ad ad

समाज


दैनिक ५ सय मजदुरलाई खाना खुवाउने त्यो भुइँखेल चउर

दैनिक ५ सय मजदुरलाई खाना खुवाउने त्यो भुइँखेल चउर

सन्तोष न्यौपाने
बैशाख ७, २०७७ आइतबार ११:४७,

कृष्ण खड्का आइतबार भुइँखेल चउरको गेटैमा आएर टुसुक्क बसे। ११ नबज्दासम्म गेटको चाबी खुल्दैन।

भोकले आत्तिए होलान् सायद! गेट खुल्ने प्रतीक्षामा छन् उनी। उनी ढुक्क छन्, गेट खुल्छ र खानाको मेस चल्छ।

५९ वर्षे खड्का एक्लै छन्। न घर छ, न त सपत्ति नै। ज्यामी काम गर्दागर्दै स्वयम्भू क्षेत्रमा जिन्दगी बित्न लाग्यो।

उनको अनुभव छ, ‘अहिले जस्तो समस्या कहिल्यै भएको थिएन। हिँड्डुल गर्न नपाएपछि काम छैन। दुई/चार पैसा नभएपछि खान पाइँदैन।’

‘एक छाकको लागि यताउता हिँड्नुपरेको छ’, आइतबार स्वयम्भू, भगवानपाउस्थित भुइँखेल चउरको गेटमा भेटिएका खड्काले भने, ‘यही खाना पाएको छु, भोक टरेको छ।’

Majdoor khana 1

खड्काजस्ता सयौं मजदुरलाई खान खुवाउने काम चलिरहेको छ भुइँखेल चउरमा।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा फैलिन थालेपछि चैत ११ देखि मुलुक लकडाउनमा छ। लकडाउनले गर्दा मजदुर तथा दैनिक ज्यालादारी गर्ने समस्यामा परेका छन्।

अझ ठूलो समस्या काठमाडौंमा छ। जहाँ हजारौं मजदुरहरु एक छाक खानको लागि छटपटाइरहेका छन्।

यही समस्यालाई मध्यनगर गर्दै काठमाडौं महानगरपालिका वडा नम्बर १५ र भुइँखेल टोलसुधार समितिको सहकार्यमा यस क्षेत्रमा दैनिक ५ सयभन्दा धेरै मजदुरहरुलाई खाना खुवाउन सुरु भएको हो।

आइतबार बिहानको ११ बज्नै लागेको थियो। पहिलो नम्बरमै गेट छेउ उभिएका खड्कापछि एक, दुई गर्दै अन्य व्यक्तिहरु थपिँदै गए।
एकैछिनमा गेटको दुवैतिर लामो लाइन बन्यो।

भित्र खाना तयार भइसकेको थियो। भित्र मेस र किचनको सबै काम सकिएपछि गेट खुल्यो।

व्यवस्थापनले कोरोना भाइरस संक्रमणको रोकथामको सक्दो प्रयास गरेको छ। गेटको नजिकै स्यानिटाइजरको व्यवस्था छ।

Majdoor khana 2

दुईवटा ड्रममा स्यानिटाइजर राखिएका छन्। स्यानिटाइजरलाई पाइपबाट लगेर गेट बनाएका छन्। जहाँ उभिँदाबित्तिकै पाइपबाट स्यानिटाइजर ‘स्प्रे’ हुन्छ।

व्यक्तिको शरीरभरि नै स्यानिटाइजर लगाइन्छ। जो कोही चउरभित्र छिर्दा यसको प्रयोग गर्नुपर्छ।

‘सेन्सरबाट अटोमेटिक स्प्रे हुने व्यवस्था मिलाइएको छ’, खाना खुवाउने व्यवस्थापनमा खटिएका स्थानीय उद्धव खड्कीले भने, ‘अर्गानिक स्यानिटाइजर हो। शरीरमा लगाउँदा पनि यसले साइड इफेक्ट गर्दैन।’

त्यत्तिले मात्र पुग्दैन। खाना खान भित्र छिरेकाहरुलाई लाइनमा लगाएर धारोमा हात धुन लगाइन्छ। त्यसपछि चउरमा बसेर खाना खुवाउने व्यवस्था मिलाइएको छ। चैत २९ गतेदेखि यहाँ खाना खुवाउन सुरु गरिएको थियो।

आइतबारसम्म आइपुग्दा खाना खाने मजदुरको संख्या दैनिक ५ सय ५० नाघेको भुइँखेल टोल सुधार समितिका अध्यक्ष किरण शाहीले बताए।

खाना खुवाउने नेतृत्व १५ वडाले गरिरहेको छ भने अन्य व्यवस्थापन भुइँखेल टोल सुधार समितिले गरिरहेको छ। खाना खुवाउन सुरु गरेको पहिलो दिन १ सय ३० जनाले खाएका थिए। अर्को दिन २ सय ३० पुगे।

उनीहरुले वरपर माइकिङ पनि गरे। त्यसपछि निरन्तर रुपमा ५ सय जनाले खाना खाइरहेका छन्।

सुरुको दुई/तीन दिन अलि गाह्रो भए पनि त्यसपछि सहयोग जुटेको वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलले बताए।

‘हामीलाई विभिन्न ठाउँबाट सहयोग प्राप्त भइरहेको छ’, डंगोलले भने, ‘दैनिकजसो सहयोग आइरहेको छ। अहिले खाना खुवाउन धेरै समस्या छैन तर भीड बढ्दै जाँदा त्यसको व्यवस्थापनमा अलि समस्या भएको छ।’

Majdoor khana 3

दाताहरुबाट खाद्यान्न जुटिरहेको र ठूलो चउर भएकाले खाना खुवाउन समस्या नहुने डंगोलले बताए।

‘लकडाउनका कारण कोही पनि भोकै बस्न नपरोस् भनेर हामीले वरिपरि माइकिङ समेत गर्यौँ’, लखतीर्थ क्लबका अध्यक्ष अरविनमान सिंहले भने, ‘अन्य क्षेत्रहरुबाट पनि खाना खान आउनुभएको छ।’

खाना खानेहरुको नाम पनि टिपोट गरिरहेका छन्। उक्त विवरणअनुसार कुलेश्वर, कालिमाटी, वनस्थली, ठूलो भर्‍याङ, कीर्तिपुर, कलंकी, न्युरोड बाँगेमुढालगायतका क्षेत्रबाट खाना खान आइरहेका छन्।

पाँच सयभन्दा धेरैलाई खाना खुवाउने झण्डै २० जना स्वयंमेवक खटिएका छन्। उनीहरुले बिहानदेखि नै खाना बनाउने तयारी गर्छन्।

स्वयसेवकहरुले आ–आफ्नो काम गर्ने क्षेत्र छुट्याएका छन्। खरिद गर्ने समूह, तरकारी काटकुट गर्ने, पकाउने, बाँड्ने, भीड व्यवस्थापनमा गरी विभिन्न समूह छुट्याएर काम गरिरहेका छन्।

खानाको लागि आवश्यक सामग्रीको जोहो १५ नम्बर वडा र दाताबाट भइरहेको छ। धेरैजसो खाद्यान्नदेखि तरकारीहरु दाताबाट आइरहेको भुइँखेल टोल सुधार समितिका सचिव चन्द्रप्रसाद अधिकारीले बताए।

एक जनाले २० बोरासम्म चामल सहयोग गरेका छन्। खाना खाने प्लेट पनि सहयोगमा आइरहेको छ।

राहत बाँड्नभन्दा खाना नै खुवाउँदा धेरै सहयोग जुटेको अधिकारीले बताए।

खाना खान पाउँदा समस्यामा परेको मजदुर तथा दैनिक ज्यालादारी गर्नेहरु खुसी नै छन्। संख्या ठूलो हुँदै गएपछि भने व्यवस्थापन थप कठिन बन्दै गएको अधिकारीले बताए।

आवश्यक दूरी कायम गराउन उनीहरुलाई हम्मेहम्मे परेको छ। तै पनि स्वयंसेवकहरु जतिसक्दो लागिपरेका छन्। 

सबै तस्बिर : प्रविन कोइराला

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .