ad ad

समाज


नेपालमा कोरोनाः ११७ बिरामी आइसोलेसनमा, १८० जना रेड जोनमा

नेपालमा कोरोनाः ११७ बिरामी आइसोलेसनमा, १८० जना रेड जोनमा

नेपालखबर
चैत २७, २०७६ बिहिबार १४:३३,

कोरोना भाइरस संक्रमणको आशंकामा अहिले नेपालमा पनि दैनिक निगरानी र परीक्षण भइरहेको छ। बिहीबारसम्म कोरोना भाइरसको आशंकामा परीक्षण गराउनेको संख्या ३ हजार माथि पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड-१९ अपेडट लाइभ कार्यक्रमअन्तर्गत बिहीबार प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार त्यस बेलासम्म देशभरका गरी नमुना परीक्षणको नतिजा संख्या २ हजार ८ सय ९५ पुगेको छ।

‘अन्य १ सय ९३ जनाको परीक्षण नतिजा पनि आजै केही बेरपछि आउनेछ,’ बिहीबार अपराह्न सवा ४ बजे लाइभ कार्यक्रममा उनले भने, ‘त्योसमेत गर्दा आजसम्म नेपालमा कोरोना परीक्षण गराउनेको संख्या ३ हजार माथि पुग्नेछ।’

तर आज पनि कुनै नतिजा कोरोना पोजिटिभ अर्थात् भाइरस भएको आएको छैन। आजसमेत गरेर ५ दिनयता परीक्षणका क्रममा कोही पनि कोरोना संक्रमित देखिएका छैनन्।

अर्थात् अहिलेसम्म कोरोना संक्रमितको कूल संख्या ९ जनाबाट बढ्न पाएको छैन। तीमध्ये पनि १ जना पहिले निको भइसकेका छन् भने बाँकी ८ जनाको विभिन्न अस्पतालमा उपचार जारी रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।

प्रवक्ता देवकोटाका अनुसार देशभर गरेर बिहीबारसम्म ७ हजार ९ सय ४० जना क्वारेन्टिनमा छन् भने १ सय १७ जना आइसोलेसनमा उपचाररत छन्। आइसोलेसनमा रहेकामध्ये १८ जना काठमाडौं उपत्यकामा छन् भने ९९ बिरामी बाहिरका छन्।

अस्पतालको आइसोलेसन वार्डमा त्यस्ता बिरामी राखिन्छन्, जसलाई कोरोना संक्रमणसँग मिल्दाजुल्दा लक्षण देखिएका हुन्छन् र तिनको नमुना परीक्षण भइरहेको हु्न्छ। जबसम्म त्यसको नतिजाले कोरोना भाइरस नरहेको पुष्टि गर्दैन, तबसम्म उनीहरूले घर पठाइँदैन।

यसैगरी स्वास्थ्य मन्त्रालयको फोन, अनलाइनमार्फत आफ्नो लक्षण बताउने १ सय ८० जना रेड जोनमा परेका छन्। तीमध्ये पछिल्लोपटक गत २४ घण्टामा ५ जना थपिएका हुन्।

‘रेड जोनमा पर्नु भनेको उनीहरूले बताएका लक्षणका आधारमा उनीहरूलाई आइसोलेसन वा निगरानीमा राखिनुपर्ने अवस्थाको हुनु हो,’ प्रवक्ता देवकोटाले भने, ‘इपिडीमियोलजी तथा रोग नियन्त्रण महाशाखामार्फत उनीहरूसँग निरन्तर सम्पर्क भइरहेको छ र परीक्षण गर्ने तयारी गरिएको छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .