ad ad

समाज


सुरक्षा विज्ञ भन्छन्ः भारतले सबै नेपाली पठाइदिन सक्छ, त्यहीअनुसार तयारी गरौँ

सुरक्षा विज्ञ भन्छन्ः भारतले सबै नेपाली पठाइदिन सक्छ, त्यहीअनुसार तयारी गरौँ

उजिर कार्की
जेठ ९, २०७७ शुक्रबार १५:४९,

सीमाका विषयमा तिक्तता बढ्दै जाँदा भारतले त्यहाँ रहेका सबै नेपाली फिर्ता पठाउन सक्ने भन्दै सरकारले सोहीअनुसारको तयारी गर्नुपर्ने सुझाव सुरक्षा मामिलाका जानकारहरुले दिएका छन्।

त्यसैले लकडाउन लम्बिँदै जाँदा आपूर्तिलगायतका विषयमा पनि तयारी गर्नुपर्ने उनीहरुको भनाइ छ।

‘भारतसँग चिसोपन बढ्दै छ। भोलि उसले सबै नेपालीलाई पठाइदिन पनि सक्छ,’ पूर्व गृहसचिव गोविन्द कुसुमले भने, ‘त्यस्तो भयो भने कसरी व्यवस्थापन गर्ने, त्यसको तयारी गर्नुपर्छ।’

भारतले अत्यावश्यक वस्तुको आपूर्ति रोक्नसक्ने संकेत गर्दै उनले सरकारले विकल्पहरुको खोजी गर्न पनि सुझाए।

पेट्रोल रोक्दा तत्काललाई केही असर नगर्ला तर ग्यास बन्द भयो भने गाह्रो पर्छ। त्यस्तो अवस्थामा के गर्ने त्यो पनि सोच्नुपर्छ,’ उनले भने।

उनले भारतबाट मानिस आउने क्रम नरोकिएसम्म लकडाउन हटाउन नहुने पनि स्पष्ट पारे।

‘भारतबाट हाम्रो क्षमताभन्दा बढी मान्छे आए, हामीले व्यवस्थापन गर्न सकेनौं,’ उनले भने, ‘जबसम्म भारतबाट मान्छे आउने क्रम बन्द हुँदैन, तब सम्म लकडाउन गर्नुपर्छ।’

काठमाडौँमा संक्रमण फैलिए नियन्त्रणमा निकै मुस्किल हुने उनी बताउँछन्।

‘भोलि काठमाडौंमा फैलियो भने स्थिति कल्पना गरेभन्दा बाहिर जान्छ। अहिले नै काठमाडौंका घर घरमा गएर परीक्षण गर्नुपर्छ,’ उनले भने।

नेपालमा चैत ११ गते लकडाउन सुरु हुँदा जम्मा दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। अहिले ५ सय नाघिसकेको छ। कोरोना संक्रमणकै कारण ३ जनाको ज्यान गइसकेको छ।

पछिल्लो पटक सरकारले १५ दिन थप गर्दै लकडाउनको अवधि जेठ २० गतेसम्म पुर्‍याएको छ। लकडाउन लम्बिरहँदा एकातिर संक्रमण बढिरहेको छ भने अर्कोतिर मानिसहरुको आवतजावत पनि रोकिएको छैन।

भारतीय सीमाबाट दैनिक सयौं मानिस भित्रिरहेका छन्। त्यसले कोरोनाको जोखिम झनै बढाएको छ।

संक्रमण बढिरहँदा लकडाउनको प्रभावकारितामाथि पनि प्रश्न उठेको छ। यद्यपि लकडाउन नगरिए स्थिति सम्हाल्नै नसकिनेगरी भयंकर हुने कुसुम बताउँछन्।

‘लकडाउन नगर्ने हो भने सबै मान्छे सडकमा आउँछन्। हामीले थेग्नै नसक्ने गरी संक्रमण देखिन थाल्छ,’ उनले भने।

कमजोर तयारी
लकडाउन पालना गराउने र भारतमा रहेका नेपालीलाई देश भित्र्याउने मामिलामा सरकारले गम्भीर गल्ती गरेको पूर्वएआईजी केशव बराल बताउँछन्।

‘आफ्ना नागरिकलाई आउन दिनु पथ्र्यो। सिमानामा रोक्दा लुकेर उनीहरु भित्रिए, जुन संक्रमण फैलिने माध्यम बन्यो,’ उनले भने, ‘बाहिरबाट आउने मान्छेलाई व्यवस्थित तरिकाले राख्न सकेको भए हुन्थ्यो, त्यहाँनेर लापरबाही भयो।’

लकडाउन लम्ब्याइरहँदा सरकारको तयारीको पक्ष भने अत्यन्तै कमजोर भएको उनको भनाइ छ।

‘कोरोनाको रुप कसरी विकराल बन्छ भनेर पूर्वअनुमान गर्न सकेनन् हाम्रा निकायले। चीनले रोक्नलाई जुन प्रयास गरिरहेको थियो, त्यसबारे हामीले जानकारी राखेनौँ,’ बरालले भने, ‘हाम्रा संयन्त्रहरु फेल भए।’

सरकारको व्यवस्थापकीय कमजोरी गर्दा अब बिरामी भएपछि मात्रै थाहा पाइने अवस्था आएको उनको आरोप छ।

‘संक्रमित मान्छेहरु कहाँ कहाँ पुगिसके र रोग फैलिसक्यो,’ उनले भने, ‘त्यसैले अब कसलाई कहाँबाट संक्रमण भयो भन्ने नै थाहा नहुने अवस्था छ।’

लकडाउन उल्लंघन गर्ने एक लाख ६० हजार मान्छे र ९० हजार सवारी साधनलाई कारबाही गरेको प्रहरी प्रवक्ता डीआईजी निरज शाही बताउँछन्।

‘हाम्रो प्रयासले कहीँ न कहीँ त संक्रमण घटाउन मद्दत गरेकै छ,’ डीआईजी शाही भन्छन्, ‘तर पासको दुरुपयोग गर्नेहरु छन्। अनावश्यक रुपमा हिँडिदिनु भएन, नागरिकले पनि आफ्नो दायित्व बिर्सिनुभएन।’

लकडाउन पालनामा सरकारको कमजोरी मात्रै नभएर नागरिकले पनि साथ नदिएको बताउँछन् पूर्वसचिव कुसुम।

‘लकडाउन चीन, कोरिया जस्तो हामीले गर्न सकेनौं। हामी नागरिक पनि सचेत भएनौं,’ उनले भने, ‘मर्निङवाकमा समूहमा किन जानु पर्‍यो? तरकारी किन्न भीडमा मास्क नलाई जान्छन्, बेच्नेले पनि उसैगरी वास्ता गरेका छैनन्। व्यक्ति व्यक्तिमा प्रहरी गएर कारबाही गर्न सक्दैन।’

पछिल्लो समय सरकारले कतिपय संक्रमितको कन्ट्याक्ट ट्रेसिङ समेत गर्न सकेको छैन। ज्यान गुमाएका तीनमध्ये दुई जनाको परीक्षणबाट संक्रमण पुष्टि नहुँदै मृत्यु भएको थियो।

स्वास्थ्यकर्मीदेखि सुरक्षाकर्मी समेत जोखिममा देखिन थालेका छन्। भारतबाट नेपालीहरु आइरहँदा सिमानामा व्यवस्थित क्वारेन्टिन समेत छैनन्। भारतबाट आएर कतिपय मानिस सीधै परिवारसँग बसेका छन्। ती सबैलाई क्वारेन्टिनमा राख्न ढिला भइसकेको कुसुमको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .