ad ad

समाज


नेपालमा कोरोना संक्रमण कम देखिनुकाे सम्भावित पाँच कारण यस्ता छन्

नेपालमा कोरोना संक्रमण कम देखिनुकाे सम्भावित पाँच कारण यस्ता छन्

नेपालखबर
चैत २८, २०७६ शुक्रबार ०:२०,

विभिन्न विकसित राष्ट्रहरू पनि कोभिड १९ महामारीबाट धेरै प्रभावित भएको बेला नेपालमा सङ्क्रमण भएको पुष्टि भएका व्यक्तिको सङ्ख्या निकै न्यून छ।

सरकारी तथ्याङ्कअनुसार हालसम्म नेपालमा नौ जनामा मात्र कोरोनाभाइरस सङ्क्रमण देखिएको छ।

त्यसमध्ये एक जना निको भइसकेका छन् भने आठ जनालाई विभिन्न स्थानमा आइसोलेशनमा अर्थात् अलग्गै राखेर उपचार गरिँदैछ।

बुधवार साँझसम्मको विवरणअनुसार सङ्क्रमणको आशङ्कामा थप १३४ जनालाई आइसोलेशनमा राखिएको छ। उनीहरूको परीक्षण प्रतिवेदन आउन बाँकी छ।

नेपालमा भेटिएका सङ्क्रमितमध्ये आठ जना विदेशबाट आएका छन् भने एक जना सङ्क्रमित व्यक्तिकी परिवारकी सदस्य हुन्।

नेपालको स्वास्थ्य सेवाको अवस्था र सुरुमै नेपालले विदेशबाट आउने नागरिक तथा विदेशीहरूलाई क्वारन्टीनमा नराखेका नेपालमा अरू व्यक्ति पनि सङ्क्रमित भएको हुन सक्ने केही जनस्वास्थ्यविज्ञ र टिप्पणीकारको आशङ्का छ।

तर केही विज्ञहरू नेपालमा अहिलेसम्म कुनै पनि एउटा स्थानमा एकै खाले लक्षण देखिएर धेरै मानिस बिरामी भएको वा तिनको मृत्यु भएको नदेखिएकाले त्यस्तो आशङ्का पुष्टि गर्न नसकिने तर्क गर्छन्।

नेपालमा कोरोनाभाइरस सङ्क्रमण धेरै नदेखिनुमा विभिन्न कारण हुन सक्ने चिकित्सक तथा जनस्वास्थ्यविज्ञहरू बताउँछन्।

बीबीसीका अनुसार विज्ञहरूले देखेका पाँच सम्भावित कारणहरू यस्ता छन्

१‍. परीक्षण नै नहुनु
कतिपय चिकित्सकहरूले नेपालमा परीक्षण नै कम भएका कारण सङ्क्रमितको सङ्ख्या कम देखिएको बताएका छन्।

उनीहरूका भनाइमा जति परीक्षण भएको छ त्यसको आधारमा नेपालमा कोरोनाभाइरस धेरै फैलिएको छैन भन्न सकिँदैन।

स्वास्थ मन्त्रालयका अनुसार बुधवारसम्म कुल २,३६६ वटा नमुनाको परीक्षण गरिएको छ।समध्ये नौवटा मात्र सङ्क्रमण देखियो।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्वप्रमुख डा. बाबुराम मरासिनी नेपालमा परीक्षणको गति र सङ्ख्या बढाउनुपर्ने बताउँछन्।

२. नेपालीको जीवनशैली
कतिपय चिकित्सकहरूले नेपालीहरूको जीवनशैलीका कारण पनि कोरोनाभाइरसको सङ्क्रमण धेरै नफैलिएको हुन सक्ने तर्क गरेका छन्।

तर उनीहरूकै भनाइमा यसबारे विस्तृत अध्ययन नभई ठोकुवा गर्न भने सकिँदैन।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल अनुसन्धान एकाइका प्रमुख डा. शेरबहादुर पुन पनि नेपाली जीवनशैलीका कारण कम सङ्क्रमण भएको हुन सक्ने ठान्छन्।

उनले विभिन्न पत्रपत्रिकामा आलेख नै प्रकाशित गरेर नेपाली जीवनशैलीको प्रभावले कोरोनाभाइरस फैलिने सञ्जाल भत्किएको टिप्पणी गरेका छन्।

‘हामी धेरै पानी खेलाउने रहेछौँ अनि खानेकुराहरू पनि धेरै पकाएर खान्छौँ। त्यस्तै हात मिलाउने, अङ्कमाल गर्ने वा म्वाइँ खाने चलन पनि हाम्रोमा कमै छ। यस्ता क्रियाकलापले कोरोनाभाइरस फैलिनबाट रोकेको हुन सक्छ,’ उनी भन्छन्।

उनले नेपालमा विगतमा सार्स र स्वाइन फ्लूको सङ्क्रमण पनि अन्यत्रजस्तो नदेखिएको स्मरण गर्दै अन्यत्रको तुलनामा भारतमा पनि सङ्क्रमण फैलिने दर कम भएको बताए।

३. नेपालीको प्रतिरक्षा प्रणाली बलियो हुनु
विज्ञहरू नेपालीमा रहेको औसत प्रतिरक्षा प्रणाली अन्यको तुलनामा फरक भएकाले पनि कोरोनाभाइरस सङ्क्रमण कम भएको हुन सक्ने बताउँछन्।

उनीहरूका बुझाइमा कोरोनाभाइरस फैलिएकै भए पनि नेपालीहरूको प्रतिरक्षा प्रणालीका कारण सामान्य लक्षणहरू मात्र देखिँदा धेरै अस्पतालसम्म नपुगेका हुन सक्छन्।
डा. मरासिनी भन्छन्, ‘कतिपय रोगसँग लड्ने क्षमता जातिअनुसार फरक हुने गर्छ। त्यसबारे धेरै अध्ययन अनुसन्धान पनि भएका छन्। अमेरिकामा पनि गोरा र काला जातिबीच कुनै एउटा रोगसँग लड्ने क्षमता कम र बढी पाइएको छ।’

डा.पुन चाहिँ हाल नेपालमा भेटिएका नौ जना सङ्क्रमितमा एकदमै सामान्य खालका लक्षणहरू मात्र देखिनुलाई त्यसको गतिलो प्रमाण मान्छन्।डा. मरासिनी भन्छन्, ‘कतिपय रोगसँग लड्ने क्षमता जातिअनुसार फरक हुने गर्छ। त्यसबारे धेरै अध्ययन अनुसन्धान पनि भएका छन्। अमेरिकामा पनि गोरा र काला जातिबीच कुनै एउटा रोगसँग लड्ने क्षमता कम र बढी पाइएको छ।’

 ४. बीसीजी खोपको प्रभाव
क्षयरोगबाट बच्नका लागि बीसीजी खोप दिने गरिन्छ। कोरोनाभाइरस सङ्क्रमण फैलिएपछि अहिले उक्त खोपलाई लिएर विश्वभरि नै बहस चलिरहेको छ।

हालैको एउटा समीक्षा हुन बाँकी अध्ययनले जुन देशहरूमा बीसीजी खोप दिइएको थियो ती देशहरूमा कोरोनाभाइरस सङ्क्रमण कम देखिएको छ।
नेपालमा पनि बालबालिकाहरूलाई यो खोप अनिवार्य रूपमा लगाइदिने गरिन्छ।

कोरोनाभाइरसविरुद्ध बन्ने खोप धनी देशले थुपार्ने सम्भावना कति
त्यसले गर्दा पनि नेपालमा सङ्क्रमण कम फैलिएको र सङ्क्रमितहरूलाई पनि उक्त खोपको प्रभावका कारण सामान्य लक्षणहरू मात्र देखिएको हुनसक्ने विज्ञहरूको भनाइ छ।

खासगरी युरोप र अमेरिकामा यो मात्र नभई अन्य खोपहरू पनि लगाउने चलन कम छ। नेपालमा भने हामीले अनिवार्य नै खोप लगाउँछौँ। त्यसको प्रभाव पनि हुनसक्छ।

५. भाइरस फैलाउने पूर्वाधार नै कम हुनु
विशेषगरी कम विकसित देशमा कोरोनाभाइरसको सङ्क्रमण निकै कम देखिनुको अर्को कारण भनेको भाइरस फैलाउन सहयोग गर्ने खालका सहरी पूर्वाधारकै कमी हुन सक्ने पनि चिकित्सकहरूको तर्क छ।

विकसित देशमा जमिनमुनि सब वे र मेट्रो रेलजस्ता यातायातका संरचनाहरू रहेका छन्। त्यस्ता पूर्वधार भारतका महानगरहरूमा पनि छन्।

नियमित सफा राखिए पनि त्यस्ता संरचनामा मानिसहरूको भिडभाड भइरहने गर्छ। त्यहाँ कृत्रिम रूपमा तापक्रम त मिलाइएको हुन्छ तर घामको प्रकाश कहिल्यै पर्दैन। भाइरस त्यस्ता स्थानमा लामो समय टिक्छ भन्ने त प्रमाणित भइसकेकै कुरा हो। नेपालमा भने त्यस्ता संरचना नै छैनन्।

नेपालमा प्रायः यातायातका साधनहरूमा भिडभाड भए पनि घामको प्रकाशमै हिँड्ने खालका रहेको र सार्वजनिक यातायातमा विदेशीहरू चढ्दै नचढ्ने गरेकाले सङ्क्रमण कम भएको हुन सक्ने मरासिनीको तर्क छ।

त्यस्तै ठूलाठूला लिफ्टजस्ता पूर्वाधारमा कोचिएर मानिसहरू बस्ने तथा एक जनाले छोएको स्थानमा अर्कोले छुने क्रियाकलाप हुने गर्छन्।

तर नेपालमा काठमाण्डूभित्र केही स्थानमा बाहेक अन्यत्र यस्ता पूर्वाधार नै नभएकाले पनि सङ्क्रमण फैलावटको साङ्लो चुँडिएको हुन सक्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .