ad ad

समाज


पानी चुहिने त्रिपालमुनि भोकसँग जुध्दैछन् उपत्यकावासीको तिर्खा मेटाउने मजदुर (भिडियो)

पानी चुहिने त्रिपालमुनि भोकसँग जुध्दैछन् उपत्यकावासीको तिर्खा मेटाउने मजदुर (भिडियो)

सन्तोष न्यौपाने
बैशाख ३, २०७७ बुधबार १२:१४,

डेढ महिनाअघि काठमाडौं आउँदा सुस्मिता रिसिदेवलाई यो सहर भव्य लागेको थियो।

सबै जना हतारिएका देखिन्थे। कोही काम गर्न हिँडेका, कोही कलेज त कोही घुमघाममा। फुर्सद कसैलाई थिएन। सुस्मितालाई पनि त्यस्तै हतारो थियो।

रोजगारी पाउने निश्चित भएपछि उनी पति लक्ष्मण रिसिदेवसँग सुनसरीबाट काठमाडौं आएकी थिइन्।

मेलम्ची खानेपानीको पाइपलाइन बिछ्याउने एक जना ठेकेदारले उनीहरुलाई काठमाडौं बोलाएका थिए। यहाँ आउनेबित्तिकै ललितपुरको च्यासल फुटबल मैदाननजिकै पाइप गाड्ने काममा उनी लागिन्।

दुःख भए पनि पतिसँग काम गर्दा उनलाई रमाइलै लागेको थियो।

तर, सुस्मिताको मनमा कोरिएको काठमाडौँको चित्र केही सातामै धमिलो भयो। शानदार देखिएपनि सहर भित्र निकै फरक रहेछ। आजभोलि उनलाई काठमाडौँ ‘निर्दयी’ लाग्न थालेको छ। किनभने अहिले भोक मेट्न पनि उनलाई मुस्किल पर्न थालेको छ।

‘काम गर्न सक्दासम्म रहेछ, अप्ठेरो पर्दा हेर्ने कोही रहेनछ यहाँ,’ बुधबार च्यासलको त्रिपालमुनि बसिरहेकी सुस्मिताले भनिन्।

उनले ६ वर्षे छोरा घरमा हजुरआमाको काखमा छोडेकी छन्। अहिले उसलाई सम्झेर टोलाइरहन्छिन्।

10_Melamchi_Majdoor.jpg

अलिकति कमाउँला, छोरालाई राम्रोसँग पढाउँला भन्ने उनीहरुको चाहना थियो।

‘अहिले त किन आएछु भन्ने भएको छ,’ सुस्मिताले भनिन्, ‘काम नहुँदा धेरै गाह्रो भएको छ।’

कोरोना भाइरसको संक्रमण देखिन थालेपछि सरकारले तीन सातादेखि लकडाउन गरेको छ। दुई साता लकडाउन फेरि बढेसँगै च्यासलमा बसेका १० जना मजदुरको कष्ट झन् थपिएको छ।

घर हिँडेकालाई प्रहरीले फर्कायो
च्यासलको फुटबल मैदानपछाडि दुईवटा त्रिपाल गाडिएको छ। त्यही त्रिपालमुनि डेढ महिनादेखि १० जना बसिरहेका छन्। जसमध्ये तीन जोडी विवाहित पनि छन्। उनीहरु प्रायः सुनसरीको इनरुवा आसपासका छन्।

बुधबार उनीहरु बसेको त्रिपालबाहिर केही डसना सुकाइएका थिए। गएराति परेको पानी च्यातिएको त्रिपालबाट चुहिएर उनीहरुको ओछ्यान भिजेको थियो।

‘राति लामखुट्टेले पनि त्यत्तिकै हैरान पार्छ,’ उनीहरुले भने, ‘कसैले झुल दिए हुन्थ्यो।’

चैतको ९ गते नेपालमा पनि लकडाउन हुने भन्ने हल्ला चल्यो। त्यसैदिन साँझ पाँच बजेतिर ठेकदारले सबै मजदुरलाई बोलाएर हिसाबकिताब चुक्ता गरिदिए।

4_Melamchi_Majdoor.jpg

‘ठेकेदारले ९ गते बेलुका पाँच बजे सबैको हिसाबकिताब गरिदिए,’ त्यहीँ बस्दै आएका रिजन लिम्बुले भने, ‘साहुले भोलिदेखि लकडाउन हुन्छ आ–आफ्नो घर जानू भने।’

कति दिन बन्द हुने हो निश्चित थिएन। त्यसैले घर जानु नै उत्तम जस्तो लाग्यो उनीहरुलाई। काठमाडौंका महंगीमा कसरी बस्नु!

आफूसँग भएका केही कपडा पोको पारे। झोला बोके र त्यसै दिन बेलुका नै सुनसरीको यात्रा थाले।

‘च्यासलबाट हिँड्दै धुलिखेल पुग्ने र त्यहाँबाट गाडी पाइन्छ कि भन्ने लागेको थियो,’ लिम्बुले भने, ‘पाइएन भने सिन्धुली हुँदै हिँड्दै जाने योजना भयो।’

तर, धुलिखेल नपुग्दै बाटैमा उनीहरुलाई प्रहरीले रोक्यो।

‘लकडाउन छ। समूहमा हिँड्न हुँदैन,’ प्रहरीले भने, ‘जहाँबाट आएको हो, त्यही फर्क।’

उनीहरुलाई पनि लाग्यो– बाटोमा अलपत्र परिने पो हो कि! त्यसपछि उनीहरु च्यासलकै त्रिपालमुनि फर्किए।

 मिटरको १९० रुपैयाँ ज्यालाले कति दिन थेग्नु!
कामविहीन भएको पनि २२ दिन भइसकेको छ। गोजीको पैसा सकिँदै छ।

‘पैसा अलिअलि हुञ्जेल त खायौँ,’ लिम्बुले भने, ‘हिजोआज गाह्रो हुँदै गएको छ।’

12_Melamchi_Majdoor.jpg

पैसा धेरै बुझेका थिएनन् उनीहरुले। ३ हजारदेखि १० हजारसम्म बुझेका थिए। पहिले पैसा घर पठाइसकेकाले आफूहरुसँग नभएको उनीहरुको भनाइ छ।

त्यसमाथि उनीहरुको कमाइ पनि धेरै थिएन। जति काम गर्न सक्यो, त्यत्ति हात पर्ने हो।

‘पैसा मिटर सिस्टमअनुसार हुन्छ,’ लिम्बुले भने, ‘एक मिटर पाइप बिछ्याउन सक्यो भने १ सय ९० रुपैयाँ आम्दानी हुन्छ।’

उनका अनुसार एक मिटर पाइप गाड्ने काम गर्न कम्तिमा डेढ घण्टा लाग्छ।

‘दिनमा धेरै गर्नेले ६ देखि ७ मिटर पाइप बिछ्याउँछ,’ राईले भने, ‘बाटो खन्ने, पाइप हाल्ने र त्यसपछि पुर्नेसम्मको काम गर्नुपर्छ।’

राईको घरमा घरमा आमा, बोजु, भाइ र बहिनी छन्। परिवारको सबैको जिम्मेवारी उनकै काँधमा छ।

‘केही समय पहिले पैसा पठाएको थिएँ, अहिले मेरो हातमा धेरै छैन,’ २६ वर्षे राईले भने।

3_Melamchi_Majdoor.jpg

इनरुवाकै वल थारुटोलका २२ वर्षे वीरेन चौधरी काठमाडौैं धाउन थालेको ७ वर्ष भयो। मजदुरीको काम गर्दै आएका चौधरी पनि यही समूहमा मिसिएर काम गर्न सुरु गरेका थिए।

उनको घरमा आमा, बुबा र दुई दिदी छन्। उनले पनि घरमा पैसा पठाइरहनु पर्छ।

परदेशमा अलपत्र परिएला भन्ने उनलाई लागेकै थिएन। यस्तो थाहा हुँदो हो त केही पैसा उनले आफूसँगै राख्ने थिए, घर पठाउने थिएनन्।

भएको चामल र पैसाले कति दिन पुग्ने हो, उनीहरुलाई नै थाहा छैन। बरु सरकारले घरसम्म पुर्‍याउने व्यवस्था मिलाइदिए हुन्थ्यो भन्ने उनलाई लाग्छ।

‘भाइरस हट्यो र बन्दी खुल्यो भने काम गर्ने हो,’ उनले भने, ‘यस्तै भयो भने त घर जान पाए पनि हुन्थ्यो।’

घर जाने मन रामबहादुर कटुवाललाई पनि छ। तर, कुनै सम्भावना उनी देख्दैनन्। धनकुटाका कटुवाल पाँच वर्षदेखि त्यही टेन्टमा बस्दै आएका छन्। उनी मेलम्ची खानेपानी आयोजनाका विभिन्न ठेक्कामा प्लम्बरको काम गर्दै आएका छन्।

‘अहिले मेलम्चीको पाइप बिछ्याउने काम फाट्फुट् बाँकी छ,’ कटुवालले भने, ‘च्यासलतिरको काम भइरहेको छ।’

मजदुरहरुलाई अहिले निकै ठूलो समस्या परेको उनी बताउँछन्।

‘यत्तिका मान्छेलाई के खाने भन्ने चिन्ता छ,’ कटुवालले भने, ‘रासन पानी पनि सकिनै लाग्यो। केही दिनअघि एक जना आएर ७ केजी जति चामल दिएका थिए। त्यही साथमा छ।’

लकडाउन भएको दुई हप्तासम्म आफूसँग भएको रासनपानीले चलारहेका थिए। पैसा सकिनै लाग्दा कोटेश्वरको सेतीओपी युवा क्लबका अध्यक्ष रवि रिमाल पुगे।

‘हामीले खाना खुवाइरहेका छौं। हामीकहाँ आउनू,’ रिमालले उनीहरुलाई निम्ता दिए।

5_Melamchi_Majdoor.jpg

सेतीओपीले गत ७ दिनदेखि मजदुरका लागि खाना खुवाइरहेको छ।

च्यासलबाट २०–२५ मिनेट हिँडेर बिहानको खाना खान उनीहरु कोटेश्वर पुग्छन्।

क्लबले दिनको एक छाक भए पनि खाना खुवाउँदा मजदूरहरुलाई राहत भएको छ।

‘हामीलाई धेरै सजिलो भएको छ,’ राजेश सदाले भने।

दैनिक १ सय ७० भन्दा धेरै मजदुरलाई आफूहरुले खाना खुवाइरहेको अध्यक्ष रिमालले भने।

रातदिन पाइप बिछ्याएर उपत्यकाबासीलाई तिर्खा मेट्न पसिना बगाएका यी श्रमिकलाई अझै कति दिन यस्तो कष्ट भोग्नुपर्ने हो, थाहा छैन।

लकडाउनको तीन साता बित्दासम्ममा वर्षौदेखि काम गरिरहेको यो सहर उनीहरुका लागि बिरानो हुँदै गएको छ। केन्द्र सरकार र स्थानीय तहले उनीहरुको न खानेबस्ने राम्रो व्यवस्था मिलाउन सकेका छन्, न घर पुर्‍याउन।

(भिडियो) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .