ad ad

समाज


कोरोनाको औषधि नै छैन, तैपनि विश्वमा धेरै बिरामी निको भएका छन्, कसरी? यसो भन्छन् विज्ञ

कोरोनाको औषधि नै छैन, तैपनि विश्वमा धेरै बिरामी निको भएका छन्, कसरी? यसो भन्छन् विज्ञ

नेपालखबर
चैत २७, २०७६ बिहिबार ०:४८,

नेपालसहित विश्वभर महामारी बनिरहेको नोवेल कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुने र मृत्यु हुने क्रम जारी छ। तर सँगसँगै विश्वमा त्यस्ता मानिसको संख्या पनि कम छैन, जो कोरोना संक्रमण भएर पनि ‘उपचारपछि निको’ भइरहेका छन्।

वर्ल्डओमिटरको ताजा (नेपाली समय बिहीबार बिहान ६:८बजे) तथ्यांकअनुसार अहिलेसम्म विश्वमा १५ लाख १३ हजार २ सय ३० मानिस कोरोना भाइरसको संक्रमणमा परिसकेका छन् भने ८८ हजार ४०३ व्यक्तिको मृत्यु भइसकेको छ। तर सँगसँगै ३ लाख २९ हजार ७ सय ३१ जना संक्रमणपछि सञ्चो (निको) भइसकेका छन्।

कोरोनाको औषधि/उपचार अहिलेसम्म पत्ता लागेकै छैन भनिएको छ, फेरि यसका बिरामी निको पनि भएका छन्/भइरहेका छन्, कसरी?

नेपालखबरले राखेको यो प्रश्नमा टेुकस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ (क्लिनिकल रिचर्स युनिटका संयोजक) डा. शेरबहादुर पुन भन्छन्ः

हो, हामी खालि संक्रमित र मृत्युको समाचारमा मात्र ध्यान केन्द्रित गरिरहेका छौं र आतंकित भइरहेका छौं। तर वास्तवमा विश्वमा कोरोना भाइरसको संक्रमण भएर पनि बाँच्ने अर्थात् निको हुने मानिसको संख्या मृत्यु हुनेको भन्दा झन्डै ४ गुणा बढी छ, जाे उपचार (सावधानी) पछि निको भएका छन्, हुने क्रम जारी छ।

अब तपाईंले यसको औषधि/उपचार छैन तर फेरि निको कसरी भए भन्ने जुन प्रश्न गर्नुभएको छ, त्यसलाई म सिम्पल (साधारण) उदाहरणबाट प्रस्ट पार्न चाहन्छु-

हामीलाई यसअघि पनि बर्सेनि रुघाखोकी लाग्ने, ज्वरो आउने गरेकै हो। धेरैजसो त यस्ता समस्या हामीले घरमै आफैंले ठीक पारिरहेकै पनि हाे। लक्षण अलि कडा भएपछि मात्र हामी अस्पताल जाने गर्छाैं र डाक्टरको सल्लाहनुसार औषधि खाएर तथा स्वास्थ्यको ख्याल गरेर निको हुन्छौं। तर लापर्बाही गर्‍याैँ भने रुघाखाेकीबाटै जटिल समस्याहरू निम्तिएर मानिसकाे ज्यान पनि जान सक्छ/गएकाे छ।

भन्ने हो भने रुघाखोकी र ज्वरोको आफैंमा कुनै औषधि हुँदैन। जुन आफैं ठीक हुन्छ। तर पनि लक्षणले अलि जटिल रूप लिएका खण्डमा चिकित्सकले त्यसका लक्षण कम गर्ने केही औषधि चलाउँछन् र बिरामीलाई निको पार्छन्।

त्यस्तै हो- कोरोना भाइरसको संक्रमण र उपचार पनि। आखिर यसका लक्षण पनि रुघा, खोकी र ज्वरो नै त हो। त्यसकारण यसको आफैंमा औषधि त छैन तर स्वास्थ्यको नियम पालना गर्‍याैँ भने यो त्यसै ठीक हुने रोग पनि हो।

जस्तै: प्रशस्त मात्रामा तागतिला खानेकुरा खाने, तातो झोलिलो पदार्थ खाने, आराम गर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिने आदि गरियो भने यो रोग त्यसै ठीक हुन्छ। औषधि खानै पर्दैन।

मुख्य कुरा, हामीले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाउनुपर्‍याे। खालि मास्क लगाएर र स्यानिटाइजर दलेर मात्रै पनि हुँदैन। के गर्दा र के खाँदा हाम्रो जीवन शक्ति, रोगसँग लड्ने क्षमता बढ्छ, त्यसो गर्न जरुरी छ। तर यसतर्फ हामी कमैको ध्यान गएजस्तो लाग्छ।

तर अवस्था कहिलेकाहीं अलि जटिल हुन सक्छ, त्यस्तो अवस्थामा भने हामीले स्वास्थ्य केन्द्रमा गएर चिकित्सकको परामर्श लिन जरुरी हुन्छ। र, उनीहरूले दिएका लक्षण कम गर्ने केही औषधि खानुपर्ने पनि हुन्छ। यसो गर्‍याैँ भने हामी कोरोनालाई जित्न सक्छौं।

ज्यादै चिन्ता गरेर हामी रोग प्रतिरोधात्मक शक्ति घटाइरहेका छौं
अहिले कोरोना भाइरस संक्रमणको त्रास हामीकहाँ जुन स्तरको देखिएको छ, त्यसलाई म काल्पनिक कोरोनाको सन्त्रास भन्छु म। हुन त यस्तो कुरा गर्दा मैले कतिपय ठाउँमा गाली पनि खाएको छु। किनभने मानिस मानौं, नकारात्मक कुरा मात्रै सुन्न आत्तुर छन्।

वास्तवमा कोरोनाबाट हामी सजग त हुनुपर्छ, भएन भएन संक्रमण सर्न सक्छ। तर हामी चाहिनेभन्दा बढी नै आतंकित भइरहेका छौं भन्ने लाग्छ मलाई। हामी कुनै अमेरिका वा इटलीमा छैनौं, नेपालमा छौं। यसो भनेर मैले लापर्बाही गर्नुपर्छ भन्न खोजेको हैन, होसियारी त गर्नैपर्छ, कडा रूपमा।

तर हामी यतिबेला एकअर्कालाई देख्दा पनि शसंकित, त्रसित हुने अवस्थामा पुगेका छौं, कता हो मैले सुनेको- कसैले छेउमा आएर खोक्दा पनि मानिस तर्सिए रे।

हो, यस्तो अति चिन्ताले वास्तवमा हाम्रो रोग प्रतिरोधात्मक अर्थात् भाइरससँग लड्ने शरीरको शक्ति क्षिण भएर जान्छ। यसले गर्दा हाम्रो इम्युनिटी पावर (जीवनी शक्ति) कमजोर हुन्छ र हामीलाई जुनसुकै भाइरसले पनि सजिलै आक्रमण गर्छ। याे वैज्ञानिक तथ्यले प्रमाणित गरेको कुरा हो।

त्यसकारण होसियारी अपनाउनुपर्छ तर अनावश्यक मात्रामा धेरै चिन्ता लिनु पनि हुँदैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .