सर्वोच्च अदालतमा रहेका आफ्ना चिनजानको न्यायाधीशलाई भनसुन गरी थुनामा रहेका व्यक्तिलाई धरौटीमा छुटाई दिन्छु भन्दै नौ लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौँबाट पतिपत्नी नै पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौँ, बूढानीलकण्ठ नगरपालिका मण्डिखाटार बस्दै आएका ४५ वर्षीय हरिबहादुर थापा मगर र उनकी पत्नी ३७ वर्षीया मिठु मगर रहेकी जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।
गएको भदौ २२ र २३ गते भएको जेनजी प्रदर्शनको क्रममा आपराधिक क्रियाकलापमा संलग्न रही हाल कारागार कार्यालय काठमाडौँ सुन्धारामा पुर्पक्षको लागि थुनामा रहेका ३ जना प्रतिवादीलाई छुटाउने भन्दै उनीहरुले रमक लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
आफैँ थुनामा रहेको बखत हरिबहादुर थापा मगरले सर्वोच्च अदालतमा आफ्नो चिनजानको न्यायाधीशलाई भनसुन गरी धरौटीमा छुटाई दिन्छु, धरौटी बापतको रकम दिनु पर्छ भनी आश्वासन दिई तीनजनाबाट नौ लाख रुपैयाँ असुली गरेका थिए।
उक्त रकम धरौटी बापत र वकिललाई बहस खर्च चाहिन्छ भन्दै उनले श्रीमती मिठु मगरको खातामा जम्मा गर्न लगाएको प्रहरीले जनाएको छ।
उनीहरुमाथि थप अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ।
Shares

प्रतिक्रिया