समाज


रौतहट घटनाका घाइतेसँग ‘तत्कालै’ : आलमले मलाई छाड्दैन, कहिले मार्दिन्छ थाहा छैन (भिडिओ)


अनिल यादव
असार २२ , काठमाडौँ

रौतहटमा इँट्टा भट्टामा मानिसलाई जिउँदै हालेर जलाएको आरोपमा जन्मकैदको सजाय खेपिरहेका मोहम्मद अफ्ताब आलमले गत १४ जेठमा उच्च अदालतबाट सफाइ पाए। आलम रिहा भएपछि भारतस्थित सीतामढीका गौरीशंकर राम चमार चैनसँग सुत्न सकेका छैनन्। रौतहट घटनामा बम विस्फोट हुँदा उनका अनुहार, छातीदेखि हातपाखुरासम्म डढेका छन्। दुवैतिरका कान चुँडिएका छन्। 

गौरीशंकर भनिरहेका छन्, ‘आलमको आफन्तको घरमा पैसा लिन जाँदा बम पड्केर यस्तो भयो।’ तर, उच्च अदालत जनकपुर वीरगञ्जका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले भनेको छ– कहाँ बम पड्किनु? स्टोभ पड्केको हुनुपर्छ। यता गौरीशंकर भने आलम छुटेयता डराइरहेका छन्। काठमाडौँमा काम खोजिरहेका उनी भन्छन्, ‘कतिखेर मार्ने हो, थाहा छैन।’ 

प्रस्तुत छ उनीसँगको कुराकानी :

०६४ साल चैत २७ गते साँझ अफ्ताब आलमको आफन्तको घरमा के भएको थियो? त्यो घटनालाई आज कसरी सम्झिनुहुन्छ?
त्यो राजा चिम्नी भट्टामा म इँटा बनाउने काम गर्थेँ। चुनावको एक दिनपहिला थियो। महताबले भन्यो, ‘सबै मान्छे यहाँ घरमा आऊ, सबलाई पैसा मिल्छ।’ 

सबै मान्छे त्यहाँ पुग्यो। पुगेपछि, एउटा रुख थियो। मेरो गाउँको मसहित तीन जना पुगेका थियौँ। तीनै जना त्यहाँ रुखको छेउमा पुग्यौँ। त्यसको पाँच मिनेटपछि म घरको ढोकाको अगाडि जानेबित्तिकै बम पड्क्यो। पड्केर मेरो जिउमा लाग्यो। त्यसपछि म भागेँ। त्यहाँ घरको पछाडि इँटा बनाउनको लागि खेतमा पानी छोड्या थियो। म त्यहाँ लडेँ। लडेपछि पानीले सब आगो निभ्यो। तर पनि जोसले म भागेँ। खेतमा पुगेर लडेँ। म बेहोस भएछु। बेहोस भएपछि गाउँका मान्छेले मलाई सीतामढीसम्म पुर्‍याएछन्। 

मेरो आँखा खुल्दा म ठेलामा थिएँ। ठेलामा भएपछि मैले आमालाई सोधेँ– म कहाँ हो आमा? आमाले ‘तिमी सीतामढीमा छौ, तिमीलाई केही हुँदैन। हस्पिटलमा म लगेर आएछु तिमीलाई। तिमी ठीक हुन्छ। चिन्ता नगर, तिमी ठीक हुन्छ।’ त्यसपछि फेरि मेरो आँखा बन्द भयो। बन्द भएपछि मलाई थाहा भएन।

उच्च अदालतले त त्यहाँ बम नै विस्फोट भएको प्रमाणित भएन भनेर अफताब आलमलाई सफाइ दिइसक्यो, रिहा गरिसक्यो। त्यो तपाईंले थाहा पाउनुभयो?
यहाँ आएर थाहा पाएँ। तर, त्यो बम नै थियो। बम नै पड्क्या छ। पछि मैले थाहा पाएको धेरै मान्छे मरेको छ त्यहाँ। स्टोभ पड्केर त त्यति मान्छे मर्दैन नि।

त्यहाँ तपाईंका साथीहरू पनि घाइते भए?
अँ, एक जनाको हातमा र एक जनाको खुट्टामा लागेको छ।

सीतामढीकै हुन्?
हो, सीतामढीकै मेरो गाउँकै हुन्। 

उनीहरू कहाँ छन् अहिले? 
अब बाहिर छ कि गाउँमै छ, त्यो मलाई थाहा छैन।

पछिल्लो समय तपाईं मिडियामा आएर बोलिराख्नुभएको छ। तपाईंलाई डर लागिरहेको छैन?
डर त छ नि। डर त हमेसा छ। कहिले मार्दिन्छ, त्यो थाहा छैन।

अहिले पनि डर लागिराखेको छ?
अँ।

अनि काठमाडौँ के कारणले आउनुभयो?
म काम गर्न आएको।

काम पाउनुभएन उता?
काम त छ, तर यहाँ मौसम अलि ठण्डा हुन्छ नि। त्यो कारणले। हाम्रो उता धेरै गर्मी पर्छ। गर्मी भएको कारणले गर्मीमा म काम गर्न सक्दिनँ। मबाट धेरै भारी काम हुँदैन। त्यो कारणले यहाँ आएको। अर्को कुरा, मलाई काम पाउन मुस्किल भइरहेको छ। आठ दिन, पाँच दिन या सात दिनजति काम गरेपछि मान्छेहरू ‘तिमी आफ्नो पैसा लेऊ, तिमीबाट काम हुँदैन’ भनेर निकालिदिन्छन्। 

आफ्ताब आलम छुटेको खबर थाहा पाएपछि कस्तो लाग्यो तपाईंलाई?
एकदम डर लाग्यो। किनकि त्यो छुटेपछि हामीलाई त छोड्दैन नि। मार्दिन्छ।

हो र?
अँ। सुरुमा प्रहरीमा बयान दिँदा पनि उसको मान्छे मेरो गाउँमा गएर आमालाई धम्की दिँदै भनेको छ– ‘तिम्रो छोरा अब बाँच्दैन।’ त्यसको मान्छे गएर मेरो आमालाई भन्या छ, ‘मेरो खिलाफमा गवाही दिया छ, तिम्रो छोरा बाँच्दैन अब।’

हेर्नुहोस्, रौतहट घटनाका घाइते गौरीशंकर राम चमारसँग नेपालखबर ‘तत्कालै’मा गरिएको विस्तृत कुराकानी :

असार २२, २०८२ आइतबार २०:२९

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad