न पुर्‍याउन थालियाे

सीमा सुरक्षा फौज बसेसँगै छाङरु र टिंकरमा खाद्यान्न पुर्‍याउन थालियाे

शरद शर्मा
असार १२, २०७७ शुक्रबार ९:२१,

सरकारले पहिलो पटक दार्चुलाको व्यास गाउँपालिका वडा नंं १ का छाङरु र टिंकरमा खाद्यान्न पुर्‍याउन थालेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले त्यहाँका सर्वसाधारणलाई हेलिकप्टरमार्फत खाद्यान्न पुर्‍याउनका लागि यही असार ३ गते बोलपत्र आह्वान गरेर प्रक्रिया शुरु गरिसकेको छ।

यसअघि भारत र चीनबाट आश्रित त्यहाँका नागरिकलाई खाद्यान्न पुर्‍याउन थालिएको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए। उनका अनुसार ती दुई गाउँका १९२ घरधुरीका परिवारलाई तत्काल दुई सय क्विन्टल चामल पुर्‍याइने छ।

सरकारले यसअघि गत वैशाख ३१ गते सीमा रक्षाका लागि छाङरुमा सीमा निगरानी चौकी स्थापना गरेको थियो। बन्दाबन्दीले गर्दा भारत र चीनबाट खाद्यान्न नआएपछि आफूहरुले ती ठाउँका सर्वसाधारणलाई खाद्यान्न पुर्‍याउन लागेको खनालले बताए।

‘पहिले ती गाउँका मानिसहरु भारत र चीनबाट खाद्यान्न खरिद गरेर जीविकोपार्जन गर्दै आइरहेका थिए’, उनले भने, ‘तर अहिले बन्दाबन्दीले गर्दा भारत र चीनबाट त्यहाँ खाद्यान्न ल्याउने अवस्था भएन। अनि हामीले गाउँपालिकाको समन्वयमा खाद्यान्न पुर्‍याउन थालेका हौँ।’

उनका अनुसार यही महिनाको २५ गतेभित्र त्यहाँका सर्वसाधारणलाई चामल पुर्‍याउने छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले बन्दाबन्दीमा त्यहाँका जनतालाई खाद्यान्न पु¥याउन निर्देशन दिएपछि कम्पनीका नायब महाप्रबन्धक खनालसहितको टोली सुर्खेत गएको छ। कम्पनीले बोलपत्रमार्फत पुर्‍याएको चामल गाउँपालिकाले खरीद गरेर त्यहाँका सर्वसाधारणलाई सरकारी दरमा वितरण गर्नेछ। यसअघि कम्पनीले व्यास गाउँपालिकाकै सुनसेरा भन्ने ठाउँमा भने खाद्यान्न पुर्‍याउँदै आएको थियो।

खनालले सुर्खेतबाट हेलिकप्टरमा ती दुई गाउँमा चामल पुर्‍याई सर्वसाधारणलाई वितरण गरिने बताए। अहिले ती दुई गाउँमा १९२ घरधुरी छन्। महाप्रबन्धक खनालले अब बिक्रीकेन्द्र स्थापना गरेर नियमित रुपमा ती ठाउँमा खाद्यान्न पुर्‍याइने बताए।

गाउँपालिकाका अध्यक्ष दिलीपसिंह बुढाथोकीले बन्दाबन्दीका कारणले भारत र चीनबाट खाद्यान्न नआउने भएपछि कम्पनीलाई पत्र लेखेर खाद्यान्न आपूर्ति गर्न भनिएको बताए। उनका अनुसार कम्पनीले ल्याएको चामल छाङरु र टिंकरका सर्वसाधारणलाई सय/सय क्विन्टल वितरण गरिने छ। ६ महिना सदरमुकाम र ६ महिना आफ्नो गाउँमा बस्ने त्यहाँका बासिन्दा बन्दाबन्दीका समयमा गत वैशाखको दोस्रो हप्ता गाउँपालिकाको सहयोगमा आफ्नो गाउँ पुगेका थिए।

गाउँपालिकाका अध्यक्ष बुढाथोकीले भारतसंँग सहकार्य गरेर सदरमुकाम खलंगाबाट उनीहरुलाई घर पुर्‍याइएको बताए।

‘घर पुगेपछि बन्दाबन्दीको कारणले भारत र चीनबाट खाद्यान्न नआउने भएपछि के खाने भनेर समस्या भयो’, उनले भने, ‘त्यही भएर हामीले सहुलियत दरमा ती मानिसलाई खाद्यान्न उपलब्ध गराउन खाद्य कम्पनीलाई आग्रह गरेका हौँ। त्यसैअनुसार खाद्यान्न आउन थालेको छ।’

उनका अनुसार गाउँपालिकाले खाद्यान्न ल्याउन अग्रीम भुक्तानीका लागि पैसा जम्मा गर्ने र पछि सर्वसाधारणलाई सरकारकै मूल्यमा चामल उपलब्ध गराउने छ। उनले अब छाङरुमा नै बिक्री केन्द्र स्थापना गरेर त्यहाँका बाासिन्दालाई नियमित खाद्यान्न वितरण गरिने बताए।

फापर, उवा (गहुँको प्रजाति) र आलु त्यहाँका मुख्य बाली हुन्। उनीहरु मंसिरदेखि वैशाखसम्म सदरमुकाम खलंगा र जेठदेखि कात्तिकसम्म आफ्नै गाउँ बस्ने गर्छन्। गाउँमा बसेका बेला उनीहरु असारदेखि कात्तिकसम्म नेपाल र भारतबाट सामान लिएर तिब्वतको ताक्लाकोटमा गई व्यापार गर्छन्। त्यहाँबाट ताक्लाकोट पुग्न १२ घण्टा लाग्ने गरेको छ।

उनीहरु भारत र चीनमा गरिने व्पापारबाट आम्दानी गरेको पैसाले आफूलाई चाहिएको उपभोग्य वस्तु किन्ने गर्छन्। गाउँपालिकाका अध्यक्ष बुढाथोकीका अनुसार करीब एक हजार जनसंख्या रहेको ती दुई गाउँमा अहिले तीनचार सय मात्र मानिस छन्। अन्य मानिस रोजगारीका लागि नेपालका अन्य ठाउँ, भारत र चीन (तिब्बत) जाने गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .