समाज


के कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका मानिसबाट कोरोना सर्छ?

के कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका मानिसबाट कोरोना सर्छ?

नेपालखबर
जेठ ४, २०७७ आइतबार १३:१४,

संक्रमितमध्ये हालसम्म ३ लाख १३ हजारको मृत्यु भइसक्दा १८ लाख २७ हजार उपचारपछि स्वस्थ बनेका छन्।

विश्वव्यापी बनिसकेको कोरोना महामारीले हाल विश्व आक्रान्त बनेको छ। दैनिक हजारौं मानिसहरुको ज्यान गइरहँदा दैनिक हजारौं संक्रमित थपिइरहेका छन्।

त्यसमाथि कोरोना संक्रमण पुष्टि भएका मानिससँग उनका आफन्तले समेत अस्पतालमा गएर भेट्न पाउँदैनन्।

त्यतिमात्र नभएर कोरोनाकै कारण ज्यान गुमाए मृतकको अन्त्येष्टीमा मानिसहरु जम्मा हुन पाउँदैनन्। यसले परिवारमा थप पीडा प्रदान गर्ने गरेको छ।

भाइरस सर्ने त्रास भएपछि कोरोना संक्रमित र संक्रमणबाट मृत्यु भएका मानिसलाई भेट्न प्राय विश्वभर प्रतिबन्ध लगाइएको छ।

यसबीचमा कोरोनाबाट मृत्यु भएका मानिसबाट के कोरोनाको संक्रमण फैलनसक्छ? भन्ने प्रश्न उठ्न थालेको छ।

त्यतिमात्र नभएर संक्रमितको अन्त्येष्टी संस्कारअनुसार गर्नु सुरक्षित छ कि छैन र शवलाई जलाउनु ठीक कि गाड्नु भन्ने प्रश्नहरु पनि आम मानिसको मनमा उब्जन थालेको छ।

विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओका अनुसार आवश्यक सावधानी अपनाइएमा कोरोनाबाट मृत्यु भएका व्यक्तिको शरीरबाट कोभिड १९ सर्छ भनेर डराउनुपर्ने कुनै कारण छैन।

विज्ञहरुका अनुसार यो रोग लगाउने सार्स–कोभ–२ भाइरस विशेषगरी मानिसहरूले निकाल्ने थुक वा र्‍याल जस्ता कुराका छिटाहरूबाट सर्छ।

आजसम्म कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शरीरबाट जीवित मान्छेमा यो भाइरस सरेको प्रमाण नभेटिएको पान–अमेरिकन हेल्थ अर्गनाइजेसनका एकजना प्रवक्ता विलियम अडुक्रोले बताएका छन्।

यसको मतलब कोरोना मृत व्यक्तिबाट सर्दैन भन्ने नभएको उनको भनाइ छ। उनका अनुसार मृतकलाई चुम्बन, अंकमाल तथा छुने काम नगरे कोरोना सर्दैन। कोरोनाविरुद्धको उपाय अबलम्ब गरे कोरोना नसर्ने विज्ञहरु बताउँछन्।

कोभिड–१९ लागेर ज्यान गएकाहरुका मृतकका आफन्त र साथीहरुले शव गाड्ने वा जलाउने कार्य सुरक्षितरूपमा व्यवसायिक मानिसहरूबाट गराए यसले पनि कोरोना संक्रमणबाट जोगाउने बताइएको छ।

अन्त्येष्टीका क्रममा कयौं देशमा मानिसहरुलाई उपस्थित हुन प्रतिबन्ध लगाइएको छ। तर डब्लूएचओले मृतकका आफन्त तथा साथीहरूले अन्तिम संस्कार हेर्न पाउने बताएको छ। यद्यपि उनीहरूले कोरोनाविरुद्धको उपाय भने अबलम्ब गर्नुपर्दछ।

डब्लूएचओले भनेको छ,‘शवलाई चुम्बन गर्न, छुन र अंकमाल गर्न पाइँदैन। शव हेरिसकेपछि उनीहरूले साबुन पानिले हात धुनुपर्नेछ। शव हेर्नका लागि कम्तीमा १ मिटरको दूरी कायम राख्नुपर्नेछ, मास्क लगाएको हुनुपर्छ।’

डब्लूएचओले बालबालिका तथा ६० वर्ष माथिका र कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसहरूले सिधै शवसँग सम्पर्कमा आउन नुहने पनि उल्लेख गरेको छ।

डब्लूएचओले संस्कारअनुसार शवलाई गाड्न र जलाउन सकिने पनि जनाएको छ।

डब्लूएचओ भन्छ,‘सरुवा रोग लागेका मानिसको शवलाई जलाउनु पर्छ भन्ने आम मान्यता रहेको देखिन्छ तर त्यो सत्य होइन। अन्तिम संस्कार भनेको सांस्कृतिक छनोट र उपलब्ध स्रोतको कुरा हो।’

यसबाहेक अन्तिम संस्कारका क्रममा शवहरूको व्यवस्थापन गर्दा पञ्जा लगाउँदा र तुरुन्तै साबुन पानीले हात धुँदा कोरोना सर्दैन। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad