समाज


४६० किलोमिटर माथि अन्तरिक्षमा पुगेर अड्कियो नेपाली भू-उपग्रह ‘मुनाल’

४६० किलोमिटर माथि अन्तरिक्षमा पुगेर अड्कियो नेपाली भू-उपग्रह ‘मुनाल’

नेपालखबर
पुस ३०, २०८२ बुधबार ६:५५, काठमाडौँ

सोमबार भारतीय भूमिबाट नेपालले प्रक्षेपण गरेको सानो आकारको भू-उपग्रह (नानो स्याटेलाइट) ‘मुनाल’ अन्तरिक्षमै अड्किएको छ। 

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)को पहल र छिमेकी मुलुक भारत सरकारको सहयोगमा अन्तरिक्षमा प्रक्षेपण गरिएको भूउपग्रह अन्तरिक्षको ४६० किलो मिटरमाथि पुगे पनि सही अर्बिटमा नपुगी अड्किएको नास्टले जनाएको छ। 

भारतको विदेश मन्त्रालय र भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनको पहलमा श्रीहरिकोटस्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट सोमबार बिहान १०ः३० बजे नेपाली भूउपग्रह प्रक्षेपण गरिएको थियो। 

नास्टले प्रेस विज्ञप्ति जारी गर्दै अन्तरिक्षको प्रक्षेपणको पारम्भिक चरण सफल भए पनि रकेटको तेस्रो चरणको सञ्चालनमा समस्या आउँदा उडान विचलित हुँदै भूउपग्रह अन्यत्र मोडिएको जनाइएको छ।

नास्टले स्वदेशमै विकास गरेको करिब १.३ केजी तौलको यो भूउपग्रह उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको थियो। 

काठमाडौँ विश्वविद्यालय तथा विभिन्न विद्यालयका उच्च माध्यमिक तहका विद्यार्थी यो भूउपग्रह निर्माणमा सक्रिय भएका थिए। दुई वर्षअघि नै निर्माण सम्पन्न भए पनि प्रक्षेपणको अनुमति ढिलोगरि पाएका नास्टका सदस्यसचिव रवीन्द्र ढकालले बताएका छन्। 

‘मुनाल अन्तरिक्षको ४६० किलोमिटरमाथिसम्म पुग्यो, तर प्राविधिक समस्या आएर जहाँ जानुपर्ने थियो, त्यता नगई डाइभर्ट भयो,’ उनले भने।

पाँच वर्षअघि नेपालले पहिलो भूउपग्रह नेपाली स्याट वान प्रक्षेपण गरेको थियो। यो भू-उपग्रह भने अन्तरिक्षको ४०० किलोमिटरमाथि पुगेर सफल ढंगले काम गरिरहेको छ। 

अन्तरिक्षमा बेपत्ता भएको मुनाल भूउपग्रह भेटिए पनि अब त्यसलाई आफ्नो कक्षमा फर्काउन नसकिने बताए। ‘अन्तरिक्षमै नपुगी असफल हुनुभन्दा अन्तरिक्षसम्म पुगेकोमा पनि सन्तोष मान्नुपर्छ,’ उनले भने। 

नेपालले यो भू-उपग्रह वनस्पति अनुगमन, स्वदेशी प्रविधि परीक्षण र कृत्रिम बौद्धिकता (एआई) मा आधारित तथ्याङ्क विश्लेषण तथा प्रशोधनका लागि प्रक्षेपण गरेको थियो। 

मुनालको प्रक्षेपण असफल भए पनि अब परिमार्जनसहित ‘मुनाल टु’ भूउपग्रह निर्माण गर्ने जिम्मेवारी नास्टले लिएको ढकालले बताए। ‘मुनाल टु’ निर्माण तथा प्रक्षेपणमा पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता भारतका वैज्ञानिकले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad