समाज


कोरियन भाषा परीक्षाका लागि आजबाट आवेदन दिन सकिने

कोरियन भाषा परीक्षाका लागि आजबाट आवेदन दिन सकिने

नेपालखबर
साउन २६, २०८२ सोमबार १२:७, काठमाडौँ

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आजदेखि आवेदन दिन पाइने भएको छ। 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको ईपीएस कोरिया शाखाले सोमबार सूचना जारी गर्दै भाषा परीक्षाका लागि आवेदन माग गरेको हो। आज सोमबारदेखि बिहीबारसम्म आवेदन दिने म्याद तोकिएको छ। 

यस पटकको भाषा परीक्षाबाट अनुमानित ५ हजार ३ सय जना उत्तीर्ण हुनेछन्।

जस अन्तर्गत उत्पादनमुलक क्षेत्रमा ३ हजार ५ सय र कृषि तथा पशुपालन क्षेत्रमा १ हजार ८ सय जना उत्तीर्ण गरिनेछ।

यो संख्यामा केही थप घट हुन सक्ने पनि ईपीएस शाखाले जनाएको छ।

नेपालको श्रम रोजगार तथा सुरक्षा मन्त्रालय र गणतन्त्र कोरियाको रोजगार तथा श्रम मन्त्रालयबीच भएको समझदारी पत्र अनुसार ईपीएस प्रणाली अन्तर्गत कोरियामा नेपाली नागरिक श्रमिकको रुपमा जाँदै आएका छन्।

यस प्रयोजनका लागि योग्य उम्मेदवार छनोट गर्न प्रथम चरणमा भाषा परीक्षा सञ्चालन गरिन्छ। यस वर्षका लागि एचआरडी कोरियाले अनुमानित ५ हजार ३ सय कोटा छुट्याउँदै परीक्षा कार्यक्रमको तालिका पठाएको हो। 

परीक्षाको मिति भने पछि प्रकाशित गरिनेछ। परीक्षा एक दिनमा बढिमा ५ सिफ्टमा सञ्चालन हुनेछ। आवेदन संख्याका आधारमा र अन्य कुनै कारण आइपरेमा परीक्षा तालिका फेरबदल हुन सक्ने पनि ईपीएस शाखाले जनाएको छ। 

कोरियामा कामदारको माग अनुसार उत्तीर्ण संख्या थपघट हुन सक्ने पनि सूचनामा जानकारी दिइएको छ। आवेदन दिँदा एक व्यक्तिले एउटा मात्रै क्षेत्रमा फारम भर्नपर्छ। 

उत्पादनमुलक क्षेत्रतर्फ परीक्षाको आवेदन फारम भर्दा ३ वटा मध्ये एउटा उपक्षेत्र पनि छनोट गर्नपर्नेछ। कृषि तथा पशुपालनतर्फ पनि दुई मध्ये एक उपक्षेत्र छनोट गर्नुपर्नेछ। 

भाषा परीक्षामा उत्तीर्ण परीक्षार्थीहरुले दोस्रो चरणको सिप तथा प्रतिस्पर्धा क्षमता परीक्षणमा समेत उत्तीर्ण भएपछि मात्रै रोजगार आवेदन फारम भर्न सक्नेछन्। दोस्रो चरणको परीक्षा सम्बन्धि जानकारी प्रथम चरणको परीक्षाको नतिजा प्रकाशन पछि सार्वजनिक गरिनेछ। 

१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। 

भाषा परीक्षाका सबै केन्द्र काठमाडौँमै रहनेछन्। आवेदन फारम ईपीएस नेपालमा गई अनलाइन भर्नुपर्नेछ। 

आवेदन भर्दा राहदानीको फोटो अपलोड गर्नुपर्छ भने इमेल र फोन नम्बर पनि अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ। आवेदन फारम भर्दा गल्ती भएमा परीक्षामा सामेल हुन पाइनेछैन। आवेदन फारम दर्ता भइसकेपछि सच्याउन समेत पाइनेछैन। 

परीक्षा शुल्क अमेरिकी डलर २८ (३८६६ रुपैयाँ) लाग्नेछ। परीक्षा यूबीटी (युबिक्युटस बेस्ड टेस्ट ट्याब्लेट) मार्फत अनलाइन सञ्चालन हुनेछ। परीक्षाको नतिजा एचआरडी सर्भिस अफ कोरियाबाट प्राप्त भएपछि प्रकाशन गरिनेछ। परीक्षामा आफूले प्राप्त गरेको नतिजा अंक अनलाइनबाट प्राप्त गर्न सक्नेछन्।

भाषा परीक्षाको वैद्यता सम्बन्धित नतिजा प्रकाशन भएको २ वर्षसम्म मात्रै रहनेछ। परीक्षामा पढाई सम्बन्धी २० वटा र सुनाई सम्बन्धि २० वटा गरी एक-एक सय पूर्णाङ्कको हुनेछ।

२५/२५ मिनेट गरी ५० मिनेटमा परीक्षा सकिनेछ। तर यी दुई परीक्षाको बिचमा विश्राम नभई लगातार सञ्चालन हुनेछ। परीक्षामा सामेल हुन जाँदा सक्कल राहदानी र प्रवेश पत्र लिएर जानुपर्नेछ।

भाषा परीक्षामा नक्कल गर्ने र गराउने कार्य गरेमा चार वर्षका लागि पुनः परीक्षामा सामेल हुन प्रतिबन्ध गरिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad