ad ad

समाज


जमाती होइन युपीबाट फर्केका विद्यार्थीबाट उदयपुरमा कोरोना फैलिएको आशंका

जमाती होइन युपीबाट फर्केका विद्यार्थीबाट उदयपुरमा कोरोना फैलिएको आशंका

उजिर कार्की
बैशाख १०, २०७७ बुधबार १६:५,

उदयपुरको भुल्केमा फैलिएको कोरोना संक्रमण जमातीबाट नभई भारतको उत्तर प्रदेश राज्यबाट फर्किएका एक स्थानीय युवाबाट सुरु भएको आशंका गरिएको छ।

अध्ययनका लागि यूपी गएका २० वर्षीय ती युवा लकडाउन सुरु भइसकेपछि चैत १२ गते मात्र घर आइपुगेका थिए।

अहिलेसम्म ती विद्यार्थीको परिवार र आफन्त गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। यसैले पनि उनीबाटै संक्रमण फैलिएको हुनसक्ने आशंकालाई बल पुर्‍याएको छ।

उनका बुबासहित उनको घर आएका तीन जना आफन्तमा पनि मंगलबार कोरोना संक्रमण देखिएको हो।

उनीहरुलाई हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मोरङको कोसी अस्पतालमा राखिएको छ।

त्यसैले समुदायमा संक्रमण फैलिएसँगै प्रहरीले आफ्नो अनुसन्धान ती युवामाथि केन्द्रित गरेको छ।

यूपीस्थित आफ्नो कलेजले स्थानीयहरुलाई क्वारन्टिनमा राखेको तर आफूलाई भने नेपाल फर्किन अनुमति दिएको उनले प्रहरीलाई बताएका छन्।

यसअघि भारतबाट आएका जमातीबाट भाइरस फैलिएको हुनसक्ने भन्दै कन्ट्याक्ट टे«सिङ गर्न थालिएको थियो। तर, जमातीहरु पुगेका अन्य जिल्लामा हालसम्म संक्रमण देखिएको छैन।

उदयपुरको भुल्केस्थित मस्जिदमा भेटिएका १२ भारतीय र मोरङका ४ जना जमातीले सप्तरीको धार्मिक कार्यक्रममा आफूहरु समेत सहभागी नभएको बताएका छन्।

उनीहरु पुगेका भनिएको सप्तरीका फत्तेपुर, बरमझिया लगायत मस्जिदमा रहेकाहरुमा कोरोना संक्रमण नदेखिएको सप्तरीका स्वास्थ्य प्रमुख दुनियाँलाल यादवले बताए। जमाती पुगेका अन्य स्थानमा कोरोना संक्रमित नभेटिएपछि संक्रमण कहाँबाट फैलियो भन्ने अन्यौल छ।

पर्सामा ३ जना जमातीमा संक्रमण देखिएपछि उदयपुरको मस्जिदमा रहेका भारतीय जमातीको पनि कोरोना परीक्षण गर्न स्थानीयले माग गरेका थिए।

ती जमातीहरुको प्रदेश १ का स्वास्थ्यकर्मीसहितको टोलीले गत साता नमुना संकलन गरेको थियो।

बिहीबार रिपोर्ट संकास्पद आएपछि मस्जिदमा रहेका १६ जनाको स्वाब शुक्रबार काठमाडौं पठाइएको थियो। शुक्रबार टेकुमा भएको परीक्षणमा कोरोना संक्रमण देखिएको थियो।

यूपीबाट फर्केका युवकको परिवार र भारतीय जमातीअरु आपसमा घुलमिल भएका थिए। त्यसैले यूपीबाट आएका युवकबाट उदयपुरको संक्रमण पुष्टि गर्न शिवाईको मस्जिदमा रहेकाहरुको परीक्षण गर्नु पर्ने कन्ट्याक्ट ट्रेसिङ गरिरहेका एक प्रहरी अधिकृतले नेपालखबरसँग बताए।

चैत १२ गते नै उदयपुर प्रशासनले भुल्केको मस्जिदमा रहेका १६ जनाको विवरण टिपेर लगेको थियो। जमातीहरुलाई लकडाउनको समयमा मस्जिदमै बस्नु भन्दै प्रशासन फर्किए पनि उनीहरु समुदायमा घुलमिल थिए। भुल्केमा ५३ परिवार मुस्लिम छन्।

अहिले भारतसहित अन्य मुलुकबाट फर्केका केही व्यक्तिबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।

संक्रमितमध्येकै एक ५८ वर्षीय व्यक्ति भारतको दिल्लीबाट फर्केका थिए। लकडाउन हुने भएपछि उनी घर फर्किएका थिए। दिल्लीमा सिलाइकटाइको काम गर्ने उनले यहाँ आएर मास्क सिलाएका थिए।

उनले तयार गरेका मास्क स्थानीय टोलसुधार समितिले वितरण गरेको थियो।

‘लकडाउनका समयमा पनि उनले अटोमा तरकारी मस्जिदसम्म पुर्‍याउँथे। लकडाउनमा पनि उनीहरुको धार्मिक कार्यक्रम बन्द थिएन,’ एक स्थानीयले भने। ती व्यक्तिलाई पनि संक्रमण देखिएको छ।

त्यहीँ संक्रमित पुष्टि भएका अर्का युवा फागुन १० गते कतारबाट फर्किएका थिए। बुबाको मृत्युपछि फर्किएका उनी जनकपुर विमानस्थल हुँदै त्यहाँबाट स्कर्पिओ रिजर्भ गरेर घर गएका थिए।

उनलाई खोकी र ज्वरो देखिएको स्थानीयले बताएका छन्। तर, उनले आफूलाई केही नभएको बताउँदै आएका थिए। स्थानीय औषधिपसलबाट उनले ज्वरो र खोकीको औषधि किनेको प्रहरीले बताएको छ।

भुल्केमा अहिले कसैलाई पनि आउजाउ गर्न नदिइएको उदयपुरका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढा मगरले बताए। प्रहरीले उदयपुर जिल्लामा आउजाउ पूर्ण रुपमा बन्द गराएको छ।

बिहीबार त्यहाँका थप व्यक्तिको नमुना संकलन गरिने भएको छ। यसका लागि केन्द्रबाट किटसहित टोली आउने प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बताए। शिवाईको मस्जिदमा पुगेकाहरुको पनि परीक्षण गरिने मन्त्री कार्कीले बताए।

भुल्केमा मात्रै कोरोना संक्रमितको संख्या २७ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .