प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नागरिकलाई केन्द्रबिन्दुमा राखेर उनीहरूको समस्या एवम् गुनासोको उचित सम्बोधनका साथै नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखी कार्यसम्पादन गर्न निर्देशन दिएका छन्।
नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तुमा बुधबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिएका हुन्।
प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कार्यालयहरूमा आउने सेवाग्राहीहरूलाई छिटो र छरितो काम गरी दिने प्रभावमा पारी वा प्रलोभन देखाउने जस्ता गतिविधिमा संलग्न बिचौलियाहरूलाई तत्काल कानुनी दायरामा ल्याई बिचौलिया रहित, कानुन सम्मत, पारदर्शी र छिटो छरितो प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिए।
प्रत्येक प्रहरी कार्यालयहरूले नागरिक सहजकर्ता व्यवस्था गरी सेवाग्राहीहरूलाई सरल र सहज रूपमा प्रहरी सेवा प्रदान गरी भए गरेका प्रगति विवरणको सूचना सेवाग्राहीलाई एसएमएस मार्फत जानकारी गराउन समेत उनले निर्देशन दिए।
शून्य सहनशीलताको नीति अनुरूप प्रचलित कानुनद्वारा निर्देशित विधि र पद्धतिको पालना गर्दै निष्पक्ष, पारदर्शी र गुनासो रहित सेवा प्रवाह गर्न सबै प्रहरी कर्मचारीहरू सदैव कटिबद्ध हुनुपर्नेमा उनले जोड दिए।
प्रहरी महानिरीक्षक कार्कीले पारदर्शी एवम् बस्तुनिष्ठ अपराध अनुसन्धानमा विशेष जोड दिनुपर्ने बताउँदै सीमा नाकामा हुनसक्ने आपराधिक गतिविधि, गुण्डागर्दी, तस्करी नियन्त्रण एवम् प्राकृतिक स्रोतको दोहन जस्ता गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन खरो रूपमा प्रस्तुत हुन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर र कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदीले समेत समसामयिक विषयमा निर्देशन दिएका थिए।
कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले लगायतको उपस्थितिको साथै काठमाडौँ उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत मुद्दा चल्ने इकाईसम्मका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो।
Shares

प्रतिक्रिया