बसको ठक्करबाट काभ्रेको पाँचखालमा एक पैदलयात्रीको मत्यु भएको छ। अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–४ को सडकछेउमा पैदल हिँडिरहेका स्थानीय ६५ वर्षका दिलबहादुर श्रेष्ठलाई बसले आज बिहान ठक्कर दिँदा उनको मृत्यु भएको हो।
गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको चौताराबाट काठमाडौँतर्फ आउँदै गरेको अरनिको यातायातको बा.२ ख ६५७९ नम्बरको बसले पैदलयात्री श्रेष्ठलाई ठक्कर दिएको थियो।
स्थानीय राजन कार्कीका अनुसार बिहान ८ बजे बसेले ठक्कर दिएपछि गम्भीर घाइते श्रेष्ठको उपचारका क्रममा १२ बजे धुलिखेल अस्पतालमा मृत्यु भएको हो। प्रत्यक्षदर्शीका अनुसार सोही दिशाबाट अर्को बससँग ‘कम्पिटिसन’ गर्दै आएको उक्त बसले सडक छेउमा हिँडिरहेका श्रेष्ठलाई ठक्कर दिएर १० मिटर पर उछिट्याएको थियो।
श्रेष्ठको मृत्यु भएपछि उनका आफन्तले चालकलाई कारबाही तथा क्षतिपूर्तिको माग गर्दै अरनिको राजमार्ग अवरुद्ध गरेका छन्।
घटनापछि चालक फरार भएका छन्। ठक्कर दिने बसलाई जिल्ला प्रहरी कार्यालय ल्याइएको छ, भने चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नगरप्रमुख महेश खरेलले पीडितलाई क्षतिपूर्ति तथा अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको बताए। राजमार्गमा चक्का जाम हुँदा त्यस क्षेत्रमा अहिले सयौँ सवारी साधन रोकिएका छन्।
Shares

प्रतिक्रिया