विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ।
काठमाडौँ महानगरपालिका-१६ गंगाहलस्थित सडकमा बागमती प्रदेश ०१-००२ ज ७८३७ को गाडीको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका-२६ नयाँ बसपार्क बस्ने सल्यान घर भएका ३० वर्षीय जित बहादुर कुँवर रहेका छन्।
गएराति गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
हाल फरार गाडी चालकको प्रहरीले खोजी जारी राखेको छ।
त्यसैगरि मोरङको विराटनगर महानगरपालिका-१५ तीन नम्बर ढाँटस्थित सडकमा मोटरसाल्क दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
हुलासबाट जोगबनीतर्फ जाँदै गरेको प्र.१-०२-०५२ प ९५८७ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा चालक सप्तरी तिरहुत गाउँपालिका-५ महुली घर भएका ३० वर्षीय अनोज चौधरीको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको कोसी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यसैगरि सिराहाको गोलबजार नगरपालिका-६ फुलबारी रिसोर्टस्थित सडकमा अटो दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ।
गएराति मधेस प्र.१-००१ ह १९१७ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा अटोमा सवार गोलबजार नगरपालिका-१२ बस्ने २६ वर्षीय रजबन्स मुखियाको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि अटो चालक फरार भएका छन्।
त्यसैगरि धनुषाको औरही गाउँपालिका-१ झिटकहिया चोकमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
यदुकुहाबाट पौडेश्वरतर्फ जाँदै गरेको प्रदेश २-०२-००१ प ५०१४ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ४५ वर्षीय राजपैत मुखियाको मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते भएका उनको सहयोगी अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरि मकवानपुरको हेटौँडा उपमहानगरपालिका(३ तीनताप्केस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही उपमहानगरपालिका-३ लेवर्ट बस्ने ३४ वर्षीय प्रकाश दाहाल रहेका छन्। उनलाई बिहीबार साँझ गाडीले ठक्कर दिँदा मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। गाडीको ठक्करबाट घाइते भएका एक जनाको सिएमसि चुरेहिल अस्पताल हेटौँडामा उपचार भइरहेको छ।
हाल फरार सवारी साधन र चालकको प्रहरीले खोजी जारी राखेको छ।
त्यसैगरि पर्साको वीरगन्ज महानगरपालिका-२१ स्थित सडकमा वीरगन्जबाट सिमरातर्फ जाँदै गरेको ग.२ ख १४५१ नम्बरको बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही नगरपालिका-२१ पटेल टोल बस्ने २७ वर्षीय कमलेश पटेल रहेका प्रहरीले जनाएको छ। उनलाई बिहीबार राति सबले ठक्कर दिएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यसैगरि पर्वतको कुश्मा नगरपालिका-१ अर्मादीमा सवारी साधनको ठक्करबाट एक युवकको मृत्यु भएको छ।
हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री कुश्मा नगरपालिका-२ खुर्कोट बस्ने ३१ वर्षीय नारायण दर्जीको बिहीबार राति मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल कुश्मामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले हाल फरार सवारी साधन र चालकको खोजी गरिरहेको छ।
Shares

प्रतिक्रिया