ad ad

समाज


५ लाखको पीसीआर परीक्षण गर्न अझै ६ महिना लाग्छ, कोरोनाले कति ज्यान लेला?

५ लाखको पीसीआर परीक्षण गर्न अझै ६ महिना लाग्छ, कोरोनाले कति ज्यान लेला?

सागर न्यौपाने
जेठ २०, २०७७ मंगलबार १५:३७,

८ दिनअघि राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कुल जनसंख्याको कम्तीमा दुई प्रतिशतको कोरोना भाइरस परीक्षण गरिने बताएका थिए।

नेपालको जनसंख्या २ करोड ९९ लाख ६६ हजार छ, यसको दुई प्रतिशत भनेको करिब ६ लाख हुन आउँछ। १२ जेठमा प्रधानमन्त्री सम्बोधन गर्दासम्म ५१ हजार ६ सय ४२ जनाको परीक्षण भएको थियो।

त्यसको ८ दिनपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार मुलुकभर ७५ हजार ३ सय ४३ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ।

प्रधानमन्त्रीले भनेजति संख्या पुर्‍याउन अझै ५ लाख २४ हजार ६ सय ५७ जनाको परीक्षण गर्नुपर्ने हुन्छ।

सोमबार २ हजार ३ सय १० जना र मंगलबार ३ हजार ४ सय ४० जनाको स्वाव परीक्षण भएको मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।

यही दरले परीक्षण गर्ने हो भने ६ लाखको परीक्षण गर्न ७ महिना लाग्ने देखिन्छ।

अहिले नेपालमा २१ स्थानमा रहेको प्रयोगशालाबाट पीसीआर परीक्षण हुँदै आएको छ।

त्यसो त दैनिक रुपमा परीक्षणको दायरा बढाउन प्रयोगशाला समेत थप गर्ने प्रधानमन्त्री ओलीले बताएका थिए। तर, ८ दिनसम्म कुनै प्रयोगशाला थप भएको छैन। बरु भएका प्रयोगशालामा प्राविधिक समस्या आई परीक्षण नै अवरुद्ध भएको छ।

‘केही प्रयोगशालामा प्राविधिक समस्या आएर परीक्षण हुन सकेको छैन,’ मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने।

कोशी अञ्चल अस्पताल विराटनगरमा आइतबार र सोमबार मेसिन बिग्रेर परीक्षण नै अवरुद्ध भयो।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा जोडिएको पीसीआर मेसिनमा मंगलबार साँझसम्म जम्मा १९ वटा स्वाबको मात्र परीक्षण भएको छ।

मंगलबार साँझसम्म प्रदेश १ मा १ सय ६८, प्रदेश २ मा ८ सय १६, बागमतीमा ५४, गण्डकीमा ३७, प्रदेश ५ मा ६ सय ९९, कर्णाली प्रदेशमा २ सय ६२ र सुदूरपश्चिममा ७३ जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेश २ र प्रदेश ५ मा भारतबाट नेपाल फर्कने संख्या बढ्दै गएको छ, त्यहाँ तत्काल परीक्षणको दायरा बढाउन जरुरी रहेको प्रदेशहरुले जनाएका छन्। अहिलेसम्म कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भइसकेको छ।

भारत लगायतका देशबाट दैनिक सयौं नेपाली नेपाल प्रवेश गरिहँदा परीक्षणको दायरा तीव्र बनाउन विज्ञहरुले सुझाव दिएका छन्।

भारतमा रोजगारी गर्न गएका नेपालीहरु फर्किने क्रम जारी रहँदा संक्रमितको संख्या पनि बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

‘भारतबाट आउने संख्या बढेपछि संक्रमित संख्या बढ्दै गएको छ,’ उनले भने।

वैशाख २६ गतेसम्ममा संक्रमितको संख्या जम्मा १ सय थियो। त्यसको २६ दिनमा त्यो संख्या बढेर २१ सय पुगेको मन्त्रालयले जनाएको छ।

प्रयोगशालापिच्छे समस्या
नेपालमा रहेको सबैभन्दा ठूलो र मुख्य प्रयोगशालामै तीव्र रुपमा परीक्षण हुन सकेको छैन।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा २४ घण्टामा ७ सय मात्र परीक्षण भएको छ। पछिल्लो ४८ घण्टामा १ हजार ४ सय ३८ जनाको परीक्षण भएको छ।

वीर अस्पतालमा रहेको मेसिनमा परीक्षण नै हुन सकेको छैन। भारतबाट ल्याएको किट भएकोले ‘म्यानुअल्ली’ परीक्षण गर्नुपर्दा ढिलाइ भएको वीर अस्पतालका निर्देशक केदारप्रसाद सेन्चुरीले बताए।

‘हाम्रो ल्याबमा दैनिक परीक्षण त भइरहेको छ तर, भारतीय किटको प्रयोग गर्नुपर्दा ढिलाइ भइरहेको छ,’ डा. सेन्चुरीले नेपालखबरसँग भने, ‘दैनिक १ सय २० जनासम्मको परीक्षण भएको थियो अहिले त्यो संख्या ७०/८० मा झरेको छ।’

सरकारले कोरोना उपचार गर्ने अस्पताल तोकेको पाटन अस्पतालमा अहिलेसम्म ८ सय ७८ को स्वाब परीक्षण भएको छ।

‘अस्पतालमा रहेको मेसिनको क्षमता एक पटकमा ९२ देखि ९४ हो,’ अस्पतालका निर्देशक प्रा.डा. विष्णु शर्माले भने, ‘तर कहिले नमुना बढी आउँछ कहिले कम आउँछ।’

डा. शर्माका अनुसार कतिपय अवस्थामा प्राविधिक समस्याका कारण नतिजा प्रष्ट नआउँदा स्वावबाई दोहोर्‍याएर परीक्षण पनि गर्नुपर्ने हुन्छ।

सबैभन्दा बढी कोरोना संक्रमित रहेको प्रदेश २ मा परीक्षण राम्रो हुन सकेको छैन।

अहिलेसम्म ८ सय १५ जना संक्रमित रहेको प्रदेश २ मा कोरोना परीक्षण राम्रो हुन नसकेपछि काठमाडौं ल्याएर स्वाब परीक्षण गरिने गरेको छ।

प्रदेशमा अहिले दुईवटा रियल टाइम पीसीआर मेसिन जडान छ। झण्डै डेढ महिना अघि वीरगञ्जमा जडान भएको रियल टाइम पीसीआर मेसिन मेसिनले दैनिक २ सय ५० भन्दा बढी परीक्षण रिपोर्ट दिँदै आएको प्रदेश २ को स्वास्थ्य प्रयोगशालाका अधिकृत युगलकिशोर यादवले बताए।

यसअघि प्रदेश २ सरकारले जडान गरिदिएको पोर्टेबल मेसिनले गलत रिपोर्ट दिन थालेपछि दुवैलाई बन्द गरिएको छ।

उता जनकपुरमा जडान गरिएको मेसिनले अझैसम्म परीक्षण नै गरेको छैन।

जनकपुरको पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा जडान भएको मेसिन परीक्षणमै रहेको युगलकिशोर यादवले बताए। यस्तै राजविराजमा पनि पठाइएको रियल टाइम पीसीआर मेसिन पनि सञ्चालनमा छ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पछिल्लो ४८ घण्टामा जम्मा ४ सय ६० स्वाब परीक्षण भएको छ।

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला, राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला, चितवनले दैनिक सय देखि १ सय ४० वटाको परीक्षण गरिरहेको अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले जानकारी दिए।

उनले ल्याबमा अनुभवी विज्ञ डाक्टर नभएको बताए।

‘हाम्रो ल्याबमा ६ जनाले काम गरिरहेका छन्, जनशक्ति अभाव छ, बिहान ९ बजे आएपछि राति १० बजेसम्म काम गर्नुपर्ने बाध्यता छ,’ उनले भने।

यसका साथै धुलिखेल अस्पताल, काभ्रेमा टेकु अस्पतालबाट समेत स्वाब पठाइने गरेको अस्पतालका व्यवस्थापक दीपक दाहालले बताए।

‘अस्पतालमा रहेको ल्याबको परीक्षण क्षमता २ सय हो तर, सधैँ स्वाब त्यसरी आउँदैन,’ दाहालले नेपालखबरसँग भने, ‘अहिलेसम्म हाम्रो ल्याबबाट २ हजार ६ सय ५७ स्वाव परीक्षण भइसकेको छ, आज २ सय ३१ परीक्षणको क्रममा छ।’

यस आधारमा चितवन र काभ्रेमा दैनिक सय बढी परीक्षण नै हुँदैन।

यसैगरी किटजन्य रोग अनसन्धान तथा तालिम केन्द्र हेटौँडा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देही, भेरी अस्पताल नेपालगञ्ज, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ, सुर्खेत प्रादेशिक अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सेती प्रादेशिक अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा पनि कोरोनाको पीसीआर विधिबाट परीक्षण भइरहेको छ।

डा. देवकोटाले काठमाडौं उपत्यकासहित मुख्य सहरमा अटोमेटिक मेसिन ल्याएर परीक्षणलाई तीव्रता दिने तयारी भइरहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .