ad ad

समाज


महामारीका बेला कतारले गैरकानुनीरुपमा आप्रवासी श्रमिक निष्कासन गर्‍योः एम्नेस्टी

महामारीका बेला कतारले गैरकानुनीरुपमा आप्रवासी श्रमिक निष्कासन गर्‍योः एम्नेस्टी

नेपालखबर
बैशाख ३, २०७७ बुधबार १४:२४,

कोरोनाको महामारीको समयमा आप्रवासी श्रमिकहरूलाई कतारले गैरकानुनीरुपमा निष्कासन गरेको छ।

एम्नेस्टी इन्टरनेसनलले गरेको अध्ययनका क्रममा कतारी अधिकारीहरूले सयौं आप्रवासी श्रमिकलाई आफ्नो नियन्त्रणमा लिएको र स्वेच्छाचारी ढङ्गमा निष्कासन गरेको पाइएको हो।

फागुन २९ र ३० गते कतार प्रहरीले गिरफ्तार गरेका २० नेपाली श्रमिकलाई कोरोना परीक्षणका लागि भन्दै हिरासतमा लगेको थियो। धेरै दिनसम्म हिरासतमा राखेर नेपालीलाई डिपोर्ट (स्वदेश फिर्ता) गरिएको थियो।

“हामीले कुराकानी गरेका कसैले पनि उनीहरूलाई किन यस्तो व्यवहार गरिएको थियो भन्ने कुराको स्पष्ट जवाफ पाएका छैनन्। उनीहरूले आफ्नो हिरासत र निष्कासनका विरुद्ध कुनै उजुरी पनि गर्न सकेका छैनन्,’ एम्नेस्टी इन्टरनेसनलका ग्लोबल इस्युजका निर्देशक स्टिभ ककबर्नले भनेका छन्, ‘अमानवीय हिरासतको अवस्थामा निकै दिन बिताएपछि धेरैजसोलाई आफ्ना सामान ल्याउने समेत अवसर दिइएको थिइएन।”

कतारी अधिकारीहरूले यो महामारीलाई आप्रवासी श्रमिकविरुद्ध अझ बढि दुव्र्यवहार गर्ने अवसरको रूपमा प्रयोग गरिनु दुःखद भएको एम्नेस्टीले बताएको छ।

“यी व्यक्तिहरूलाई जसरी दुव्र्यवहार गरिएको छ त्यस बापत अधिकारीहरूले उनीहरूलाई परिपूरण उपलब्ध गराउनुपर्दछ र उनीहरूले चाहन्छन् भने कतार फर्कन दिनुपर्छ,’ एम्नेस्टीले भनेको छ, ‘साथै उनीहरुले काम गर्ने कम्पनीहरूले उनीहरूले पाउनुपर्ने पारिश्रमिक लगायतका अन्य रोजगार सुविधाहरू यथाशीघ्र उपलब्ध गराउनुपर्छ।”

फागनु २९ र ३० गते सयौँ आप्रवासी श्रमिकलाई प्रहरीले घेरा हालेर नियन्त्रणमा लिँदै दोहाको औद्योगिक क्षेत्र, बारवा शहर र लेबर शहर लगायत क्षेत्रमा हिरासतमा राखिएको थियो।

त्यसपछि ती श्रमिकहरूलाई बसमा कोचियो र औद्योगिक क्षेत्रको हिरासत स्थलमा लगियो जहाँ उनीहरूको कागजात, मोबाइल फोन जफत गरियो र उनीहरूको फोटो खिच्नुका साथै औँठा छाप पनि लिइएको थियो।

विभिन्न देशका सयौँ श्रमिकहरूलाई अमानवीय ढंगले हिरासतमा राखिएको थियो । उनीहरूलाई खाट र ओड्ने ओछ्याउने नदिएको र भिडभाडयुक्त कोठाहरूमा पर्याप्त पानी र खाना समेत नदिएर पाइएको छ।

२० जनामा जना नेपाली मध्ये तीन जनाले मात्रै हिरासतमा रहेको बेला शरीरको तापक्रम मापन गरिएको बताएका छन्। केहीले भने एयरपोर्ट लगिँदै गर्दा मात्रै आफूलाई निष्कासन गर्न लागेको थाह पाएका थिए।

सबै श्रमिकहरूले आफूले पाउने पारिश्रमिक र काम छाड्दा पाउने अन्य सुबिधाहरू नलिइकन कतार छाडेका थिए ।

एम्नेस्टीका अनुसार कतार सरकारले पनि अधिकारीहरूले गैरकानुनी र अनैतिक गतिविधिमा संलग्न व्यक्तिहरू फेला पारेको बताएको छ।

हिरासतमा लिइएको र निष्कासन गर्ने धम्की दिइएका आप्रवासी श्रमिकलाई यसो गर्नाको कारण खुलाउन र उनीहरूलाई त्यसको प्रतिवाद गर्ने अवसर दिन एम्नेस्टीले माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .