चिकित्सा शिक्षामा त्रिभुवन विश्वविद्यालय विश्वस्तरमै प्रतिस्पर्धी देखिएको छ। टाइम्स हायर एजुकेसन (टीएचई) ले विश्वभरका ६ हजार विश्वविद्यालयका विषयमा गरेको तुलनात्मक अध्ययनले त्रिविको चिकित्सा शिक्षा उत्कृष्ट रहेको पुष्टि गरेको हो।
टीएचईले सार्वजनिक गरेको वर्ल्ड युनिभर्सिटी र्याङ्किङ (२०२६) को प्रतिवेदनअनुसार त्रिविको चिकित्सा शिक्षा ६०१ भित्र परेको छ। विश्वविद्यालय भने त्रिवि १५०१ भित्र परेको छ।
त्रिविले वर्ल्ड युनिभर्सिटी र्याङ्किङ २०२६ विश्लेषण गर्न भौतिकशास्त्र केन्द्रीय विभागका प्रमुख प्राडा नारायण अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो। समितिले अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशन भएका अनुसन्धान अध्ययन गर्नेदेखि त्रिविका कलेजहरूका विवरण उपलब्ध गराएका थिए।
संयोजक अधिकारीले चिकित्सा क्षेत्रको नतिजा उत्साहजनक आएको बताए। उनी यो नतिजा छिमेकी देश भारतका शीर्ष ६ वटा विश्वविद्यालयबाहेक अन्यमा सबैभन्दा उत्कृष्ट रहेको बताउँछन्। यसले नेपालको चिकित्सा शिक्षा विश्वस्तरको र गुणस्तरीय छ भन्ने कुरालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रमाणित गरेको उनको भनाइ छ।
सन् २०१९ देखि त्रिविले टाइम्स हायर एजुकेसन (टीएचई) मा सहभागिता जनाउन थालेको थियो। मेडिकल शिक्षा भने पहिलो पटक वरीयतामा परेको हो। वरीयतामा नेपालको चिकित्सा शिक्षा भारत, बंगलादेश, चीनभन्दा पछाडि नै छ।
विषयगत वरीयतामा भाग लिनका लागि अन्तर्राष्ट्रिय जर्नलमा अनुसन्धान प्रकाशन गरेको हुनुपर्छ। विषय, साइटेसनलगायतका मापदण्ड पूरा गर्नुपर्छ। त्यसका आधारमा टीएचईले अध्ययन गर्छ।
विषयगत रुपमा टीएचईले त्रिविको वरीयता ११ फरक विषयहरूमा दिएको छ। आट्र्स एन्ड ह्युमानिटिज, बिजनेस एन्ड इकोनोमिक्स, कम्प्युटर साइन्स, एजुकेसन, इन्जिनियरिङ, ल (कानुन), लाइफ साइन्स, मेडिकल साइन्स, फिजिकल साइन्स, साइकोलोजी र सोसल साइन्स गरी ११ वटा मुख्य विषयमा विषयगत वरीयता निर्धारण गरेको थियो। जसमा त्रिवि मानविकीतर्फ कुनै वरीयतामा नपर्दा बिजनेस एन्ड इकोनोमिक्समा १००१ नम्बरमा परेको छ।
कम्प्युटर साइन्स, कानुन, मनोविज्ञानमा कुनै वरीयता नपाएको त्रिविले एजुकेसन स्टडिजमा ८०१ औँ वरीयता पाएको छ। त्यसैगरी इन्जिनियरिङतर्फ १००१–१२५० वरीयता प्राप्त गर्दा लाइफ साइन्सेजमा १००१, मेडिकल साइन्स एन्ड हेल्थमा ६०१–८०० भित्र पर्न सफल भएको छ। फिजिकल साइन्समा त्रिवि १२५१ औँ स्थान प्राप्त गरेको छ भने सोसल साइन्सेजमा ८०१–१००० भित्र परेको छ।
आईओएम कसरी सफल भयो?
२०३५ सालमा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले पहिलो पटक नेपालमै स्नातक (एमबीबीएस) कार्यक्रम सुरु गरेको हो। एमबीबीएस अध्ययन गर्न प्रमाणपत्र तह उत्तीर्ण स्वास्थ्य सहायक, नर्स, फार्मासिस्ट, ल्याब सहायक, रेडियोग्राफरलगायतका स्वास्थ्यकर्मीमध्येबाट २२ जनालाई छनोट गरी एमबीबीएस पढाउन थालिएको थियो। आईओएमले २०५० सालदेखि ४० जना पढाउन थाल्यो।
हाल आईओएमले ७ वटा आंगिक क्याम्पस र १४ वटा निजी मेडिकल कलेजलाई सम्बन्धन दिएको छ। तीमध्ये ५ वटा मेडिकल कलेजले एमबीबीएस, एमडी÷एमएस, डीएम÷एमसीएच पढाउँछन्।
टाइम्स हायर एजुकेसनको प्रतिवेदनको वरीयतामा माथि आउने मुख्य कारण अनुसन्धान हो। अन्तर्राष्ट्रिय जर्नलमा अन्य विषयको तुलनामा चिकित्सा विषयका अनुसन्धान बढी प्रकाशन हुने गरेका छन्। त्यसले पनि चिकित्सा शिक्षा अगाडि देखिएको आईओएमका डिन प्राडा मोहनराज शर्मा बताउँछन्। उनले चिकित्सा शिक्षामा अनुसन्धान गर्ने संस्कृति विकास हुँदै गएका कारण नेपालको चिकित्सा शिक्षा राम्रो बनेको उनको भनाइ छ।
‘यसले नेपालका चिकित्सक पनि अब्बल छन्, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्छन् भन्ने पुष्टि गरेको छ। चिकित्सकको काम बिरामी हेर्ने मात्र होइन, अनुसन्धान गर्ने पनि हो। अनुसन्धानले चिकित्सकको क्षमता विस्तार गर्छ। आगामी वर्षमा यो वरीयता सुधार गर्दै लैजान्छौँ,’ उनले नेपालखबरलाई बताए, ‘५ सय वरीयता भित्र पर्ने हाम्रो लक्ष्य छ।’
२०७२ को भूकम्पपछि ट्रमा सम्बन्धी अनुसन्धान र कोरोना भाइरस देखिएपछि भएका अनुसन्धानले चिकित्सा शिक्षाको वरीयता ६ सयभित्र परेको उनले बताए।
‘नेपालका चिकित्सक विदेशमा पढेर आएका भएकै कारण उत्कृष्ट शिक्षा पाउने र अभ्यास हुने थलो बन्दै गयो। चिकित्सक भनेको बिरामी हेर्ने मात्र होइन, अनुसन्धान पनि गर्ने हो भन्ने स्थापित हुँदै गएको छ,’ उनले बताए।
अनुसन्धान गर्न सक्षम संकाय र अनुसन्धान गर्न केन्द्रित विभाग भएका कारण त्रिविको चिकित्साशिक्षा राम्रो भएको उनको तर्क छ। त्रिवि अन्तर्गतको आईओएममा डीएम, एमसीएचमा अन्तर्राष्ट्रिय जर्नलमा एउटा अनुसन्धान प्रकाशन नगरी परीक्षामा पास हुन पाइँदैन।
अनुसन्धानलाई प्रोत्साहन गर्न आईओएमले उत्कृष्ट अनुसन्धानलाई अवार्ड दिन सुरु गर्ने शर्माले बताए।
‘चिकित्सा शिक्षामा अनुसन्धान निकै महत्वपूर्ण हुन्छ। त्यसले चिकित्सकको क्षमता विस्तार गर्दै लैजान्छ। त्यसकारण पनि हामीले चिकित्सकहरूलाई अन्तर्राष्ट्रिय सम्मेलनमा जान प्रोत्साहन गर्ने, पठाउने र अनुसन्धान गर्नेलाई प्राथमिकतामा राखेका छौँ। त्यसले हाम्रो स्तर भविष्यमा अझै सुधार गर्दै लैजान्छ,’ शर्माले भने।
‘पहिले झन् राम्रो थियो’
चिकित्साशास्त्र अध्ययन संस्थानका दोस्रो ब्याचमा विद्यार्थी रहेका जनस्वास्थ्य विज्ञ डा बाबुराम मरासिनी टीएचईको प्रतिवेदनले त्रिविको चिकित्सा शिक्षा विश्वमा राम्रो देखिए पनि अझ राम्रो बनाउन सकिने बताउँछन्। उनले केही विषय र पाठ्यक्रम सुधारमा लागेको भए आईओएमको स्तर धेरैअघि नै सुधार भइसक्ने बताए।
उनका अनुसार आईओएमले नेपालको स्वास्थ्य समस्या के छ भन्ने जुम्ला, बारा र तनहुँ जिल्लामा तीन सर्वे गरेर पाठ्यक्रम बनाएको थियो। जनताका स्वास्थ्य समस्या पहिचान गरेर पाठ्यक्रम तयार भएको थियो। प्रतिवेदनबाट आएको समस्याका आधारमा पाठ्यक्रम बनेको भनेर विश्वभर चर्चा भएको उनले सुनाए।
‘सन् १९७८ आईओएमले पाठ्यक्रमको फ्रेमवर्क बनाउँदा विद्यार्थीले पढ्नुपर्ने विषय बनाएको थियो। कोर्स बनाउँदा सर्वे गरिएको थियो। नेपालको स्वास्थ्य समस्या के छ भन्ने पहिचान गरियो,’ उनी भन्छन्, ‘नाक, कान, घाँटी, आँखाको समस्या, महिला तथा बालबालिकालाई हुने समस्या पहिचान भएका थिए। सो आधारमा नै पाठ्यक्रम बनेको थियो।’
त्यसरी अब्बल भएको संस्था अहिले खस्किएको बताउँछन्।
उनले आईओएममा एमबीबीएसको अन्तिम परीक्षा भारत, क्यानडा, अमेरिकाका चिकित्सक आएर लिने गरेको पनि सुनाए।
‘हामी पढ्दा नेपालमा उत्पादन भएका चिकित्सक राम्रो छन् कि छैनन् भनेर बाहिरबाट चिकित्सक ल्याएर परीक्षण गरिन्थ्यो। बाहिरका चिकित्सकले नेपालमा राम्रो पाठ्यक्रम र विद्यार्थी उत्पादन भइरहेका छन् भन्दै पत्रकार सम्मेलन गरेर जानकारी नै गराएका थिए,’ उनी थप्छन्, ‘त्यो अवस्थाबाट अब्बल भएको आईओएम अहिले केही खस्कियो जस्तो लाग्छ।’
उनी आईओएमले मेडिकल सोसियोलोजी र स्वास्थ्य व्यवस्थापनलगायतका विषय हटाएर गल्ती गरेको बताउँछन्।
‘जिल्लामा काम गर्ने डाक्टरलाई के–के गर्नुपर्छ भनेर स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागले कामको विभाजन गर्ने गरेको थियो। पछि सन् १९९८ पछि स्वास्थ्य व्यवस्थापन विषय आईओएमले काट्यो। नकाटेको भए अझ माथि जाने थियो,’ उनले भने, ‘मेडिकल सोसियोलोजी विषयमा सुत्केरी भएको समयमा जिल्लागत सुत्केरीलाई के खुवाउँछन् भनेर सबैतिर पढाउने गरिन्थ्यो। त्यसलाई परिमार्जन गरेर पढाउनु पर्नेमा सो विषय नै कटौती गरेका कारण मेडिकल शिक्षा केही खस्किएको हो। नत्र त आइओएमको पाठ्यक्रम संसारकै अब्बलमा पर्थ्यो।’
डा मरासिनीले कुनै समय विश्वमा २१ वटा उत्तम कलेजहरूमा आईओएम परेको जनाए। अहिले पनि एमबीबीएस, नर्सिङ, पारामेडिसिन पढाउँदा कम्प्युटरलाई अनिवार्य राख्नु पर्ने बताउँछन्।
‘कम्प्युटर एप्लिकेसन एन्ड हेल्थ साइन्स भनेर पढाउनु पर्छ। सबै अनुसन्धान कम्प्युटरबाट नै हुन्छ। त्यसले अनुसन्धान गर्ने वातावरण बनाउँछ। सो विषय आईओएमले राखेन। अन्यले पनि राखेनन्,’ उनले भने।
स्वास्थ्य मन्त्रालयले आईओएम बाहेक अन्य चिकित्साशिक्षा पढाउने कलेजलाई पनि सहयोग गर्नुपर्ने बताउँछन्।
Shares

प्रतिक्रिया