ad ad

समाज


कोरोना संक्रमित भारतीयबारे अनुसन्धानः पर्सामा जस्तै उदयपुरमा पनि अन्योल

कोरोना संक्रमित भारतीयबारे अनुसन्धानः पर्सामा जस्तै उदयपुरमा पनि अन्योल

उजिर कार्की
बैशाख ७, २०७७ आइतबार १४:४४,

पर्सामा तीन जना भारतीय जमातीमा कोरोना संक्रमण भेटिएको एक हप्ता बित्दासमेत उनीहरुमा कसरी कोरोना संक्रमण भयो भन्ने पत्ता लाग्न सकेको छैन।

संक्रमण भेटिएका जमातीले चार महिना पहिले नै नेपाल प्रवेश गरेको बताएका छन्। तर नेपालमा उनीहरुले भेटेका अरुमा कोरोना संक्रमण देखिएको छैन।

उनीहरु पुगेका चार जिल्लाका १ हजार ५ सय बढीको कोरोना परीक्षण गरिएको छ। जसमा सप्तरीमा शनिबार एक जनाको र्‍यापिड टेस्टमा पोजेटिभ आए पनि अरु सबैको रिपोर्ट नेगेटिभ देखिएको छ।

पर्सामा भेटिएको जमातीको कोरोना संक्रमण पत्ता लगाउँदै गर्दा उही समयमा आएका १२ भारतीयसहित १३ जना उदयपुरमा फेला परे। उनीहरुले पनि पहिले नै नेपाल आएको बताएका छन्। उदयपुरमा पनि पर्साकै जस्तो अनुसन्धानमा समस्या देखिएको छ।

वीरगन्जमा मात्रै उनीहरुले भेटेका र भेटेको आशंका गरिएका ८ सय २६ जनाको र्‍यापिड टेस्ट गरिएको छ। यीमध्ये कसैमा पनि कोरोना संक्रमण देखिएको छैन।

उनीहरु पुगेका मस्जिदका ४१ जनालाई क्वारेन्टिनमा राखिएको छ। मस्जिद परिसरमै रहेका मदरसाका बालबालिकालाई समेत क्वारेन्टिनमा राखिएको छ। उनीहरुमा कोरोना संक्रमण नदेखिएपछि दुई वटा मदरसाका शिक्षकसहित ४४ जना होम क्वारेन्टिनमा छन्।

संक्रमितको सम्पर्कमा गएका हुन सक्ने आशंकामा पर्सामा अरु ५ जनालाई पनि प्रहरी निगरानीमा होम क्वारेन्टिनमा राखिएको पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर साहले जानकारी दिए।

साहका अनुसार हालसम्म वीरगन्जमा भेटिएका तीन संक्रमितलाई कसरी कोरोना सर्‍याे भन्ने पत्ता लाग्न सकेको छैन। उनीहरुले डिसेम्बर १७ मा मोरङको जोगबनी नाका हुँदै नेपाल प्रवेश गरेको बताएका छन्।

पछि दुई जना चैत ९ गते रक्सौलसम्म पुगेको बताएका छन्। रक्सौल गएका भनिएका दुई मध्ये पनि एक जनामा मात्रै संक्रमण देखिएको छ।

‘अहिले उनीहरु अस्पतालको आइसोलेसनमा भएकाले धेरै सोधपुछ गर्न सकिएको छैन, रक्सौलबाटै कोरोना भित्रियो भन्ने अवस्थामा पनि छैनौं र अरु क्लु पनि फेला परेको छैन’, डीएसपी साहले भने, ‘उनीहरु अस्पतालबाट निस्किएपछि थप कुरा पत्ता लाग्ला।’

उनीहरुले भेटेका र पुगेका ठाउँका स्थानीयले समेत प्रहरीलाई साँचो बयान नदिएको प्रहरीको बुझाइ छ। बयान फेरिरहने उनीहरुको बयानलाई ‘क्रस भेरिफिकेसन’ गर्ने काम पनि भइरहेको छ।

संक्रमितसँगै रहेका भारतीय जमातीले मोबाइल फोन समेत नबोकेकाले उनीहरुको कन्ट्याक ट्रेसिङ थप प्रभावकारी हुन सकेको छैन। उनीहरु सप्तरीको कार्यक्रममा आएका सत्य हो र फेरि भारत गएका छैनन् भने कहाँबाट कोरोना संक्रमण भयो भन्ने थप अन्योल बढेको छ।

पर्सामा भेटिएका तीन संक्रमितले सप्तरीमा फागुन ३, ४ र ५ गते भएको धार्मिक कार्यक्रममा सहभागी भएको बताएपछि त्यहाँ पनि उनीहरुले भेटेका व्यक्तिको खोजी र परीक्षण तिब्र पारिएको छ।  आइतबारसम्ममा सप्तरीका विभिन्न मस्जिदमा गएका ४ सय ५० जनाको परीक्षण गरिएको सप्तरीका स्वास्थ्य प्रमुख दुनियालाल यादवले बताए।

सप्तरीका केही ठाउँमा अझै पनि भारतीय रहेको स्थानीयले बताएका छन्। ‘उनीहरुले आफू नेपाली नै भएको बताउँछन्’, स्वास्थ्य प्रमुख दुनियालाल यादवले भने, ‘मस्जिदमा भेटिएकाले नेपाली नै हौं भन्दा हामीलाई छुट्याउन गाह्रो छ।’

बरमझिया नजिकै रहेको मस्जिदमा १२ जना आएर बसेका पत्ता लागेको छ। आइतबार त्यहाँ पुगेको स्वास्थ्यकर्मीको टोलीलाई स्थानीयले ती भारतीयबारे जानकारी दिएका हुन्। उनीहरुसँगै बसेर २०-२० जनाले नमाज पढेको पाइएको छ।

स्थानीयलाई उनीहरुले भेटेका मान्छे अरु पनि खोज्न र सोमबार परीक्षण गर्न भनिएको स्वास्थ्य प्रमुख यादवले बताए।

सप्तरीकै फत्तेपुरका मस्जिदमा पुगेर ९२ जनाको र्‍यापिड टेस्ट गरिएको छ। यीमध्ये एक जनाको र्‍यापिड टेस्टमा पोजेटिभ देखिएकोले स्वाब संकलन गरेर धरान पठाइएको छ। पोजेटिभ देखिएका व्यक्तिलाई गजेन्द्र नारायण अस्पतालको आइसोलेसनमा राखिएको छ।

सुनसरीमा पनि ६२ जनाको र्‍यापिड टेस्ट गरिएको छ। उनीहरु पुगेका सम्भावित मस्जिदका व्यक्तिलाई ल्याएर परीक्षण गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए।

‘एक त उनीहरुको बयानमै शंका छ, यदि सुनसरी आएकै हुन् भने पनि फागुनमै आएका हुन्। त्यतिबेला कोरोना संक्रमणको जोखिम थिएन’, प्रजिअ पौडेलले भने, ‘त्यही भएर पनि धेरैको परीक्षण गर्न आवश्यक ठानेनौं।’

masjid corona test

सुनसरीकै मस्जिदबाट शनिबार तीन जनाको स्वाब संकलन गरिएको छ।

उदयपुरमा पनि १३ जना संक्रमित भेटिएपछि थपको परीक्षण सुरु गरिएको छ। उनीहरुले पनि चार महिना पहिले नै नेपाल आएको बताएका छन्। उनीहरु पुगेका मस्जिदमा सप्तरी र उदयपुरमा अन्यको परीक्षण भइरहेको छ।

उदयपुरका दुई मस्जिदमा गएका र आसपासका सम्भावित व्यक्तिहरुको परीक्षण शनिबारबाटै थालिएको छ। सिवाई र भुल्के मस्जिदमा र्‍यापिड टेस्टका लागि नेपाली सेनाको हेलिकोप्टरमा आइतबार काठमाडौंबाट टोली गएको छ। यसअघि शनिबार ६९ जनाको स्वाब प्रदेशबाट पुगेको स्वास्थ्यकर्मीको टोलीले संकलन गरेको छ।

मस्जिदका जमातीहरु पुगेका पसल र होटलका व्यक्तिको पनि परीक्षण गरिने उदयपुरका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढा मगरले बताए।

भुल्केको मस्जिदमा रहेका मध्ये १२ जनाको शुक्रबार र एक जनाको शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण देखिएपछि १६ जनालाई भने शुक्रबार साँझ नै विराटनगर लगिएको छ। संक्रमित १३ जनालाई कोरोना विशेष अस्पताल र तीन जनालाई टाँडीमा रहेको क्वारेन्टिनमा राखिएको छ।

तर पर्साका जस्तै उदयपुरमा भेटिएका संक्रमितमा कहाँबाट र कसरी कोरोना संक्रमण भयो भन्ने पत्ता लाग्न सकेको छैन। भारतबाट आएको टोलीभन्दा अरुमा कोरोना नदेखिँदा थप शंका उत्पन्न भएकाे सुरक्षा अधिकारीहरुको बुझाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .