गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालिगलौज गर्दै कमेन्ट गर्ने युवकलाई तीन दिन म्याद थप गरिएको छ।
प्रहरीको साइबर ब्युरोले बिहीबार पक्राउ गरेको चितवन घर भई ललितपुरमा बस्दै आएका ३३ वर्षीय गुन्जन राईलाई अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट आजै म्याद थप गरिएको हो।
एलिनाले दिएको उजुरीपछि राईलाई प्रहरीले ललितपुरको बाँडे गाउँबाट पक्राउ गरेको हो।
राई पक्राउ परेसँगै ब्युरोले एलिनाको जाहेरी लिएर थप अनुसन्धान सुरु गरेको छ। पक्राउ परेका राईले ४०र५० वटा नक्कली आईडी तयार गरेर त्यसको दुरुपयोग गरेको खुलेको छ।
ती आईडी पनि बन्द गरिएको प्रहरीले जनाएको छ।
गायिका चौहानले आफूलाई लान्छना लगाउँदै कमेन्ट गर्ने क्रम नरोकिएपछि साइबर ब्युरोमा उजुरी गरेकी थिइन्। त्यसअघि गायिका चौहानसँगै अर्की गायिका समीक्षा अधिककारीले पनि यसरी गालिगलौज गर्नेको प्रोफाइल र कमेन्ट सामाजिक सञ्जालमार्फत नै सार्वजनिक गर्दै आएका थिए।
तर यो क्रम नरोकिएपछि चौहानले ब्युरोमा उजुरी दिन बाध्य भएको बताएकी थिइन्।
यसै विषयमा गायीका चौहान र समिक्षा अधिकारीले गृहमन्त्री रमेश लेखकलाई भेटेरसमेत कुरा राखेका थिए। गृहमन्त्री लेखकले यो विषयमा गम्भीरतापूर्वक कारबाही अगाडी बढाउन प्रहरीलाई निर्देशन दिएका थिए।
Shares

प्रतिक्रिया