ad ad

समाज


लकडाउनले रोकिए ७१ शव, विदेशमै अन्तिम संस्कारको अनुमति दिन परिवारसँग आग्रह

लकडाउनले रोकिए ७१ शव, विदेशमै अन्तिम संस्कारको अनुमति दिन परिवारसँग आग्रह

उजिर कार्की
बैशाख ३, २०७७ बुधबार १२:४२,

कोरोना संक्रमणको जोखिमका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि ७१ नेपालीको शव विदेशमै रोकिएका छन्।

८ देशबाट ७१ जना नेपालीको शव ल्याउन नसकिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।

सबैभन्दा बढी साउदीमा २८ जना नेपालीको शव रोकिएका छन्। मलेसियामा १५ नेपालीको शव रहेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए।

त्यस्तै, यूएईमा ११, कतारमा ८ र कुवेतमा ६ जना नेपालीका शव रोकिएका छन्। सेसल्स, पोर्चुगल र दक्षिण कोरियाबाट पनि एकएक जनाको शव ल्याउन सकिएको छैन।

शव तत्काल ल्याउन नसकिने भएपछि तीन परिवारले आफन्तको शव उतै दाह संस्कार गर्न अनुमति दिएका छन्। परिवारको सहमतिमा सेसेल्स, दक्षिण कोरिया र यूएईमा एक एक वटा शव दाहसंस्कार गरिएको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताए।

युएईमा कोरोनाका कारण ज्यान गुमाएकी एक महिलाको शव पनि त्यहीँ दाह संस्कार गरिएको छ। रोकिएका यी शव नेपालमा लकडाउन घोषणा हुनुअघि नै मृत्यु भएका नेपालीको हो।

कतिपय शव नेपाल ल्याउने प्रक्रियामै छँदा र कतिपयको प्रक्रिया पनि सुरु हुन नपाउँदै ती अन्तर्राष्ट्रिय उडान तथा सम्बन्धित देशका कार्यालय बन्द भएका थिए।

केही शव नेपाली दूतावासले एनओसी जारी गरिसके पनि उडान नहुँदा रोकिएका छन्।

रोकिएका शव कोरोनाका कारण ज्यान गुमाएकाहरुका होइनन्। कोरोनाका कारण ज्यान गुमाएकाहरुको शव भने नेपाल नल्याइने बोर्डले जनाएको छ।

सामान्य अवस्थामा वैदेशिक रोजगार बोर्डले परिवारको निवेदनपछि परराष्ट्र मन्त्रालय मार्फत शव ल्याउने प्रक्रिया अगाडि बढाउँछ। कम्पनीले आफैं प्रक्रिया पूरा गरेर पनि शव पठाइदिने गरेको छ। तर कोरोना महामारीपछि भने शव ल्याउने प्रक्रिया सामान्य अवस्थामा भन्दा जटिल बनेको कार्यकारी निर्देशक श्रेष्ठले बताए।

बोर्डले विदेशमा ज्यान गुमाएकाको विवरण र आफन्तको विवरण मागेर परिवारमा शव ल्याउन जटिल भएको जानकारी गराइरहेको श्रेष्ठले बताए। शव तत्काल ल्याउन नसकिने भएकाले उतै दाहसंस्कार गर्न मन्जुरीनामा दिन समेत बोर्डले परिवारलाई आग्रह गरेको छ।

यदि परिवारले उतै दाहसंसकार गर्न मन्जुरी दिने हो भने वडा कार्यालयको सिफारिस लिएर जिल्ला प्रशासन कार्यालय जानुपर्छ। जिल्ला प्रशासन कार्यालयले उनीहरुको मन्जुरीनामा परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धित देशमा पठाएपछि शव उतै दाहसंस्कार गर्ने प्रक्रिया अगाडि बढ्छ।

विदेशमा शव रोकिएकामध्ये केही परिवारले उतै दाहसंस्कार गरिदिन भनेका छन्। केहीले परिवारमा सल्लाह गरेर खबर गर्छौं भनेको र केहीले ढिलै भएपनि नेपालमै ल्याइदिन आग्रह गरेका छन्।

उनीहरुको शव ल्याउने प्रक्रिया अन्तर्राष्ट्रिय उडान खुलेपछि र सम्बन्धित देशका कार्यालय खुलेपछि मात्रै अगाडि बढ्ने बोर्डले जनाएको छ। वैशाख १८ गतेसम्मका लागि नेपालले नै अन्तर्राष्ट्रिय उडान बन्द गरेकाले त्यसअघि शव ल्याउने सम्भावना छैन।

नेपालमा शव ल्याइसकेपछि सम्बन्धित परिवारको घरसम्म बोर्डले नै शव पुर्‍याइदिने व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .