समाज


काठमाडौँको मौसम आज पनि धुम्म, फेरि पानी पर्छ?

काठमाडौँको मौसम आज पनि धुम्म, फेरि पानी पर्छ?

नेपालखबर
फागुन १३, २०८२ बुधबार ९:८, काठमाडौँ

काठमाडौँ उपत्यकामा अहिले (बुधबार बिहान) हुस्सु लागेको छ भने मौसम आंशिक बदली भएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौँको भिजिबिलिटी (पारदर्शिता) क्रमश: सुधार भइरहेको छ।

‘हुस्सुका कारण बिहान १५ सय मिटर मात्र रहेको भिजिबिलिटी सुधार भएर अहिले २५ सय मिटर पुगिसकेको छ भने अर्को एक घण्टामा ३५ सय मिटर पुग्छ’, उनले बुधबार बिहान ८ बजेतिर नेपालखबरसँग भने।

यसैगरी अहिले काठमाडौँ उपत्यकाको आकाशमा आ‌ंशिक रूपमा बादल पनि लागेको अवस्था छ। 

‘हुस्सु हटेपछि एकछिन मौसम खुलेजस्तो होला तर दिउँसो फेरि बादल लाग्ने देखिन्छ’, मौसमविद् अधिकारीले भने। 

तर पानी पर्ने सम्भावना भने एकदमै कम रहेको उनले बताए। 

‘आज काठमाडौँमा पानी पर्ने सम्भावना १० प्रतिशत मात्रै देखिएको छ यो भनेको न्यून सम्भावना हो’, उनले भने। 

हिजो मंगलबार भने काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा पानी परेको थियो। 

मौसमविद् अधिकारीका अनुसार मंगलबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा २/३ मिलिमिटरदेखि १४ मिलिमिटरसम्म वर्षा भएको थियो। 

‘विमानस्थल क्षेत्र, बुढानीलकण्ठ, टिचिङ अस्पताल क्षेत्र, खुमलटारलगायत स्थानमा हिजो पानी परको थियो’, उनले भने, ‘सबैभन्दा बढी गोदावरीमा १४ मिलिमिटर वर्षा भएको थियो।’

आज कस्तो होला देशभरको मौसम?

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ। यतिबेला देशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ भने बाँकी स्थानमा मौसम मुख्यतया सफा रहेको छ। तराई तथा उपत्यकाका थोरै स्थानमा हुस्सु लागिरहेको छ।

महाशाखाका अनुसार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थान तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात हुने सम्भावना छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात हुने सम्भावना छ।

यस्तै राति तराईका थोरै स्थानमा तुवाँलो रहनेछ। कोसी, बागमती र  गण्डकी प्रदेशका उच्च पहाडी र  हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात हुने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad