गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति लुकाउन सघाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीका जीवराज पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
बुधबार अख्तियारले पोखरेलविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्। यसअघि महोत्तरीको रामबाबु महतो कोइरीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो। त्यसको अनुसन्धानका क्रममा पोखरेल सरकारी वादी बनेका थिए।
तर, अदालतमा बयान फेरेपछि अख्तियारले उनीमाथि नै अनुसन्धान गरेको प्रवक्ता न्यौपानेले बताए। अनुसन्धानका क्रममा उनको खातामा जग्गा रजिस्ट्रेसन गर्न ५२ लाख २३ हजार रुपैयाँ जम्मा गरेको देखिएको थियो।
त्यसमध्ये २५ लाख रुपैयाँ मात्रै जग्गा वाफतको रकम रहेको पाइएको अख्तियारले दायर गरेको अभियोगपत्रमा उल्लेख छ। बाँकी २७ लाख २३ हजार रुपैयाँ लुकाउन राखिएको पाइएको अख्तियारको दाबी छ।
गैरकानुनी सम्पत्ति लुकाउन मतियार बनेको आरोपमा अख्तियारले बुधबार पोखरेलविरुद्ध मुद्दा दायर गरेको प्रवक्ता न्यौपानेले बताए। उनीबाट २७ लाख २३ हजार भराउन बिगो दाबी गरिएको छ भने भने जेल सजायको माग गरएको छ।
Shares

प्रतिक्रिया