ad ad

समाज


कन्ट्याक्ट ट्रेसिङका चुनौतीः संक्रमित चढेको बस त पत्ता लाग्यो तर यात्रु?

कन्ट्याक्ट ट्रेसिङका चुनौतीः संक्रमित चढेको बस त पत्ता लाग्यो तर यात्रु?

डा. वासुदेव पाण्डे
बैशाख ३, २०७७ बुधबार १२:१९,

अहिले सर्वत्र चासोकाे विषय भएको छ- कन्ट्याक्ट ट्रेसिङ। यो काम इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको हो। प्रयोगशालाबाट संक्रमण पुष्टि भएलगत्तै हामी उसको कन्ट्याक्ट ट्रेसिङ सुरु गर्छाैँ। त्यसका लागि हामीसँग ४ देखि ५ जनासम्मको टिम हुन्छ।

सबभन्दा पहिले यो टिमले त्यो संक्रमित व्यक्तिको पूरा जानकारी लिन्छ र त्यस आधारमा कसरी अगाडि बढ्ने भन्ने योजना बनाउँछ। त्यसका लागि मिटिङ गर्छ र टिमवर्क तय गर्छ। संक्रमण पत्ता लाग्नेबित्तिकै त्यो बिरामीलाई अस्पतालको आइसोलेसन वार्डमा ल्याउँछौं र उसको विस्तृत जानकारी लिन्छौं। बास स्थान कहाँ हो? कहाँबाट कुन साधनमा आएको हो।

उदाहरणका लागि ऊ प्लेनबाट आएको हो भने कुन सिटमा बसेको थियो। त्यो सिटको अघि दुई र पछि दुई लहरसम्म कन्ट्याक्ट ट्रेसिङको दायरामा पर्छ। अनि ती सिटमा बसेका यात्रु पत्ता लगाउने काम सुरु हुन्छ। यस्तै ती संक्रमित एयरपोर्टबाट कुन ट्याक्सीमा आए, कहाँ बसे- होटलमा कि घरमा? को-कोसँग बसे? यी सबै खोजी गर्छौं।

उदाहरणका लागि सनसिटी अपार्टमेन्टमा बसेका संक्रमित जो पाटन अस्पताल भर्ना भए। हामी पाटन अस्पतालमै गएर उनीहरूसँग विस्तृत छलफल गर्‍याैँ। अनि अपार्टमेन्टमा बस्ने २ सय ९८ व्यक्तिलाई र्‍यापिड टेस्टको दायरामा ल्यायौं। उनको परिवार तथा एकदमै नजिकको सम्पर्कमा आएका व्यक्तिको थ्रोट (नमुना) संकलन गरी परीक्षणका लागि प्रयोगशालामा पठायौं। यस्तै पहिलो तलामा बस्नेहरूलाई द्रुत गतिको जाँच र्‍यापिडकाे दायरामा ल्यायाैँ। 

यस्तै उपत्यका बाहिरको कुरा गर्दा जस्तोः  धनगढी, वीरगन्जमा भेटिएका संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा हामीले सम्बन्धित प्रदेशका अनुसन्धान समूहसँग समन्वय गरी काम गर्‍याैँ/गरिरहेका छाैँ। हामीले हरेक प्रदेश तथा स्थानीय तहमा र्‍यापिड रेस्पोन्स टिम निर्माण गरेका छौं। त्यो टिमको सम्पर्कमा रही आवश्यकता परेका खण्डमा केन्द्रबाट पनि टिम जान्छ।

अहिले केन्द्रको टिम वीरगन्जमा परिचालित छ। वीरगन्ज किन जानुपरेको हो भने उहाँहरू (संक्रमित)  कुन मितिमा भारतबाट नेपाल आउनुभएको हो? कहाँ-कहाँ बस्नुभयो? सबै विस्तृत बुझुनुपर्ने भएकाले त्यहाँको प्रादेशिक टिमसँग मिलेर हामी काम गरिरहेका छौं।

यस्तै ७ नम्बर प्रदेशमा सुरुका बेलातिर हामीले हाम्रो टिम परिचालन गरेका थियौं। यसबाट हामी उहाँहरू (संक्रमित) को परिवारदेखि लिएर उहाँका सम्पर्कमा आएका व्यक्तिसम्मको हामी जानकारी लिन्छौं। उहाँ (संक्रमित) कुन गाडीबाट आउनुभयो? यी सबै पत्ता लगाउँछौं। यी सबैको कन्ट्याक्ट ट्रेसिङ गरेर कोही पनि नछुटुन् भनेर हामीले अहिलेसम्म देखिएका १६ केस (संक्रमण पुष्टि)को कन्ट्याक्ट ट्रेसिङ पूरा गरेका छौं। ती संक्रमित व्यक्तिका सम्पर्कमा आएका सबैलाई कन्ट्याक्ट ट्रेसिङको दायरामा ल्याएका छौं।

कन्ट्याक्ट ट्रेसिङ सकिएपछि, रोग नियन्त्रण महाशाखासँग एउटा ‘गोडाटा’ भन्ने सफ्टवेयर छ। त्यसमा हामी उहाँहरू (कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्ति)को इन्फर्मेसन (विवरण) इन्ट्री (दर्ता) गर्छौं। त्यसपछि एसएमएसमार्फत हामी उनीहरूको निरन्तर निगरानी गर्छाैं। ती व्यक्तिको नमुना परीक्षण गरेपछि पोजेटिभ/नेगेटिभ के आउँछ त्यसअनुसार फेरि ती व्यक्तिको पनि कन्ट्याक्ट ट्रेसिङमा जान्छौं।

ल्याबको नतिजाकै आधारमा कट्याक्ट ट्रेसिङ गरिने भएकाले क्वारेन्टिनमा बसेका कन्ट्याक्टहरूको फलोअप हामीले यही सफ्टवेयर गोडाटामार्फत १४ दिनसम्म गर्छाैं। र, बाँकी ७ दिन उहाँहरूलाई केही समस्या परे स्वास्थ्यकर्मीले हेरचाह गर्छन् र त्यहीअनुसार खबर हुन्छ र फलोअप हुन्छ।

यसमा चुनौती कस्तो छ भने उदाहरणका लागि अहिले धनगढीमा एकजना बिरामी हुनुहुन्छ। उहाँ अस्पतालमा भर्ना हुनुभएको छ। हामीले बुझ्दा उहाँ वीरगन्जमा चिया पकाएर बस्नुहुन्थ्यो। उहाँ बसमा धनगढी आउनुभयो। उहाँ आएको बस नम्बर त हामीलाई थाहा छ। तर त्यो बसमा यात्रा गरेकाहरू पत्ता लगाउन हामीलाई गाह्रो परिरहेको छ।

त्यसैले यस्ता साह्रोगाह्रोका बीच कन्ट्याक्ट ट्रेसिङ हुन्छ। यसैले यसमा स्वास्थ्य मन्त्रालय एक्लै नभएर सुरक्षाकर्मी, स्थानीय सरकार, प्रदेश सरकारको पनि सहयोग लिएर हामीले काम गरिहेका छौं।

उदाहरणका रूपमा राति प्लेनमा काठमाडौं आउनुहुन्छ। ट्याक्सीमा घर जानुपर्ने हुन्छ। ट्याक्सीको फुटेज हाामी विमानस्थलमा हेर्छाैं तर त्यो फुटेज राम्रोसँग हेर्न नसकिएको खण्डमा त्यो ड्राइभरको अवस्था कस्तो छ, हामी यसरी नै जानकारी दिन्छौं। यस्ता अनेक समस्या कट्याक्ट ट्रेसिङमा छन्।

यसका लागि रोग नियन्त्रण महाशाखाका १५ टिम स्ट्यान्डबाइ छ। यो काममा अन्य स्वास्थ्य तथा विभिन्न संघ/संस्थाले पनि हामी स्वयंसेवक बन्छौँ भनेका छन्। कन्ट्याक्ट ट्रेसिङलाई अझ प्रभावकारी बनाउन हामीले ती संघ संस्थालाई समेत समेटेर टिम बढाइरहेका छौं।

हामीले कोही पनि नछुटुन् र समुदायमा रोग नफैलियोस् भनेर सक्दो प्रयास गरिरहेका छौं। अहिले हामी कोरोना संक्रमणको दोस्रो अवस्था (चरण) मा छौं। योभन्दा अवस्था अगाडि नजाओस् भन्ने उद्देश्यका साथ हामी अगाडि बढिरहेका छौं।

(इपिडिमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बुधबार स्वास्थ्य मन्त्रालयले गरेकाे नियमित पत्रकार सम्मेलनमा बताएका कुुरा सम्पादनसहित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .