यातायात व्यवस्था कार्यालय चाबहिलले सवारी चालक अनुमति पत्रको लागि परीक्षण (ट्रायल) लिँदै आएको ‘नेपाल ड्राइभिङ सेन्टर’ दक्षिणढोकाले प्रशिक्षार्थी चालकहरूबाट चर्को शुल्क असुल्दै आएकाे छ।
विगत लामो समयदेखि ‘नेपाल ड्राइभिङ सेन्टर’ले प्रशिक्षार्थी चालकहरूबाट चर्को शुल्क असुल्दै आए पनि नियामक निकायले भने यसप्रति वास्ता गरेकाे छैन।
यातायात व्यवस्था कार्यालय चाबहिलले झण्डै पाँच वर्षदेखि भाडा तिरेर ‘नेपाल ड्राइभिङ सेन्टर’मा नयाँ चालकहरूको ‘ट्रायल’ परीक्षा लिँदै आएको छ।

त्यहाँ प्रशिक्षार्थीले एक घण्टा मोटरसाइकल चलाएको १६ सय र कारको २४ सय रुपैयाँ तिर्नुपर्छ। तर, उपभोक्ताले पैसा तिरेवापत ड्राइभिङ सेन्टरले उनीहरूलाई कुनै रसिद दिँदैन।
हरेक दिन बिहान यातायात व्यवस्था कार्यालयले ट्रायल लिनुअघि त्यहाँ सयौँ प्रशिक्षार्थीले महँगो शुल्क तिरेर मोटरसाइकल र गाडी सिकिरहेका भेटिन्छन्।
बिहान १० बजेदेखि नै सरकारी कार्यालयहरू खुल्नुपर्ने नियम छ। तर, ‘ड्राइभिङ सेन्टर’ सञ्चालकको ‘लुट धन्दा’मा सहयोगी बन्दै आएको यातायात व्यवस्था कार्यालय चाबहिलका कर्मचारी भने त्यहाँ साढे ११ बजेमात्रै पुग्ने गरेका छन्। त्यसअघि त्यहाँ दैनिक सयौँ प्रशिक्षार्थी चालकबाट लाखौँ असुलिसकिएको हुन्छ।

मंगलबार बिहान नेपालखबरकर्मी ‘नेपाल ड्राइभिङ सेन्टर’मा पुग्दा त्यहाँ सोही दिन मोटरसाइकल र गाडीको ट्रायल दिन पुगेका सयौँकाे भिड थियाे। उनीहरू सरकारी ट्रायल सुरु हुनुभन्दा चार/पाँच घण्टा अघि नै त्यहाँ पुगेका थिए।
सरकारी निकायले ट्रायल लिनुअघि त्यहाँ आधा वा एक घण्टा मोटरसाइकल वा गाडी चलाउँदा ‘फुत्तै पास गर्न सकिने’ मनोविज्ञान ड्राइभिङ सेन्टरका सञ्चालकहरूले सिर्जना गरेका छन्। जसकाे कारण प्रशिक्षार्थीहरू चर्को शुल्क तिरिरहेका भेटिन्छन्। त्याे अवैध असुलीप्रति कसैले प्रश्न गरेकाे भेटिँदैन।
ड्राइभिङ सेन्टरले प्रशिक्षार्थी चालकबाट गर्दै आएको याे अकुत असुलिप्रति सरकारी निकायको धारणा बुझ्न खोज्दा यातायात व्यवस्था कार्यालय चाबहिलका सूचना अधिकारी गिरिजाप्रसाद रिजालले यो आफूहरूको सरोकारको विषय नभएको प्रतिक्रिया दिए।
‘त्यो ड्राइभिङ सेन्टर प्राइभेट हो। हामीले सम्झौता अनुसार त्यहाँ नयाँ चालकहरूको ‘ट्रायल’ लिँदै आएका छौँ,’ उनले नेपालखबरसँग भने, ‘ परीक्षा अवधिभर हामी त्यहाँ केही गर्न दिँदैनौँ। त्यसबाहेकको समयमा सञ्चालकहरूले कति पैसा असुल्छन्, त्यो हाम्रो चासोको विषय होइन। आवश्यक हुनेले तिर्छन्, सिक्छन्।’

यातायात व्यवस्था कार्यालय चाबहिलका प्रमुख पेशलकुमार पोखरेलले भने ‘नेपाल ड्राइभिङ सेन्टर’ले प्रशिक्षार्थी चालकहरूसँग चर्को असुली गर्दै आएको आफूले पनि सुनेको बताए।
‘यसअघि पनि हामीलाई त्यो ड्राइभिङ सेन्टरले चर्को शुल्क लिने गरेको गुनासो आएको थियो,’ उनले नेपालखबरसँग भने, ‘म यो कार्यालयमा भर्खरै आएको हुँ। यस विषयमा मैले पहिला पनि छलफल गरेको थिएँ। फेरि पनि म यस विषयमा बुझ्नेछु।’
उनले ड्राइभिङ सेन्टरमा एक घण्टा मोटरसाइकल चलाएको १६ सय र कार चलाएको २४ सय लिनु जायज नभएको स्वीकार गरे।
‘उनीहरूले के आधारमा त्यति धेरै रुपैयाँ लिँदा रहेछन्? हामीलाई उपभोक्ताले सरिदसहित जानकारी गराए थप कदम चाल्न सजिलो हुने थियो,’ उनले भने।
उनले शनिबार र बिदाको दिनबाहेकको कार्यालय समयको मात्रै पैसा तिर्नेगरि यातायात व्यवस्था कार्यालयले ड्राइभिङ सेन्टरसँग सम्झौता गरेको बताए।

‘कार्यालय सयमबाहेक बिहान-बेलुका उनीहरूले प्रशिक्षार्थीसँग पैसा लिएर त्यहाँ ड्राइभिङ सिकाउने गरेका छन्,’ उनले भने, ‘तर, त्यसवापत कति रुपैयाँसम्म लिन पाइन्छ भन्ने आधिकारिक दररेट हुनुपर्ने हाे। तर कानुनी रुपमा त्यस्ताे दररेट कतै देखिँदैन। सरकारी निकायसँग पनि छैन।’
उनले कुनै पनि निकायले ड्राइभिङ शुल्क नतोकेको बताए। ‘त्यहाँ धेरै असुल हुने गरेको गुनासो आएपछि मैले सञ्चालकहरूसँग कुरा गर्दा अरु ड्राइभिङ इन्टिच्युटहरूले पनि पनि यस्तै गर्छन् भन्ने जवाफ दिए,’ उनले भने।
कार्यालय प्रमुख पोखरेलले यस विषयमा आफूले यातायात व्यवस्था मन्त्रालयमा पनि कुरा गर्ने बताए।

‘अब म मन्त्रालय र ड्राइभिङ एसोसिएसनसँग पनि कुरा गर्छु,’ उनले भने, ‘ड्राइभिङ सिकाउँदाको लागत, जनशक्ति, तेल कति खर्च हुन्छ? त्यसको न्यायोचित मूल्य निर्धारण गरौँ भन्ने मेरो प्रस्ताव छ। यस विषमा मन्त्रालयसँग पनि धेरैपटक कुराकानी गरेको छु। फेरि कुरा गर्छु, निकास केही आउला।’
उनले प्रशिक्षार्थीहरूसँग लिने शुल्कको विषयमा आधिकारिक निर्णय गरेर कार्यालयलयमा जानकारी गराउन ‘नेपाल ड्राइभिङ सेन्टर’का सञ्चालकलाई आग्रह गरिने बताए।
Shares

प्रतिक्रिया