उदयपुरको कटारीमा हावाहुरीले रुख ढल्दा घाइते भएका दुई जनालाई थप उपचारको लागि विराटनगर लगिएको छ।
हावाहुरीले ढालेको रुखले लागेर गम्भीर घाइते भएका कटारी नगरपालिका –५ का ४६ वर्षीय लीलबहादुर दनुवार र २० वर्षीय कमलाकुमारी पुलामी मगरलाई थप उपचारको लागि आज बिहान विराटनगर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिए।
सोमबार साँझ आएको हुरीको कारण कटारीमा दुई जनाको मृत्यु भएको छ।
कटारी–८ थलियाटारका ४९ वर्षीया मीनामाया तामाङको कुटमेरो रुखको हाँगाले लागेर मृत्यु भएको हो।
यस्तै कटारी–५ तीनकुने चोक स्थत राधाकृष्ण मन्दिर नजिकै हुरीबतासका कारण सखुवाको रुख ढलेर लाग्दा ६४ वर्षीय वीरेन्द्र चौधरीको पनि मृत्यु भएको छ।
उक्त घटनामा कटारी–८ की स्थानीय २० वर्षीय कमलाकुमारी पुलामीमगर, कटारी–५ की पाँच वर्षीय बिनिशा, सोही वडाका २७ वर्षीय युवराज कार्की, प्रेमचन्द्र दनुवार, लीलबहादुर दनुवार र १६ वर्षीय अस्मिता परियार घाइते भएका छन्।
घाइतेमध्ये चार जना कटारी अस्पतालमा सामान्य उपचारपछि ‘डिस्चार्ज’ भएका छन्।
मृतकको शव परीक्षणका लागि कटारी अस्पतालमा राखिएको छ।
सोमबार साँझ आएको हुरीबतासको कारण उदयपुर, सिन्धुली, सर्लाही, रौतहट, महोत्तरी, धनुषा लगायतका जिल्लामा सयाैँ घरको छाना उडाउनुका साथै बालीनालीमासमेत ठूलो क्षति पुगेको छ।
Shares

प्रतिक्रिया