प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले संगठनको नेतृत्व गरेपछि बिहीबार प्रहरी प्रधान कार्यालयमा पहिलो पटक निर्देशन सम्बोधन गरेका छन्। गृह मन्त्रालयमा दर्ज्यानी चिह्न लगाएर हेडक्वार्टर पुगेका खापुङलाई त्यहाँ भव्य स्वागत गरिएको थियो।
त्यसपछि उनले संगठनका नाममा सम्बोधन गरेका हुन्।
दीर्धकालीन श्रीवृद्धि, व्यावसायिकता र प्रतिष्ठाको प्रवद्र्धनका लागि नेतृत्व तहदेखि तल्लो तहसम्मका कर्मचारीहरूमा सकारात्मक सोच, सक्रियता र उत्तरदायित्व आवश्यक रहेको चर्चा गर्दै सांगठनिक सुदृढीकरणका लागि सबै प्रहरी कर्मचारीहरूले सामूहिक भावना र भातृत्वभावका साथ आ आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताए।
विशेष समारोहमा प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक खापुङले फौजदारी न्याय प्रणालीको प्रमुख अंगको रूपमा नेपाल प्रहरीले देशव्यापी संजाल मार्फत अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानका साथै शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका क्रियाकलापहरूमा राज्यको पहिलो प्रतिनिधिको रूपमा उपस्थिति देखाइ आफ्नो जिम्मेवारी निर्वाह गर्दै आइरहेको चर्चा गरे।
नेपाल प्रहरी शान्ति सुरक्षा, अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान र राज्यको कानून कार्यान्वयन एवम् नागरिकको सुरक्षा र सेवाको लागि न्यून स्रोत र साधनको उपलब्धतामा पनि सधै अग्रपंक्तिमा खटिँदै आम नागरिकको ढुकढुकीमा बस्न सफल संगठन भएको चर्चा गर्दै आम नागरिकको अपेक्षालाई शिष्ट आचरण एवम् व्यवहारका साथ सम्बोधन गर्दै आम नागरिकको हृदयमा आस्था, विश्वास र भरोसा कायम राख्ने गरी कार्यसम्पादन गर्नुपर्नेमा उनको जोड छ।
प्रहरी महानिरीक्षक खापुङले सामाजिक सञ्जालमा देखिएका आवाञ्छित गतिविधिहरू, वित्तीय अपराध, साइबर अपराध, लागूऔषध, मानव बेचबिखन, आर्थिक अपराध जस्ता जटिल र संगठित अपराधहरूको अनुसन्धानमा अझ संवेदनशील, विवेकशील र कानूनी रूपमा प्रभावकारी ढंगले प्रस्तुत हुनुपर्ने उल्लेख गर्दै यसका लागि दक्ष जनशक्तिको विकास, प्रशिक्षण तथा प्रविधिको व्यवस्थापन आफ्नो प्राथमिकता रहेको बताए।
प्रहरी कर्मचारीहरूको मुल्याङ्कनमा कार्यसम्पादनको स्तर, व्यावसायिक दक्षता र संगठनप्रतिको वफादारितालाई प्राथमिकता दिई सोही अनुरूप वृत्तिविकास र अवसरको उपलब्धता सुनिश्चित गराउन निरन्तर प्रयासरत रहने एवम् योग्यतामा आधारित पद्धति र निष्पक्ष प्रकृयामा प्रहरी कर्मचारीहरूको वृत्तिविकासको लागि आवश्यक थप मापदण्डहरू निर्माण गर्दै लैजाने उनले बताए।
प्रहरी महानिरीक्षक खापुङ्गले राष्ट्र र नागरिक सेवामा आफ्नो निजि स्वार्थ र व्यक्तिगत लाभ भन्दा माथि उठेर जिम्मेवारी निर्वाह गर्नु प्रहरी सेवाको मुल मर्म भएको र संगठनले निर्दिष्ट गरेको अनुशासन र व्यावसायिक प्रहरी कर्मचारीको मर्यादाको सीमाभित्र रहेर आफ्नो जिम्मेवारी निर्वाह गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए।
गैरव्यावसायिक क्रियाकलापमा संलग्न प्रहरी कर्मचारीहरू विरूद्ध शून्य सहनशीलताको नीति कडाईका साथ लागू गर्न कटिवद्ध रहेको उनको भनाई छ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी प्रधान कार्यालय तथा उपत्यकास्थित वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरूको उपस्थितिको साथै प्रदेश प्रहरी कार्यालयहरूका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरूका प्रमुखहरू, शिक्षालयका प्राचार्यहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू, जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रमुखहरू, प्रदेश प्रहरी गणका प्रमुखहरूको समेत भर्चुअल रूपमा उपस्थिति रहेको थियो।
















Shares

प्रतिक्रिया