समाज


साउन ‘डेंगु सचेतना’ महिना घोषणा

साउन ‘डेंगु सचेतना’ महिना घोषणा

नेपालखबर
असार ३२, २०८२ बुधबार १६:५२, काठमाडौँ

सरकारले ‘साउन महिना डेंगु सचेतना’ घोषणा गरेको छ। आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ‘साउन महिना डेंगु सचेतना’ घोषणा गरेका हुन्।

मन्त्री पौडेलले साउनमा डेंगु सङ्क्रमण उच्च विन्दु पुग्ने तथा तीव्र हुने भएकाले साउनको सुरुआतदेखि नै सचेतना फैलाउनका लागि डेंगु सचेतना महिनाका रूपमा घोषणा गरिएको जानकारी दिए। 

उनले साउनदेखि कात्तिकसम्म डेंगुको जोखिम हुने भएकाले हरेक शुक्रबार बिहान १० बजे ‘खोज र नष्ट गर’अभियान सुरु गरिने उल्लेख गरे। ‘डेंगु साउन महिनामा उच्च सङ्क्रमण हुने सुरुवाती महिना हो’, उनले भने, ‘यस महिनामा सतर्कता अपनाउन सके सङ्क्रमण कम गर्न सकिन्छ। त्यसैले सम्भावित जोखिम नियन्त्रण गर्नका लागि साउनलाई सचेतना अभियान महिना घोषित गरिएको हो।’

मन्त्री पौडेलले डेंगु सरकारको एकल पहलले मात्र गर्न न्यूनीकरण गर्न नसकिने भन्दै नीजि क्षेत्र, समुदाय, टोल सबैको सहयोग र समन्वय आवश्यक पर्ने खाँचो औँल्याए।  

मन्त्रालयका सचिव डा विकास देवकोटाले साउनमा बढी पानी पर्ने भएकाले घर वरपर पानी जम्न नदिने उपाय अपनाउन सबैलाई अनुरोध गरे। उनले कम्तिमा साउनदेखि कात्तिकसम्म लामखुट्टे खोज र नष्ट गर अभियान हरेक कार्यलय, टोलमा संचालन गर्न सके डेंगु सङ्क्रमणलाई कम गर्न सकिने धारणा राखे।

‘गत वर्ष सुरु भएको लामखुट्टे खोज र नष्ट गर अभियानका कारणले डेंगु सङ्क्रमण घटेको छ’, उनले भने, ‘यसपटक पनि यस अभियानलाई निरन्तरता दिएर सङ्क्रमण घटाउनु पर्छ।’

सचिव डा देवकोटाले डेंगु पूर्णरूपमा उन्मूलन गर्न नसकिने भन्दै मानिसको जीवनशैली परिवर्तन गरेर सङ्क्रमित हुनबाट जोगिनुपर्ने बताए। 

स्वास्थ्य सेवा विभागका महानिर्देशक टङ्कप्रसाद बाराकोटीले डेंगु सङ्क्रमण एडिज जातको लामखुट्टेको टोकाइबाट सर्ने भएकाले उक्त लामखुट्टेलाई खोजेर नष्ट गर्नु उत्तम उपाय रहेको बताए। 

विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रमुख डा राजेश पाण्डवले डेंगु सङ्क्रमण नियन्त्रणका लागि बहुक्षेत्रको भूमिका तथा संलग्नता हुनुपर्नेमा जोड दिए।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चन्द्रभाल झाले डेंगुको जोखिम हुने क्षेत्र पहिचान गरी खोज र नष्ट अभियान सञ्चालन गर्न स्थानीय तहलाई निर्देशन दिइसकिएको जानकारी दिए। 

महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले पानी परेसँगै डेंगुको सङक्रमण बढ्ने बताए। उनका अनुसार गत पुस १७ गतेदेखि असार ३१ गतेसम्म ७३ जिल्लाका एक हजार ९८३ जनामा सङ्क्रमण देखिएको छ। 

‘डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्दछ र ती फूलबाट लार्भा निस्कन्छ। त्यही लार्भा वयस्क भएपछि टोकेमा डेंगु रोग लाग्दछ’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad