ad ad

समाज


एकैदिन १० हजारले छाडे काठमाडाै‌ं : अघोषित रुपमा लचिलो बन्दै गृह

एकैदिन १० हजारले छाडे काठमाडाै‌ं : अघोषित रुपमा लचिलो बन्दै गृह

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार ८:३०,

लकडाउन अवधि लम्बिएपछि राजधानीमा विचल्लीमा परेका सर्वसाधारणलाई रोक्न नसकेपछि गृह मन्त्रालयले अघोषित रुपमा गाडी जान दिन थालेको छ।

गाडी बन्द गर्दा पनि सर्वसाधारण हिँडेर घर फर्किने क्रम नरोकिएपछि गृहले त्यस्ता गाडीलाई पासबिनै राति चल्न दिन थालेको हो।

पछिल्ला केही दिनमा हजारौ सर्वसाधारण बस चढेर घर फर्किएका छन्। केन्द्रीय सरकारले आधिकारीक रुपमा निर्णय नगरेपछि स्थानीय तह तथा जनप्रतिनिधिले आफ्नो क्षेत्रका नागरिक फर्काउन समन्वय गर्न थालेका छन्।

त्यसरी स्थानीय तह र जनप्रतिनिधिले घर फर्किएपछि क्वारेन्टिनमा राख्ने गरी लैजाने सर्वसाधारणलाई नरोक्न प्रमुख जिल्ला अधिकारीलाई भनिसकेको समेत गृहका एक उच्च अधिकारीले बताए।

साेमबार मात्र १० हजार मानिसले राजधानी छाडेकाे प्रहरीले बताएकाे छ।

‘घोषित रुपमै जान दिँदा ८–१० लाख मान्छे नै बाहिरिने देखियो, त्यो व्यवस्थापन गर्न गाह्रो छ’, उनले भने, ‘जो बिचल्लीमै परेका कारण हिँडेरै भए पनि घरजान बाटो लागेका छन् उनीहरुलाई रोकिँदैन।’

Gatthaghar corona crowdसोमबार भक्तपुरको गठ्ठाघरबाट दोलखा र रामेछापका लागि छुट्न लागेका बसमा जान चाहनेहरुको भिड। तस्बिर: प्रविन काेइराला

रातको समयमा राजधानीका प्रमुख नाकामा भीड लागेको छ। केही दिन सरकारले नाकामा बाक्लो रुपमा प्रहरी परिचालन गरेर रोक्न खोजेपनि अन्य बाटोको प्रयोग गरेर प्रहरी छल्दै जान थालेपछि सरकारको चर्को आलोचना भएको थियो ।

आलोचनाबीच उच्चस्तरीय समितिले घर फर्किन दिने निर्णय गरेपनि घर जानेको संख्या धेरै हुने थाहा पाएपछि केही घण्टामै निर्णयबाट पछि हटेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने लकडाउन कडाइका साथ लागु गर्ने र त्यसमा कुनै लचकता नअपनाइने बताउँदै आएका छन्।

अर्कोतर्फ मन्त्रीहरुको सक्रियतामा आफ्नो क्षेत्रका नागरिकलाई घर फर्काउन थालेका छन्।

उर्जामन्त्री वर्षमान पुनकै पहलमा आइतबार र सोमबार २ हजार मजदुर प्रदेश ५ मा पठाइएको छ।

सरकारको नेतृत्व गरिरहेको नेकपाकै भातृसंस्था युवा संघले समेत दुई दिनमा ६ सय मजदुरलाई घर फर्काएको छ।

संघका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले सडकमा अलपत्र मजदुरलाई गाडी खोजेर पठाएको बताए।

‘कतिपयले आफैं भाडा तिरे, नसक्नेलाई हामीले दियौं, हामीले पनि व्यवस्था गर्न नसकेकालाई जिल्लाका नेताहरुलाई तिर्नु भन्यौं’, दीपशिखाले भने।

राज्यले आफ्नो कर्तव्य पुरा नगर्दा मजदुर विचल्लीमा परेको भन्दै दीपशिखाले भने, ‘सरकारले नगरपालिकाले गर्छ भन्यो, तर उनीहरुले बसाउन पनि सकेनन् र पठाउन पनि सकेनन्।’

सरकारले कुरा अनुसार काम नगर्दा मजदुरले विश्वास नगरेको र कोरोनाभन्दा भोकले मरिन्छ भनेर जसरी पनि घर जान खोजेको उनको भनाई छ।

यस्तै अन्य जिल्लाका स्थानीय तह तथा सांसदहरुले पनि आफ्नो क्षेत्रका नागरिक राजधानीबाट फर्काउन थालेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .